२०८१ जेष्ठ २ गते बुधवार

डोल्पाको मसिनेचौर र कालिकोटको सुनाथरी विमानस्थल : परीक्षण उडान फेरि स्थगित



डोल्पा , असोज १६ गते । कर्णाली प्रदेशका दुई वटा विमानस्थलमा गर्ने भनिएको परीक्षण उडान फेरि स्थगित गरिएको छ । कालीकोटको सुनथराली र डोल्पाको मसिनेचौर विमानस्थल गत शनिबार परीक्षण उडान गर्ने भनिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले असोज १३ गते दुई वटै विमानस्थलको एकैपटक परीक्षण उडान गर्ने बताउनुभएको थियो ।

तर मन्त्री किरातीले भने अनुसार उडान हुन सकेन । यो दोस्रो पटक स्थगित गरिएको हो ।

यसअघि गत भदौ १३ गते गर्ने भनिएको परीक्षण उडान पनि स्थगित गरिएको थियो ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमण गएकाले परीक्षण उडान स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो । जहाज अभाव र प्राविधिक तयारी नपुगेको भन्दै परीक्षण उडान स्थगित गरिएको उहाँको भनाइ छ ।

पुनः नयाँ तालिका बनाएर कार्यक्रम गरिने जनाइएको छ ।प्रधानमन्त्री प्रचण्डद्वारा विमानस्थल परीक्षण उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । यद्यपि प्रधानमन्त्री प्रचण्ड देश बाहिर रहेकाले कार्यक्रम स्थगित गर्नुपरेको मन्त्रालयले जानकारी दिएको छ ।

कालीकोट जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य दुर्गबहादुर रावतले प्रधानमन्त्री विदेश गएको र अन्य प्राविधिक तयारी नपुगेकाले स्थगन गर्नुपरेको बताउनुभएको छ । असोज महिनाभित्रै परीक्षण उडान गर्नेगरी तयारी थालिएको उहाँको भनाइ छ छिटो परीक्षण उडान गर्न सरकारलाई दबाब दिइरहेको रावतले बताउनुभयो । हवाई यातायातको सम्बन्धमा सङ्घीय सरकारले आलटाल गरिरहेको उहाँको भनाइ छ ।

निर्माण सम्पन्न भएको विमानस्थल सञ्चालन नहुँदा नागरिकले दुःख र हैरानी पाइरहेको उहाँले बताउनुभयो ।कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका–१ मा रहेको उक्त विमानस्थलमा २०७३ माघ २९ गते तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पालामा परीक्षण उडान गरिएको थियो । विमानस्थल निर्माण कार्य सम्पन्न भएपनि नियमित सञ्चालनमा आउन सकेको छैन । पुनः परीक्षण गरेर नियमित गर्ने तयारी गरिएको छ ।२०४२ सालदेखि विमानस्थल निर्माणको योजना अघि बढेको थियो ।

स्थानीय नागरिकको पहलमा त्यतिबेला तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम सुरु गरिएको हो । त्यसको ६ वर्षपछि २०४८ मा मात्रै सरकारले सुनथराली विमानस्थललाई आफ्नो योजनामा राखेर बजेट विनियोजन गरेको थियो । सरकारको योजनामा परेपनि निर्माणको काम भने नियमित हुन सकेन । बिचमा द्वन्द्वका कारण पनि विमानस्थल निर्माण कार्य अवरुद्ध भयो भने द्वन्द्वपछि पनि बिचमै अलपत्र छोड्दा लामो समयसम्म विमानस्थल सञ्चालन हुन नसकेको हो । ३७ वर्षपछि विमानस्थलका लागि पूर्वाधार तयार भएको छ ।गत शनिबार नै सुनथरालीसँगै डोल्पाको मसिनेचौर विमानस्थलको पनि परीक्षण उडान गर्ने जनाइएको थियो । गत असोज १३ गते परीक्षण उडान गर्ने तालिका रहेपनि अन्तिममा स्थगित गरिएको हो । निर्माण कार्य सम्पन्न भइसक्दा पनि मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन । २०६८ मा निर्माण गरिएको विमानस्थलको २०७२ मा कालोपत्रे गरिएको थियो । पूर्वाधार निर्माणको सबै काम सम्पन्न भइसकेको छ । तर अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन ।

त्रिपुरासुन्दरी नगरपालिकामा २०६६ सालदेखि विमानस्थलको निर्माण सुरु गरिएको थियो । २०६८ मा निर्माण सम्पन्न भई २०७२ मा कालोपत्रे गरिएको हो । डोल्पामा हवाई यातायातको लागि जुफाल विमानस्थलपछिको अर्को विकल्पको रूपमा रहेको मसिनेचौर विमानस्थल निर्माण गरिएको हो । समयमै निर्माण गरिए पनि सञ्चालनमा भने बेवास्ता गरिएको छ ।

डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य वीरबहादुर शाहीले सरकारले पटक–पटक उडान परीक्षण स्थगित गरेर नागरिकलाई दुबिधामा पारेको बताउनुभयो । विभिन्न समयमा सरकारलाई आफूहरूले दबाब दिइरहेको भन्दै उहाँले सरकारले सुनुवाइ नगरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘यो पटक गरेर सरकारले चार/पाँच पटक परीक्षण उडानको मिति नै सारेको छ । नागरिकलाई निराश पार्ने काम सरकारको तर्फबाट भएको छ । छिट्टै विमानस्थल सञ्चालनमा ल्याउन हाम्रो माग छ ।’’

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?