२०७८ मङ्सिर १२ गते आइतवार

असभ्य ट्राफिक नियम



राणा शासनका बेला जर्नेलहरूका बग्गी देखिएपछि पैदल यात्रुले बाटाे खाली गर्नुपर्थ्याे रे ! अहिलेकाे ट्राफिक नियममा त्यही राणाकालीन रवैया झल्कन्छ ।

सडकमा पैदल यात्रुकाे सुविधाकाे उपेक्षा गरेर माेटरकाे आवागमन सजिलाे बनाउने प्रवृत्ति त्यसैकाे निरन्तरता त हाे नि ।

यसैगरी, विद्यालयका बसहरूलाई समय ताेक्दा ससाना नानीहरूलाई पर्ने मर्काकाे उपेक्षा गर्ने नियम पनि रिसल्लाकाे भूत नै हाे ।

कथित ‘विशिष्ट व्यक्ति’काे सुविधाका लागि घन्टाैं सार्वजनिक यातायात ठप्प पार्ने र राणा प्रधानमन्त्रीकाे सयरका बेला पैदल यात्रीलाई बाटैमा सजाय दिने चलनमा तात्त्विक अन्तर देखिँदैन ।

जनसाधारणलाई सास्ती दिएर ठूलाठालुलाई सुविधा दिने शासनलाई आधुनिक र सभ्य भन्न मिल्दैन । नेपालकाे प्रशासनिक मानसिकता मध्ययुगीन र असभ्य नै देखिन्छ ।

त्यसाे त एक्काइसाैं शताब्दीकाे तेस्राे दशक सुरु हुँदासम्म पनि राजधानीकाे व्यस्त चाेकहरूमा ट्राफिक संकेतकाे ध्वनि र प्रकाशकाे व्यवस्था पनि नभएकाे सहरमा ट्राफिक व्यवस्थापन आधुनिक हुन यसै पनि सक्तैन ।

तर, ट्राफिक व्यवस्थापनलाई मानवीय बनाउन खाेज्ने हाे भने अपेक्षाकृत सभ्य भने बनाउन सकिन्थ्याे । ट्राफिक प्रहरीलाई पैदल यात्रुकाे सुविधालाई प्राथमिकता दिनुपर्ने मान्यतामात्रै पनि सिकाउन सके अहिलेकाे अवस्थामा सुधार हुनसक्छ ।

तर, ट्राफिक प्रहरीलाई सर्वसाधारणकाे सुविधालाई प्राथमकिता दिने सभ्य संसारकाे मान्यता सिकाउनुकाे साटाे स्वयंसेवकका रूपमा सघाउन आएका युवालाई समेत उल्टो माेटरलाई प्राथमकिता दिनुपर्ने असभ्य र अमानवीय ‘ज्ञान’ दिने गरिएकाे छ ।

विद्यार्थी ओसार्ने विद्यालयका सवारी साधन बिहान ९:३० बजे भन्दा पछि चल्न नदिने ट्राफिक नियम पनि राणाकालीन अमानवीय मानसिकताकै उपज हाे । सरकारी अड्डाअदालत १० बजे खुल्ने भएकाले हाकिमहरूलाई असुविधा नहाेस् भनेर नै ससाना नानीलाई बिहानै उठेर माेटरमा घन्टाैं बिताउनुपर्ने सास्ती दिइएकाे हुनुपर्छ ।

शासनका सबै क्षेत्रमा मानवीय सुधार आवश्यक छ । तर, जनसाधारणकाे प्रत्यक्ष सराेकार हुने क्षेत्रमा त यस्ताे सुधारकाे अभाव बढी नै खट्किन्छ ।

ट्राफिक व्यवस्था सुधारका लागि आधुनिक प्रविधि र उपकरण जुटाउन सरकारले पर्याप्त बजेटकाे व्यवस्था गर्नुपर्छ । सँगै ट्राफिक प्रहरीकाे समग्र दीक्षा र अभिमुखीकरण पनि मानवीय अर्थात् पैदल यात्रुकाे सुविधा सबैभन्दा महत्त्वपूर्ण ठान्ने गरी हुनु आवाश्यक देखिन्छ ।

नियम बनाउँदा सराेकारवालासँग सल्लाह गर्ने लाेकतान्त्रिक विधि पनि अपनाउनुपर्छ ।

सराेकारवालाकाे सल्लाह लिएकाे भए विद्यालय जाने साना नानीहरूलाई सास्ती दिएर ठालुहरूलाई सजिलाे बनाउने मध्ययुगीन नियम पक्कै बन्ने थिएन । कर्मचारी र राजनीतिकर्मीहरू पदमा पुगेपछि आफूलाई सर्वज्ञ ठान्छन् । पदेन जान्ने हुने सामन्ती मानसिकता अब त त्याग !

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार