
काठमाडौं : काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेलहरु हुँदैछ।
टियु क्रिकेट मैदानमा हुने खेलमा दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।
आज दुबै टिम लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्।
पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई १ विकेटले हराएको थियो। पुलिसले बागमती प्रदेशलाई २ रनले पराजित गरेको थियो।
यस्तै मुलपानी क्रिकेट मैदानमा हुने खेलमा बागमती प्रवेश र काठमाडौं मेयर–११ बीच खेल हुनेछ।
बागमती पहिलो जितको खोजीमा हुनेछ। काठमाडौं मेयर–११ भने सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ। काठमाडौं मेयर–११ को यो पहिलो खेल हो।
प्रतियोगितामा ५ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन्।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ। उत्कृष्ट ब्याट्सम्यान र बलरले २५–२५ हजार पाउने छन्।