२०८० असोज ९ गते मङ्गलवार

डोल्पा ठूलीभेरीका कर्मचारी , जनप्रतिनिधि सहित २९ जना विरुद्ध अख्तियारमा मुद्दा ! (विज्ञप्ति सहीत)



पूर्ण सार्की

डोल्पा  ,

काठमाडौं,अख्तियारले आइतबार मात्रै डोल्पा जिल्लास्थित ठूलीभेरी नगरपालिकाले सञ्चालन गरेका विभिन्न खालका विकास निर्माण र योजनामा व्यापक अनियमितता भएको ठहर गर्दै नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, उपभोक्ता समिति र अनुगमन समितिका गरी २९ जनाविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार डोल्पा, ठूलीभेरी नगरपालिकाका–१ देखि वडा नम्बर ११ सम्मका विभिन्न वडामा आव २०७४÷७५ मा सञ्चालन भएका योजना तथा सडक निर्माण कार्यमा अनियमितता भएको पाइएको छ । ठूलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवबहादुर सुनार, तत्कालीन इन्जिनियर वसन्त रोकाया, सब इन्जिनियर शिवराज शाहीलगायत १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । उनीहरूले ठूलीभेरी नगरपालिका–८ स्थित घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण कार्यको वास्तविक भएको कामभन्दा बढी काम भएको नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी २२ लाख ८९ हजार २ सय ६५ रुपैयाँ सिफारिस गरी भ्रष्टाचार गरेको पाइएको हो । उनीहरूविरुद्ध २२ लाख ८९ हजार २ सय ६५ रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

यसैगरी, अख्तियारले ठूलीभेरी नगरपालिका–८ स्थित घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण योजनाको अनुगमन समितिका पदाधिकारी कर्णबहादुर रोकाया, काली सार्की, टोपबहादुर चन र ठूलीभेरी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष हरिप्रसाद डाँगीसहित नौ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार उनीहरूले वास्तविक कामभन्दा बढी काम भएको भनी भए गरेको कुरा लुकाइछिपाइ वा नभए नगरेको कुरा देखाई गलत प्रतिवेदन पेस गरी सिफारिससमेतको आधारमा नगरपालिकाबाट सो योजनालाई २२ लाख ८९ हजार २ सय ६५ रुपैयाँ भुक्तानी दिएको पाइएको छ ।

साथै, अख्तियारले ठूलीभेरी नगरपालिका डोल्पाबाट ठूलीभेरी नगरपालिका–८ स्थित घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर डाँगी, कोषाध्यक्ष रेश्मा डाँगी र सचिव कर्ण चन्द्र डाँगीसहित १० जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले ठूलीभेरी नगरपालिकालाई गैरकानुनी हानि पु–याउने र आफूहरूले गैरकानुनी लाभ लिने उद्देश्यले नगरपालिकासँग गरेको सम्झौताविपरीत थोरै कार्य गरी बढी कार्य गरेको भनी कामै नगरी २२ लाख ८९ हजार २ सय ६५ रुपैयाँ भुक्तानी लिएको पाइएको थियो । सोही प्रकरणमा उनीहरूलाई भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

यस्तो छ अख्तियार अनुसन्धान आयोग द्वारा जारी विज्ञप्ति

जिल्ला डोल्पा, ठुलीभेरी नगरपालिकाका प्रमुखले ठुलीभेरी नगरपालिका वडा नं. १ देखि वडा नं. ११ सम्मका वडा अध्यक्षसँगको मिलेमतोमा आ.व. २०७४/०७५ मा विनियोजन भएको रकम नगरपालिकाको विभिन्न योजनाहरु सम्झौता गरी कुनै पनि काम नगरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा ठुलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, ऐ. नगरपालिकाका तत्कालीन इन्जिनियर बसन्त रोकाया र ऐ.नगरपालिकाका तत्कालीन सवइन्जिनियर शिवराज शाहीले ठुलीभेरी नगरपालिका वडा नं. ८ स्थित घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण कार्यको वास्तविक भएको कामभन्दा बढी काम भएको नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी रु.२२,८९,२६५।६८ बढी भुक्तानीको लागि सिफारिस गरेको सोही नापी किताव र कार्य सम्पन्न प्रतिबेदनको आधारमा बढी भुक्तानी गरी निर्धारित शर्त तथा मापदण्ड विपरीत भएको निर्माण कार्यलाई शर्त तथा मापदण्डवमोजिम भएको हो भनी प्रमाणित गरी एवं झुट्टा विल भरपाईको आधारमा भुक्तानी लिने दिने कार्य गरी निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ग) र (ङ) वमोजिमको कसुर गरेको हुँदा निजहरु तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, तत्कालीन इन्जिनियर बसन्त रोकाया र तत्कालीन सवइन्जिनियर शिवराज शाहीलाई उल्लिखित कसूरमा बिगो रु.२२,८९,२६५।६८ (बाइस लाख उनाननब्बे हजार दुई सय पैसठ्ठी रुपैयाँ अठसठ्ठी पैसा) कायम गरी सोही ऐनको दफा ८(१) बमोजिम कैद तथा जरिवानाको सजाय हुन एवं बिगो रु.२२८९२६५।६८ मध्ये रु.१९,११,५८३।- बैंकमा जम्मा गरिसकेको देखिँदा बाँकी रहेको बिगो रु.३,७७,६८२।६८ निजहरुबाट ऐ. ऐनको दफा ८(१) बमोजिम असुल उपर हुन एवं फिल्डमा निर्माण भएको भन्दा अन्तिम विलमा बढी काम गरेको भनी गलत अन्तिम विल नापी किताव र कार्यसम्पन्न प्रतिबेदन तयार गरेको र प्रमाणित गरी सोही अन्तिम विल र कार्य सम्पन्न प्रतिबेदनको आधारमा रु.२२,८९,२६५।६८ बढी भुक्तानीसमेत भएको देखिँदा निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) वमोजिमको कसुर गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) वमोजिम समेत सजाय हुन मागदाबी लिइएको छ।

 

यसैगरी ठुलीभेरी नगरपालिका वडा नं. ८ स्थित घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण योजनाको अनुगमन समितिका पदाधिकारीहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चन र ठुलीभेरी नगरपालिका वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष हरि प्रसाद डाँगीले वास्तविक कामभन्दा बढी काम भएको भनी भए गरेको कुरा लुकाईछिपाई वा नभए नगरेको कुरा देखाई गलत प्रतिवेदन पेश गरी सिफारिससमेतको आधारमा नगरपालिकाबाट उक्त योजनालाई रु.२२,८९,२६५।६८ बढी भुक्तानी भएको देखिन आएकोले निजहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चन र वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष हरि प्रसाद डाँगीले भष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको छ।

 

साथै, ठुलीभेरी नगरपालिका डोल्पाबाट ठुलीभेरी नगरपालिका वडा नं. ८ स्थित घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्क बहादुर डाँगी, कोषाध्यक्ष रेश्मा डाँगी र सचिव कर्ण चन्द्र डाँगीले ठुलीभेरी नगरपालिकालाई गैरकानूनी हानि पुर्‍याउने र आफूहरुले गैरकानूनी लाभ लिने उद्देश्यले नगरपालिकासँग गरेको सम्झौता विपरीत थोरै कार्य गरी बढी कार्य गरेको भनी कामै नगरी रु.२२,८९,२६५।६८ बढी भुक्तानी लिई भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) वमोजिम कसुर गरेको देखिएकोले उक्त रकम रु.२२,८९,२६५।६८ (बाइस लाख उनाननब्बे हजार दुई सय पैसठ्ठी रुपैयाँ अठसठ्ठी पैसा) बिगो कायम गरी निजहरुलाई सोही ऐनको दफा ८(४) वमोजिम सजाय गरी उल्लिखित बिगो रकममध्ये रु.१९,११,५८३।- निजहरुले बैंकमा जम्मा गरिसकेको देखिँदा बाँकी रहेको बिगो रु.३,७७,६८२।६८ निजहरुबाट ऐ. ऐनको दफा ८(४) बमोजिम जफत हुन मागदाबी लिई आज बिषेश अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

 

प्रवक्ता

श्याम प्रसाद भण्डा

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?