२०८० चैत्र ६ गते मङ्गलवार

काेभिड कहर: हाम्रो निर्णय के त ?



अक्सर जिवनमा त्यहि हुने गर्छ जुन नहोस भनि हामी हरेक क्षण रुदै कराउँदै ईश्वर सँग भाकल गर्छौं, एक मुठी सासको लागी तड्पीदै उहासँग भिक माग्छौ तर हामीले यो बुझ्न सक्दैनौं की प्राण दिने अनि लिने केवल ईश्वर कै हातमा छ।हामी त खाली ईश्वरले सृष्टि गरेका थोकहरु मध्यको एक हौ। आफ्नो केही योजना पूरा गर्न उहाँले बनाउनुभयो अनि आफ्नो योजना पश्चात उठाउनुभयो। मानव जीवनचक्र नै यही हो कि मानिस यो संसारमा केही उदेश्यको लागि जन्मिन्छ अनि आफ्नो लागि केही इतिहास छोडेर यो पृथ्वीबाट बिदा हुन्छ।
कतिचोटी मनमा अनगिन्ती प्रश्न चिन्हहरू खडा हुन्छन, आखिर किन यो सब? किन??? किन यति धेरै पीडा? यो कस्तो नियम की मान्छे जन्म पश्चात मर्नै पर्ने?? यो कस्तो परिस्थिति की नचाहेर पनि स्वीकार्नु पर्ने? सायद यी प्रश्नहरुको भुमरीमा ओझेल पर्ने म मात्र हैन होला। मजस्तै तपाईहरुको मनमा पनि यस्तो सोच आउन सक्छ तर यो तीतो सत्य हो कि हामीले नचाहादा नचाहादै पनि यो सत्यतालाई स्वीकार्नै पर्छ। अनि सृष्टिको सुरुवात देखि नै यो प्रक्रिया जारी छ। हामीले यति धेरै अफसोचका साथ ईश्वरलाई प्रश्न गर्नु बेकार हो। किनभने यो सारा ब्रह्माण्ड नै उहाँको अधिनतामा परिक्रमण गरिरहेको छ।।
नयाँ सालमा प्रवेश गरेको पनि धेरै भएको छैन सायद, सोचेको थिय यो नयाँ बर्षले हरेकको जीवनलाई नयाँ रुप दिनेछ तर यो वर्ष हाम्रो लागि झनै खतरनाक बनेर आयो।। हाम्रो संसार नै उजाडेर गयो।। २०७७ सालभरी विभिन्न परिस्थितिको कारण हामीले हाम्रा कयौ आत्मीय प्रियजन हरु गुमाउन पुग्यौ। कति कारण कोभीड -१९ बन्यो भने त कति कारण बाढी पहिरो।।। जे जस्तो अवश्था खडा भए पनि ती सबै दुःख पिर चिन्तालाई भुलाई २०७७ साललाई विदाई गरी २०७८ साललाई हामी सबैले भव्य स्वागत गर्यौ तर हामीले यो किन बुझ्न सकेनौ की हामी हाम्रो काललाई निम्त्याउदै थियौं। हामी मध्य कतिको लागि यो नयाँ वर्ष अन्तिम बिदाइको वर्ष बन्यो। केही दिनमा हामी मध्य कति जनाको नाम अनि फोटो केवल सामाजिक सञ्जालमा हार्दिक श्रद्धाञ्जली स्वरूप मात्र देख्न पाइनेछ। आफ्नै अगाडी देखेका कति व्यक्तिहरुलाई मैले अब केवल मेरो फोनमा कब्जा गरेको तस्बिरमा मात्र भेट्टाउदै थिय। हामीलाई के थाहा की यो नयाँ सालमा हामीले हाम्रा धेरै महत्वूर्ण अग्रजहरुलाई गुमाउनु पर्नेछ, हामीले आफ्ना कति परिवारको बिदाइ गर्नुपर्नेछ, कति हाम्रा आत्मीय मित्रहरूको साथ छोड्नुपर्नेछ।
हेर्दा सुक्ष्म जस्तो लाग्ने यो भाइरसको कारण आज सिंगो विश्व नै त्रसित छ। सुन्दा साधारण लाग्छ तर ख्यालख्यालमै धेरैले आफ्नो ज्यान गुमाइसके। बिश्व स्वास्थ्य संगठन लगायत दुनियाका हरेक समुदाय कोभिड -१९ को रोकथामका लागि निरन्तर आफ्नो खोजी, आफ्नो बल, बुद्धिको प्रयाेगमा जुटिरहेका थिय तर अफसोच यो भाइरसले यति छिटो विश्वमा महामारीको रुप धारण गर्यो जुन हामी कसैले चाल पाउन सकेनौ। मलाई अझै राम्रोसँग याद छ त्यो दिन, जुन दिन नेपालमा पहिलो कोभिड संक्रमित भेटियो जब सबैजना वैदेशिक मुलुकबाट आफ्नो मातृभूमीतिर फर्किदै थिय।
नेपाल सरकारबाट भाइरसलाई फैलिन नदिन तालाबन्दीको घोषणा भयो। देशभरका संघसंस्था, स्कुल, कलेज, विमान सेवा, यातायात सेवा लगायत धेरै कुराहरूमा बन्दको सूचना प्रकाशित गर्यो जुन दिन देशमा पहिलो संक्रमित देखियो। अझै खुसीको कुरा भनौ सबैको सावधानीका लागि नेपाल टेलिकमले समेत आफ्नो कलर ट्युनमा परिवर्तन ल्यायो। जुन ट्युनमा हामी हरेक चोटि आफू अनि अनि आफ्नो समुदायलाई यो महामारी बाट बच्ने र बचाउने सामान्य उपायहरू सुन्न सक्थ्यौं। हरेक सेकेन्ड हरेक मिनेटमा त्यो ट्युन सुनिराख्दा मेरो मानसपटलमा त यस्तो भयो कि कोई धूलोको कारण खोकिराछ भने पनि लाग्थ्यो, ओहो! कोरोनाको लक्षण।
तर सरकारले जति नै आफ्नो प्रयास जारी गरे पनि यो महामारी तिब्र गतिमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैलिन थाल्यो। जसको कारण हरेक प्रदेशको हरेक नगरपालिका हरेक गाउँपालिकामा आइसोलेशन, क्वारेन्टाइनको व्यवश्था अनि पी.सी.आर, आर.डी.टी परीक्षणको जरुरी पर्न थाल्यो। रीपोर्ट नेगेटिभ नआएसम्म आफ्नो घर फर्किन मिल्दैनथ्यो। त्यति गर्दा गर्दै पनि कति जना नक्कली रीपोर्टको प्रयोगमा आफ्नो गाउँ ठाउँमा प्रवेश गर्न थाले जसको फलस्वरूप मानिसहरूको मृत्युदर देशमा दिनप्रतिदिन बढ्दै जान थाल्यो। ५,१०,५०,१०० गर्दै १००० को संख्या पुग्न धेरै समय नै लागेन।। न गरीब न त धनी न ठुलो जात न त सानो जात। बाचुन्जेल यो तेरो यो मेरो भनेर झैझगडा गर्नु, एक अर्कामा मनमुटाव राख्नु आखीर सब बेकार रहेछ। धनको घमण्डमा मात्तिनु अनि गरिबीको पीडामा आत्तिनु सब बेकार… आज धनी गरीब ठूलो सानो सबै एउटै रोगको शिकार हुन पुगे।
तर अब यसको दोष कसलाई?? स्थानीय सरकार कहा निदाइरहेको छ? जसलाई आफ्नो समाज आफ्ना जनताको कुनै प्रवाह छैन। हरेक दिन अक्सिजनको कमीले मानिसहरू मर्दै छन्। काश यो रोगको शिकार ती व्यक्तिहरू हुन्थे भने के गर्थे होलान्। हुन त नियम कानुन भनेको जो गरीब, दुखी, निमुखा, असहाय छन उनीहरुको लागि हो यी नेता ठूलाबडा हरु त यसै नी नक्कलि रिपोर्टको साहारामा भाइरसको स्यानीटाइजर जनतामाथि छर्कीदै बस्छन।। हेर्दा लाग्छ ओहो उहाँले त स्यानीटाइजर छर्नुभयो जसले भाइरसलाई मार्छ तर विचारहरुलाई के थाहा की उनीहरू आफू भित्रको ग्रसित भाइरसले हामीलाई सिध्याउन चाहन्छन्। सोचौं अहिले त यो त्रासपूर्ण अवस्था हाम्रो समुदायमा फैलिएको छैन तर जब यसले तिब्र रुप लिन्छ तब स्थानीय बासीको हालत के होला? जहाँ राम्रो स्वास्थ्यचौकी त छैन, जहाँ सामान्य उपचार त मुस्किलले हुन्छ, त्यहाँ यो भाइरस फैलिँदा हासी हासी मृत्युलाई रोज्नु बाहेक अरु कुनै विकल्प छ र? त्यसैले हामी आफै आफैले आफ्नो जीवनको प्रवाह गर्नु आवश्यक छ।
यो त भयो नेपाल अनि स्थानीय तहको कुरा तर बिश्वमा के भइरहेछ?? सायद हामी अन्दाज लगाउन नै सक्दैनौ।जताततै कोलाहल देख्छु म, मान्छेहरू पीडामा छट्पटाइरहेको देख्छु, रुवाबासी मात्र सुनिन्छ, सामाजिक सञ्जाल भरी हार्दिक श्रद्धाञ्जली बुवा, आमा, दाई,दिदी,अंकल, आन्टी, साथी इत्यादि मात्र….. सायद हामी सब कायर भयौ। किन हामीले केही गर्न सकिरहेका छैनौं। दिनप्रतिदिन विश्वभर हजारौंको संख्याले ज्यान गुमाइरहेका छन् जो हजारौ गर्दै अब लाखौमा पुगिसके। आफ्नै परिवारको सदस्यहरू गुम्दा पनि लाचार बस्नुपर्ने यो कस्तो अवश्था आयो। मलामी जानलाई कसैको साथ नपाइने न त कसैको अन्त्यशटीमा जान मन हुँदा नी जान पाइन्छ। मान्छे आज आफ्नै शरिरका अङ्गहरु सँग पनि डराईडराई बस्नु परेको छ। कतिलाई त झन आफ्नै हातदेखि पनि शंका लाग्छ, मिल्ने भय त मानिसले आफू अनि आफ्नो हातबिचको दुरि पनि निकै बढाउने थिय होलान्। कति टुहुरा भए त कति विदुवा अझै कतिले यो परिस्थितिको सामना गर्नुपर्ने हो थाहा छैन, आखिर यो डर त्रास कहिलेसम्म??? सबै अन्योलमा छौ। एउटा सूक्ष्म भाइरसले आज सिङ्गो ब्रह्माण्डलाई नै उथलपुथल गरिदियो। कुनै दिन ज्वरोले थला पर्दा जाउलो पकाएर खुवाउने , खोकी लाग्दा तातो पानी तताइदिने परिवार आज साधारण खोकीमा पनि डराएर ६ कोष टाढा भाग्नुपर्ने। बिरामी हुँदा परिवार आफन्तको वास्ता फिक्रीको आवश्यक पर्थ्यो तर अहिलेको परिस्थिति कस्तो आयो की एक्लै कोठामा बन्दी भई बस्नुपर्ने। स्वतन्त्र भई प्रकृतिमा स्वास फेर्न पनि गाह्रो भयो। कतिन्जेल चल्छ यसरी यो दुनिया, आखिर कहिलेसम्म अक्सिजनको साहारामा भौतारिनु पर्ने? लाग्थ्यो संसारमा मानव सरह अरु कोही बलियो हुन सक्दैन। तर यो सुक्ष्म भाइरस त सबैभन्दा बलवान भएर पो निस्क्यो त। हो यो सोचाइ धेरैको मनमा आउँछ। धेरै जसो हामी दिनप्रतिदिन डराउँदै आफ्नो जिन्दगीको दौडमा लागिरहेका छौ र यो कसैलाई थाहा छैन कि सायद हामी आफ्नो गन्तव्यमा पुग्न सक्छौ या सक्दैनौ। गन्तव्यमा नपुगी विश्राम लिनुपर्नेछ कतिलाई।
तर मानव त चेतनशील प्राणी हैन र??
अनि किन त्रसित हुने यो भाइरस देखि? किन हामी आफू अनि आफ्नो परिवारको सुरक्षा गर्न सकिरहेका छैनौ?
अवश्य सकिन्छ।। जब म आफ्नो सुरक्षा गर्छु तब मेरो छेउको साथी सुरक्षित हुन्छ। जब हामी सुरक्षित हुनेछौ तब हाम्रो परिवार अनि हाम्रो समाज सुरक्षित हुनेछ।। किन जताततै भीडभाड किन निषेधाज्ञाको पालना छैन? के हामीलाई बाँच्न मन नलागेको हो र? जताततै चर्चा छ “को-भीड, नो-भीड” तर हाम्रो लागि त “को-भीड, झन-भीड” भइरहेछ।। धेरैलाई त हामीले गुमाइसक्यौ तर अब अरु हैन। हाम्रो समुदायमा यो महामारीको कारण कसैले आफ्नो ज्यान अकालमै गुमाउन नपरोस।भोलिको सुन्दर दिन देख्नको लागि हामी आफू आँफै आफ्नो सुरक्षा गर्नु जरुरी छ। यसरी नै सबै मर्ने हो भने यो पृथवीमा मानव जन्मिनुको कुनै औचित्य नै नहुने भयो। सुन्दर भवष्य अनि हाम्रो उद्देश्य पूरा गर्ने या नगर्ने? जिन्दगीलाई अझै अगाडी बढाउने या यतिकैमा समाप्त गर्ने?? यो जीवन खाली हार्दिक श्रदान्जली मै सिमित गर्ने या आफू श्रेष्ठ हुनुको प्रमाणित गर्ने?
निर्णय केवल हाम्रै हातमा।
यो महामारीको महायुद्धमा जीत कसको या त हार कसको?
द्वन्द चर्किरहेछ मानव अनि दानव भाइरस बीच।।।

आफू बाचौ र अरुलाई पनि बचाऔ।।।

लेखक
प्रनिमा डिसि माछापुच्छ्रे बैंक डाेल्पा शाखामा कार्यरत छिन् !

प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?