२०८० मङ्सिर २१ गते बिहिवार

डोल्पामा भदाै पूर्णिमाको रौनक!




पुर्ण कुमार/ नेपाल ब्रेक
डोल्पा, १२ असोज

भदाै पूर्णिमाको एकादशीकाे दिनबाट सुरु हुने डोल्पाको प्रसिद्ध चाड भदौ पूर्णिमा जिल्लाका विभिन्न शक्तिपीठमा धुमधामका साथ मनाइएको छ । जिल्लाको ठुलि भेरि नगरपालिकाको जुफाल, तिब्ला , थाली , रह , त्रिपुरासुन्दरीकाे रूम, दापु , मुड्केचुलाकाे सर्मी, होर्त, जगदुल्लाको रीमी, माझँगाउ जस्ता जिल्लाका दर्जन भन्दा बढी क्षेत्रमा धुमधामका साथ मनाइएको छ।

यस् ठाउँका बासिन्दा दसैँ र तिहारभन्दा विशेष महत्वका साथ भदाै पूर्णिमा पर्वलाई मनाउने गर्दछन् ।
जिल्लाका हरेक गाउँमा स्थानीय धामी नृत्य र देउडा नृत्य कहलिएको यो पर्वमा युवा युवतीका लागि भने विशेष दिन रहने गरेको छ । मिठो खाने र नयाँ कपडाको साथमा सजिने चाडका रूपमा यो पर्व चिनिने गरेको छ ।

डोल्पाको ठुलिभेरी नगरपालीकाकाे नगरपालिकाकाे जुफालमा अझ यो पर्व बढी धुमधामका साथ मान्ने चलन छ ।
जिल्लाका अन्य तीर्थस्थलमा भने चतुर्थी र पूर्णिमाका दिनमा मात्र मनाउने यो पर्व जुफाल मा एकादशीको दिनदेखि एक हप्तासम्म मनाउने चलन छ ।

अझ नयाँ कुरा के रहेको छ भने देउता आएपछि विशेष गरी महिला र युवतीले पनि मन्दिरमा पतुर्ने (धामी नाच्ने) गरेको पाइएको छ । शक्तिपिठमा धामीले आफ्नो शक्ति प्रदर्शन गर्नका लागि कोही धामीले दूध ओकल्ने, जमरा उमार्ने, तातो तेल पिउने लगायतका अद्भुत शक्ति समेत देखाउने प्रचलन छ। जिल्लाका आठ वटै स्थानीय तहबाट जुफालमा मेला भर्नेको हजारौँ सङ्ख्यामा उपस्थिति रहने गरेको छ ।

बिहान पख स्थानीय मन्दिरमा गई पूजाआजा गर्ने र कहिले दिउँसो त कहीले राती तिर जुफालकाे बिडी थान मन्दिरमा धामीको नृत्यले यहाँका दर्शनार्थीलाई थप रोचकता थप्ने गरेको आदर्श मावि जुफाल का प्रधानाध्यापक बालकृष्ण डाँगीले बताउनुभयो । वृद्ध देखि युवायुवतीले डेउडा खेलेर आफ्ना मनका बह र माया पिरती साट्ने गरेको डाँगीलेबताए ।

उनका अनुसार डेउडा खेल्दा खेल्दै गीतको माध्यमबाट मायाको भाव गीतबाट नै व्यक्त गरी कति युवा विवाहको बन्धनमा पनि बाँधिने गरेका छन् ।
हिन्दूको चाड भएको भए पनि यो पर्व मनाउनका लागि बौद्ध धर्मावलम्बीले पनि सौहाद्रता स्वरुप समर्थन गर्ने गर्दछन् ।

विशेष गरी आन्तरिक र बाह्य पर्यटकका लागि यो पर्वले विशेष महत्व राख्ने गरेको पाइएको छ । स्थानीय पसलमा पनि लाखौँको कारोबार हुने गरेको छ । नयाँ कपडा, दैनिक उपभोग्य वस्तुलगायत सामान यो समयमा निक्कै बिक्री हुने गरेको छ ।

स्थानीय व्यापारीलाई सामान बेचबिखनका लागि भ्याइनभ्याइ नै हुने गरेको छ । वर्षमा दशैँ र तिहारमा देशका अन्य भागमा व्यापारिक चहलपहल निक्कै बढ्ने गरेको भए पनि डोल्पाको जुफालमा भने भदौ पूर्णिमा मेलामा व्यापारिक चहलपहल हुने गरेको छ ।
यही मौका पारेर स्थानीय व्यापारीले नेपालगञ्ज र सुर्खेतबाट हवाई ढुवानी गर्ने समेत गरेका छन् । यो मेलामा मिष्ठान्न भोजन देखि लिएर कपडासम्मको व्यापार व्यवसाय राम्रो हुने गरेको छ । फोटो फिचर:- पूर्णकुमार

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?