२०८१ बैशाख ३१ गते सोमवार

कर्णालीकाे डोल्पा र जुम्लामा आज छोरातिहार मनाइँदै!

लोप हुदै छोरा तिहार!



पुर्ण कुमार/ नेपालब्रेक
डोल्पा, पुस २८

कर्णालीका हिमाली जिल्ला डोल्पा र जुम्लामा आज छोरातिहार मनाइदै छ ।

नेपालमा अन्त कतै नमनाइने छोरातिहार प्रत्येक वर्षकाे पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशको जुम्ला, डोल्पा लगायतका जिल्लामा परापुर्व काल देखि धुमधामका साथ मनाउदै आएका छन् ।

यस दिन बिहानै आमा र छोरा दुवैले नुहाइधुवाई गरेर छोराहरूले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ। भाइटीकाजस्तै छोरातिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा फूलको माला लगाइदिएर सगुनको रूपमा घरमा बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटी जस्ता परिकार खुवाउने प्रचलन छ।

टीका लगाइसकेपछि छोरालाई सुख, शान्ति, दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिइन्छ। छोराले पनि आमाको हातबाट टीका र आशीर्वादपछि दक्षिणाको रूपमा सक्दो पैसा, धोतीचोलीजस्ता कोसेली दिएर गोडामा ढोग्ने चलन छ।

जिल्लाबाहिर रहेका छोराहरू पनि आमाको हातबाट टीका थाप्न आजको दिन जसरी पनि घर पुग्ने गर्छन्। कामविशेषले घर पुग्न नसक्ने छोराहरूले फोनलगायतका सञ्चार माध्यमबाट आशीर्वाद लिने र आमाले छोराका लागि बनाएको कोसेली छुट्याएर राखिदिने गरिन्छ।

छोरातिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुष जम्मा भई प्रत्येक घर तथा गाउँबस्तीहरूमा पुगेर भाइटीकामा देउसी भनेजस्तै भैलो खेल्ने प्रचलन समेत रहेको छ।
यस तिहारमा आमा नहुनेहरूले भने स्थानीय मठ मन्दिरमा गएर पुजारीको हातबाट टीका–अक्षता लगाएर मनाउने गर्छन्।

परापूर्वकालदेखि मनाउँदै आएको भए पनि यो तिहार रौनक पछिल्लो समय घट्दै गएको त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीय जुन बहादुर सार्कीले बताए।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?