२०७८ मङ्सिर १२ गते आइतवार

२ घण्टामै सेयर बजार ५८ अंकले घट्यो



काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा आइतबार भारी गिरावट आएको छ । बजार खुलेको दुई घण्टामा नेप्से परिसूचक ५८.५८ अंकले घटेको छ ।

ब्यापार र होटल तथा पर्यटन उपसमूहबाहेकका सबै सूचक घटेका छन् । बिहीबार २५५४ अंकमा पुगेको नेप्से परिसूचक आइतबार कारोबार सुरु हुँदा ३.६६ अंकले बढेको थियो ।

त्यसपछि निरन्तर ६९ अंकले घटेको बजारमा बिस्तारै सुधार देखिन खोजेपनि सन्तोषजनक भने छैन । दिउँसो १ बजेसम्म दोस्रो बजारमा ५ अर्ब ५ करोड भन्दा धेरैको कारोबार भएको छ ।

घट्दो मूल्यमा अहिले पनि बजारमा नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को शेयर कारोबार सबै भन्दा धेरै देखिएको छ । चन्द्रागिरी हिल्सको शेयर सकारात्मक सर्किट लेबरमा कारोबार हुँदा आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्य ४ प्रतिशत भन्दा माथि घट्दो लेबलमा कारोबार भइरहेको छ ।

बजार निरन्तर आरालो लागेपछि लगानीकर्ताहरु चिन्तित देखिएका छन् । शेयर लगानीकर्ता एवं नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले बजारमा धैर्यता कायम राख्न लगानीकर्तालाई आग्रह गरेका छन् । ‘आगोको विशेषता राफ निकाल्नु भएजस्तै शेयर बजारको विशेषता घट्नु वा बढ्नु हो एक दिन घट्दैमा धैर्यता नगुमाऔं बजारमा त्यस्तो केही भएको छैन,’ पौडेलले भने ।

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार