२०८१ बैशाख ३१ गते सोमवार

डोल्पाका एक प्रेमील जोडीको विहेकै दिन भयो वियोगान्त विछोड !

विहेकै दिन दुलाहले किन त्यागे देह ?


                       
     


डोल्पा २५ मंसिर : आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति मान्दैन त्यो ।यो युक्ति नेपाली समाजमा प्रशिद्ध छ ।माथिको युक्ति जस्तै नाटकिए रुपमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ६ मा पर्ने खदागं गाउँमा गत शुक्रबार एउटा हृदयबिदारक घटना घट्यो ।त्यो दिन स्थानीय धन बहादुर सार्कीको घरमा मान्छे भरिभराउ थिए ।उनको घरमा दुई तीन दिन अघि देखिनै टाढाटाढाबाट आफन्त र शुभचिन्तकहरु आउन थालेका थिए ।छिमेकीहरु आफुले सकेको सहयोग गर्न पुगिराख्थे ।विपन्न दलित परिवारका धन बहादुरका जेठो छोरा कृप सार्कीको बिहे हुन लागेको थियो ।त्यहि भएर पनि त्यो घरमा मानिसहरुको चहलपहल बडेको थियो ।उनले छोरालाई रिन सापट गरेर शहरमा पशु प्राविधिक पढाएका थिए ।कृपले पनि पढाइ सकेर त्रिपुरासुन्दरी नगरपालिकामा इन्टनसीप गर्दै थिए ।पढाइ सकेर घरमा बसेका कृप २२ बर्षका लक्का जवान थिए ।उनलाई विहेकालागि धेरै ठाउँबाट कुरा आउन थालेको थियो ।त्यहि क्रममा उनको पश्चिम रुकुमको आठबिसकोट नगरपालिकामा पर्ने गोतामकोटकी शरिता बिकसँग चिनजान भयो ।उनिहरु एक अर्कामा मन पराउन थाले ।शरिता गएको तिहारमा देउसी भैलो खेल्न उनको गाउँमा आएको बेला चिनजान भएको थियो ।करिब एक महिनाको मायाप्रेम पछि उनिहरुको माया बिहे गर्नेसम्ममा पुग्यो ।कृपले केही दिन अघिमात्र शरितालाई भगाएर ल्याएका थिए ।घरको जेठो छोराले बुहारी भगाएर ल्याएपछि धनबहादुर परिवारमा खुशीको सिमा रहेन ।स्थानीय चलन चल्ती अनुसार नयाँ छोरा बुहारीलाई आफ्नो गक्ष्यले भ्याएसम्म भित्रयाय ।त्यपछि उनि बिहेको जोडजामतिर जुटे ।उनको घरमा कुनै आम्दानीको स्रोतनै थिएन ।दैनिक ज्यालादारी काममा उनको परिवार निर्भर थियो ।छोराको बिहे गर्ने बिषयमा घरका भाइछोरा र छिमेकीसँग सर सरसल्लाह गरे। बिहेकालागि आवश्यक पैसा सरसापट गरे ।सबैको सक्दो सहयोगबाट छोराको बिहेको जोडजाम पुरा भयो ।बिहेको दिन शुक्रबार पक्का भयो ।धर्मशास्त्र अनुसार शुक्रबार सुभकार्यकालागि उत्तम दिन मानिन्छ ।शुक्रबार बिहे गर्दा कुनै बाधा अड्चन नपर्नेमा धनबहादुर ढुक्क थिए ।डोल्पाको सँस्कार अनुसार बिहेको अघिल्लो दिनमानै आफन्त र छिमेकी घरमा आएर आँगनमा ठुलो आगो बालेर मागल गाउँने चुट्किला खेल्ने चलन हुन्छ ।मागल र चुट्किला बाटै नव दुलाह दुलहीलाई आयु बडोस,सम्बन्ध जुनिजुनिसम्म टिकोस लगायतका आशिर्वाद दिन चलन पनि हुन्छ ।धन बहादुरको घरमा पनि बिहाबार राती देखिनै बाजागाजा सहित भव्य रुपमा मागल गाउने चुट्कीला खेल्ने काम सुरु भयो ।चुट्कीला मागल खेल्न आँगनमा छिमेकी र आफन्त भरिभराउ भए ।कृपका आफन्त अमृत सार्कीका अनुसार मंसिरको कठ्याग्रींदो चिसोमा आगँनीमा ठुलो आगो बालेर रातै कटाउने गरि सबै खेल्न जुटेका थिए ।चुट्कीलाबाटै नव जोडिलाई सयौँ बर्ष बाँच्ने आशिस दिइरहेका थिए ।बेलुका खाना खाएर सुरु गरेको चुटकिला रातभरी चलिरह्यो ।बिहान पखसम्म कोही बसे ।कोही निन्द्रा सहन नसकेर सुत्न हिँडे । कृप पनि चुट्किला खेल्ने ठाउँमा आइराख्थे गइराख्थे ।जब बिहान पाँच बज्यो चुट्किले खेल्नेहरु पनि पातलिए ।दुलाह दुलही र परिवार बिहेको जोडजाम गर्न थाले ।उनिहरुको बिहे वडा नं १ मा पर्ने त्रिपुरासुन्दरी मन्दिरमा गर्ने परिवारको योजना थियो ।कृपको घरबाट मन्दिर पुग्न पैदल करिब तीन घण्टा लाग्छ ।शरिता र कृपाले नुहाइ दुहाई गरे ।त्रिपुराकोट पुग्न समय लाग्ने भएकाले छिटो तयारहुन भनिएको थियो ।दुलाह कृपले नै शरितालाई कपडा लगाएर छिटो तयारहुन भने ।आफु पनि एक छिनमा तयार हुन्छु भने ।यति भनेर आफु भने रातभरी बलेको आगाको रापिलो भुंग्रो ताप्न आगनमा निस्के ।शरिता कपडा लगाउन भित्र छिरिन ।घर बिहेको बाजागाजा गुञ्जिन थाल्यो ।बिहेकालागि एक साता अघिनै घर सिँगारिएको थियो ।त्रिपुराकोट जानकालागि डोली,जन्ती र बाजागाजा तयारी भए ।अब दुलाहलाई कपडा छिटो लगाउ भन्दा कृप त्यहाँ देखिएनन ।दुलाहनै एकाएक हराएपछि घरमा खैलाबैला मच्चियो ।शरिता पनि चिन्तामा परिन ।शरिता सहित बिहेमा आएका छिमेकी,टाढाटाढाबाट आएका आफन्त र बाजागाजा बजाउन आएकाहरु सबै दुलाहको खोजी गर्न थाले ।घरका कोठा,वरीपोरी खोला खाल्सा खोज्दा थालियो ।तर,कृप कतै पनि पत्ता लागेन ।बिहान एक्कासी बिहान साडे सात बजेतीर बाटो हिँड्ने बटुवाबाट बाटो नजिकै मान्छे लडेको खबर आयो ।धनबहादुरको परिवारलाई बिहेको दिनमै छोरा त्यहाँ गएर लड्ला भन्ने कल्पनानै थिएन् ।तैपनि बिहानै देखि दुलाह खोज्ने मान्छेहरु लडेको को रहेछ भनेर हेर्न गए ।नभन्दै यसरी लड्ने कृपनै रहेछन् ।उनि मुल बाटो छेउमा कहिल्यै नब्युझिने गरि मृत अवस्थामा लडेका थिए ।कृपको सँगै ढाड भाँचिएको थियो ।मुखबाट रगत पनि बगेको थियो ।दाँत भाचिएका थिए ।बिहेको अन्तिम घडिमा घटेको यो घटनाले सबै स्तब्ध भए ।केही समय अघिसम्म छोराको बिहेको खुशीमा प्रफुल्ल धनबहादुरको घर परिवार बिलौनाको चित्कारले गुञ्जियो ।धनबहादुर उनकी पत्नीका आँखाबाट आँशुका धारा बग्न थाले । घरभरी रुवाबास चल्यो ।आफन्तहरु छिमेकीहरुले मन थाम्न सकेनन् ।घर आएका जति सबै रोए । कृपले घर तल पट्टी रहेको करिब एक सय मीटर अग्लो भिरबाट तल हाम फालेर देह त्याग गरेका थिए ।आफ्नो निधार प्रेमीको सिन्दुर भरिने दिन थियो शरिताकालागि ।जुनिजुनिसम्म सँगै जिउने बाँचा गरेर थिए कृप र शरिताले ।जब शरिताले कृपले देह त्याग गरेको घटना सुनिन उनि जिँउदै मरेतुल्य बनिन् ।हतार हतार आफु पनि डोरि कसेर मर्ने सुर कसिन ।भिरबाट,छतबाट हाम फाल्न खोजिन ।तर,मान्छेहरु धेरै भएकाले उनलाई मर्नबाट बचाए ।त्यसपछि पनि उनि कृपकै बिलौनामा डुब्न थालिन ।कृप र शरिताकालागि दैबले यस्तो लिला रच्दियो बिहेमा आएका जन्तीहरु मलामी बन्नुपर्यो । गएका आफन्त र छिमेकी मलामी जानुपर्ने अवस्था आयो ।बिहेकै दिन कृपाको अन्तिम सँस्कार भयो ।बाजागाजा सहित घोडा चढेर बिहे गर्न जान लागेका कृप बाँसको भाट्टामा एकसरो कात्रो बेरेर एकसरो शंख फुक्दै घाटमा लगियो ।जन्तीकालागि टाढाटाढाबाट आएका आफन्त र छिमेकी मलामी गए ।दुलाहको बिहेकालागि दौरा कोट दौरा सुरुवालमा ठाँटिएका धनबहादुर एकसरो कपडा लगाएर छोरोको सतिगतिमा लाग्नु पर्ने पर्यो ।छोराको बिहेकालागि सिलाएका बिहेका कपडा एक कुनामा थन्किए।सोही दिन साँझै घटनाको बिषयमा शरिताका घरमा फोन गरियो ।घटना सुनेर उनका बुवा पनि छाँगाबाट खसेजस्तै भए ।भोलि पल्टनै छोरी भेट्न डोल्पा पुगे ।शरिताले बुवासँग नजाने र सासु ससुरा पालेर बस्ने बताइन ।तर धन बहादुरका घर परिवार आफन्तले सम्झाई बुझाई गरे ।भर्खरकी केटि दैव दशा लागेर बिहे हुन सकेन ।कसरी जिन्दगीभर एक्लै बस्न सकिन्छ ।तिमि बुवासँग जानुपर्छ भनेर धनबहादुरले सम्झाए ।मन नहुँदा नहुँदै पनि आफ्नोहुन नसकेको घर छोड्नु पर्यो ।कृपको नाम लिँदै सम्झिदै पटक पटक फर्केर घाट र घर तर्फ हेर्दै आँशुका धारा सहित बुवासँग शरिता फर्किन ।यसरी बिहेकै दिन कृप र शरिता लाई दैव लाग्यो ।उनिहरुको जुनिजुनिसम्म सँगै जिउने सपना टुट्यो ।बिहेकै दिन कृपले किन यस्तो गरे होलान परिवार,आफन्त, छिमेकी सबै अचम्ममा परेकाछन् ।डोल्पामा यस्तो घटना कहिल्यै घटेको थिएन् ।बिहानको दुई घण्टाको अवधिमा घटेको यो घटनाले गाउँनै चिन्तित बनेको छ भने सिंगो डोल्पानै स्तब्ध भएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?