२०८१ बैशाख ३१ गते सोमवार

छलगाड खोलामा पक्की पुल निर्माणको लागि संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदनको सार्वजनिक सुनुवाई सम्पन्न !



पुर्ण कुमार/ नेपालब्रेक

डोल्पा, वैशाख १२

हिमाली जिल्ला डोल्पाको छलगाड खोलामा निर्माण हुन लागेको पक्की पुल निर्माणको लागि संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदनको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

भेरी करिडोर अन्तर्गत डोल्पा–जाजरकोट सडक खण्डमा पर्ने त्रिपुरासुन्दरी नगरपालिका १ को छलगाड खोलामा पक्की पुल निर्माण सम्बन्धी संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदनको सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको हो ।

वातावरण संरक्षण ऐन २०७६ को दफा ३ को उप दफा (३) र वातावरण संरक्षण नियमावली २०७७ को नियम ६ बमोजिम आयोजना क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणालीमा पार्न सक्ने प्रभावहरुको बारेमा सरोकारवाला व्यक्ति र संघ संस्थाहरुसँग सामुहिक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी राय र सुझाव संकलन गर्नुपर्ने कानूनी प्रावधान अनुसार उक्त पुल निर्माणको विषयमा संक्षिप्त वातावरणीय प्रदिवेदनको विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकाया, प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहाल, त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाया, जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरीकृष्ण केसी, जिल्लास्थित राजनीतिक दलका पार्टी प्रतिनिधि, त्रिपुराकोटका स्थानीयको उपस्थितिमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको सडक विभागका वातावरण विद् चिरञ्जीवी काफ्लेले बताए । काफ्लेका अनुसार समुन्द्री सतहबाट १९७५.३३ मिटर उचाइमा बन्ने छलगाड खोलामा ४० मि. लम्बाइ र ११ मी. चौडाइ भएको पक्की पुल निर्माण बन्ने छ । पुल बनेको स्थानको दायाँतर्फ ७२.५ मिटर र बायाँतर्फ ७२.५ मिटर गरेर कुल १४५ मिटर कालोपत्रे समेत गरिनेछ ।

नाली बाहेक पहुँच सडकको विस्तार ११ मि. को हुनेछ । जसमा ७.५ मिटरको कालोपत्रे र सडकको दायाँ-बायाँ १.७५,१.७५ मिटरको सोल्डर हुनेछ । पहुँच सडकको लागि आवश्यक नाली तथा पहुँच सडकभित्र पर्ने अन्य भौतिक संरचनाहरु जस्तै, बिजुलीको पोल, सिँचाइ कुलो, मठ मन्दिर आदिको विस्तृत विवरण समेत संक्षिप्त वातावरणीय प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पक्की पुल निर्माणको क्रममा हुने समस्या र तीनको समाधानको विषयमा समेत छलफल गरिएको छ । पुल निर्माण तोकेकै समयमा सक्ने गरी काम गर्न उपस्थित सरोकारवाला निकायको भनाइ थियो । तल्लुबगर र रूपगाड खोलामा निर्माणाधीन बेलिब्रिज जसरी अलपत्र पारेर पुल निर्माणको काम नरोक्न समेत ध्यानाकर्षण गरिएको थियो ।

उपस्थित स्थानीयले पुल निर्माणको बेला हुने कामकाजमा यहाँको स्थानीयको सहभागीता हुनुपर्ने माग गरेका थिए ।

छलगाड खोलामा निर्माण हुन लागेको पक्की पुल बन्ने स्थान शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने भएपनि पुल निर्माणमा निकुञ्जले अवरोध नगर्ने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख रोकायले डोल्पाकै प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल श्री बाला त्रिपुरासुन्दरी मन्दिरको जगमै पक्की पुल बन्न लागेकोले यसमा उचित ध्यानका साथ काम गर्न र कामलाई तीव्र गतिमा अघि बढाउन आग्रह गरे ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी दाहालले पुल निर्माणको क्रममा आउने विभिन्न समस्याहरुलाई समाधान गर्न जिल्ला प्रशासन कार्यालय हरदम तयार रहेको बताए । पुलको भनेकै समयमा काम सम्पन्न गर्न समेत सुझाव दिए ।

त्रिदेशीय मार्ग(चीन–नेपाल–भारत) जोड्ने सबै भन्दा नजिकको राजमार्गभित्र पर्ने यो महत्वपूर्ण पुल समेत हो ।

यो खोलामाथि पुल निर्माण नहुँदा अहिले बर्खाको समयमा डोल्पाबासीले निकै महंगीको मारमा पर्ने गरेका छन् । ठेक्का पाएको मितिले ४२ महिनाभित्र पुल निर्माणको कार्य सक्ने गरेर तीन वटा पुलको कुल ३६ करोड २४ लाख ८६ हजार ७ सय रुपैयाँमा वाइपी, एमआर जेवि भरतपुर चितवनले लिएको छ । निर्माण कम्पनीले भेरी करिडोर अन्तर्गत डोल्पा – जाजरकोट सडकखण्डमा पर्ने तीन ठाउँमा पुल निर्माणको जिम्मा लिएको छ ।

जाजरकोटको नलगाड नगरपालिका १२ को तल्लुबगरस्थित भेरी नदी, डोल्पा त्रिपुरासुन्दरी ०५ को खदाङ्गस्थित भेरी नदी र छलगाड खोलामा निर्माण हुने पक्की पुल निर्माणको जिम्मा लिएको छ ।

जसमध्ये तल्लुबगरमा पक्की पुल निर्माण कार्य शुरु भइसकेको छ भने बाँकी २ ठाउँको पुल निर्माण कार्य केही महिनामा शुरु हुने निर्माण कम्पनीका इन्जिनियर प्रदीप शर्माले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?