२०८१ जेष्ठ २ गते बुधवार

अब दुबइ एयरपोर्टमा पासपोर्ट देखाउनु नपर्ने, यात्रुको अनुहार नै पासपोर्ट 



काठमाडौं । युनाइटेड अरब इमिरेट्सको दुबइ विमानस्थलमा अब यात्रुहरुले लामो लाइन बस्नुपर्ने छैन । विमानस्थल प्रशासनले यहाँ अत्याधुनिक ‘फेस रिकग्निसन’ (अनुहार पहिचान गर्ने) प्रविधिको प्रयोग गर्न सुरु गरेको छ ।

यसका अलावा आँखाको नानीबाट पनि यात्रुको पहिचान गरिनेछ । अब यी दुई प्रविधिको प्रयोगबाट नै यात्रुको पहिचानको काम पूरा गरिनेछ, यात्रुले पासपोर्ट देखाइराख्नु जरुरी हुने छैन । विमानस्थल प्रशासनका अनुसार पूरै प्रक्रिया बायोमेट्रिक मोडमा पूरा गर्ने निर्णय गरिएको छ ।

यो परियोजनालाई बायोमेट्रिक प्यासेन्जर जर्नी नाम दिइएको गल्फ न्यूजले जनाएको छ । विमानस्थल प्रशासनले भनेको छ ‘यो कार्यक्रमबाट यात्रुहरुले सहुलियत पाउनेछन् । कोभिड–१९ को समयमा सम्पर्क मुक्त यात्रु जरुरी थियो । अब यात्रु एयरलाइन्स स्टाफको सम्पर्कमा आउने छैनन् ।

यसको लागि १२२ स्मार्ट गेटहरु बनाइएका छन् । कुनै पनि गेटमा ५ देखि ९ सेकेण्ड मात्र समय लाग्नेछ ।’दुबइ विमानस्थलका निर्देशक मेजर जनरल मोहम्मद अहमद अल मायरीले भने ‘हामीले इमिरेट्स प्रशासन र अन्य सहयोगीको सहयोगमा यो प्रक्रिया सुरु गरेका छौं ।

स्क स्मार्ट टनेल पनि बनाइएको छ । हामी भविष्यको प्रविधिको प्रयोग यसकारण गर्दैछौं ताकि यात्रुलाई विमानस्थलमा कुनै किसिमको समस्या नहोस् । अहिले दैनिक तीन हजार यात्रुले यो प्रविधिको प्रयोग गरिरहेका छन् । पुरानो तरिका पनि प्रयोग गर्न सकिन्छ ।

यात्रुले कुन प्रक्रिया प्रयोग गर्न चाहन्छन् भन्ने यात्रुमा निर्भर गर्छ ।’नयाँ प्रक्रियाअनुसार जब कुनै यात्रु दुबइ अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् त्यसपछि फेस र आइरिस रिकग्निसनको माध्यमबाट यात्रुको पहिचान हुनेछ । यो एक पटक मात्र हुनेछ र भविष्यको लागि डाटा संग्रहित हुनेछ ।

त्यसपछि ती यात्रु जति स्मार्ट गेट पार गर्दै अगाडि बढ्नेछन् ती गेटमा बायोमेट्रिक प्रविधिको डाटा मिलान गरिनेछ र डाटा मिल्नासाथ गेट खुल्दै जानेछन् । यद्यपि साथमा पासपोर्ट हुनु भने जरुरी हुनेछ । बिजनेस लाउन्ज जान बोर्डिङ पास पनि देखाउनु पर्ने छैन । अनुहारको पहिचानपछि गेट खुल्नेछ र यात्रु जान सक्नेछन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?