२०८१ बैशाख ८ गते शनिवार

टिकटकमा जे पनि भाइरल : दाङस्थित एक सडक रातारात चर्चामा



पछिल्लो समय सामाजिक सञ्जालमा धेरै कुराहरू भाइरल (रातारात चर्चा) भएको पाइन्छ।

दाङको एउटा सडक पनि टिकटकमा हिजोआज भाइरल हो। जुन सडक अवलोकन गर्न दैनिक सयौँ संख्यामा मानिसहरू आउने गरेका छन् ।

दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरदेखि रोल्पाको होलेरी जोड्न सडक करिब एक सातायता सामाजिक सञ्जाल टिकटकमा निकै भाइरल भइरहेको हो।

घोराही-१०, नारायणपुरदेखि वडा नं. ११ हुँदै १२ को सिमलकुटीसम्म करिब ९ किलोमिटर सडक कालोपत्रे भएको छ। उक्त सडक अन्तर्गत घोराही-११, झुम्केटाडी निकै भाइरल भइरहेको छ।

त्यहाँ भिडियो बनाउनको लागि जिल्लाका विभिन्न ठाउँबाट टिकटक प्रयोगकर्ताहरू पुग्ने गरेका छन् ।

शान्तिनगर-२, अमुवाबाट भाइरल सडक हेर्न आएका गणेश खत्रीले पनि सामाजिक सञ्जालबाट आफूले थाहा पाएको बताए। उनले विदाको दिन भएकाले कस्तो रहेछ भनेर हेर्न आएको समेत बताए।

‘सडक त धेरै बनेका छन्। तर, यो सडक भाइरल भएको देख्दा के रहेछ भनेर आएका छौँ,’ उनले थपे, ‘आज शनिबारको दिन यहाँको दृश्य हेर्दा म आफै दंग परे। यति धेरै मानिसहरू सडक हेर्न आउँदा रहेछन्। यो सडक सर्पजस्तै घुमेकाले पनि भाइरल भएको होला।’

त्यस्तै, साथीहरूले भनेपछि यो भाइरल सडक हेर्न तुलसीपुरबाट आएको अर्का सुनील सुनारले बताए।

उनले भने, ‘खासै त केही रहेनछ, सडक घुमाउरो रहेछ। मानिसहरूको भीडभाड एकदमै हुँदो रहेछ। हेर्दा रमाइलो लाग्दो रहेछ।’ उक्त ठाउँमा युवा/युवतीहरूको चहलपहलले गर्दा स्थानीय पनि अचम्म परेका छन्।

स्थानीय डिल्ली बहादुर वलीका अनुसार करिब एक हप्तादेखि उक्त ठाउँमा धेरै चहल पहल बढ्दै गइरहेको छ। उनले सडक कालो पत्रे भएको र सर्प घुमेको जस्तै भएकाले टिकटक बनाउनेहरू गर्दा भाइरल भएको बताए। साथै, अन्य दिनमा भन्दा विदाको दिन धेरै युवा/युवतीहरू भिडियो बनाउने फोटो खिच्न आउने गरेको समेत उनले बताए।

‘यहाँ हेर्नको लागि अरू कुनै ठाउँहरू छैन। यो सर्प जस्तै घुमेको सडक मात्र हो,’ उनले भने, ‘एक हप्ताजति भयो दैनिक सयौँको संख्यामा युवा/युवतीहरू आउने गर्दछन्। हामीलाई पनि अचम्म लागेको छ। तर, यहाँ दुर्घटनाको जोखिम बढिरहेको छ। ​टिप्परहरू पनि यहि बाटो हिँडेका हुन्छन्। सडकमा टिकटक भिडियो बनाउनेको अत्याधिक भीडभाड हुन्छ।’

यो सडक निर्माण सम्पन्न भएको करिब ३ महिना जति भएको उनले बताए। उक्त सडकमा टिकटक भिडियो बनाउने फोटोहरू खिच्नेहरू मात्र खुशी भएका छैन्। त्यो चहल पहल देख्दा स्थानीयहरू पनि खुशी भएका छन्। सडकले गर्दा आफूहरूको ठाउँमा यस्तो चहलपहल भएको भन्दै स्थानीय एकराज डाँगीले खुशी व्यक्त गरे।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?