२०८१ जेष्ठ २ गते बुधवार

मन्त्रीकाे गाउँमा टावर नहुदा सास्ती

आफ्नै पार्टी सत्तामा हुँदा पनि मन्त्री सग छैन कुनै योजना!


पुर्ण कुमार / नेपाल ब्रेक

डोल्पा ९, असोज

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-३ को जिउ गाउँमा टेलिफोनको टावर बन्न नसक्दा स्थानीयहरूले सास्ती खेप्नु परेको छ ।

त्रिपुरासुन्दरी नगरपालिकाकाे अन्य वडाहरु सञ्चार पहुँचमा जोडिँदै गर्दा जिउँ गाउँमा भने टेलिफोनको टावर नहुँदा नागरिकहरूले वर्षौदेखि सास्ती खेप्नु परेको हो ।

गाउँमा सामान्य फोन गर्नपनि कहिले रुखमा चढनुपर्ने त कहिले डाँडाकाँडा धाउनुपर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन् ।

देश संघीयतामा गएको वर्षौं भइसक्दा पनि तीनै तहको सरकारले जिउँ गाउँप्रति खासै चासो नलिएको स्थानीयहरु बताउँछन् । कसैसँग सम्पर्क गर्नु परेमा घरभन्दा बाहिर छत, डाँडाकाँडा, अग्लो रुखमा जानुपर्ने बाध्यता रहेको महादेव आधारभूत विद्यालयका प्रधानाध्यापक राम बहादुर गुरुङले बताए ।

गाँउ टावरविहीन भएको वर्षौ भइसक्दा पनि कसैको ध्यान नजाँदा जिउ गाउँका बासिन्दा इन्टरनेट सेवाबाट समेत वञ्चित हुनु परेको छ ।

यसो त जिउँ गाउँ कर्णाली प्रदेश सरकार उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री उर्मिला विश्वकर्माको गाउँ समेत हो । २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कर्णाली प्रदेशको समानुपातिक सांसद बनेकी उर्मिला विश्वकर्मा अहिले प्रदेश सरकारकी मन्त्री समेत छिन् ।

आफ्नो गाउँ नै यसरी वर्षौंसम्म सञ्चारविहीन हुँदासमेत मन्त्रीसँग कुनै योजना भने देखिँदैन । निर्वाचनको बेला गाउँमा सञ्चार, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा विकास गर्ने प्रतिबद्धता जनाएकी मन्त्री विश्वकर्मा निर्वाचनपछि २ पटक मात्रै गाउँमा आएकी छन् ।

गाँउ आउँदा पनि मन्त्रीसँग सञ्चारका लागि विस्तृत योजना भने नदेखिएको स्थानीयहरु बताउँछन् । मन्त्री विश्वकर्माले केन्द्र सरकारदेखि प्रदेश सरकारसम्म आफ्नै पार्टी सत्तामा रहँदा पनि आफ्नो गाउँलाई सञ्चारकाे पहुँचमा पुर्‍याउन नसकेको गाउँवासीहरुको गुनासो छ ।

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?