२०८१ बैशाख ३० गते आइतवार

महिला सैनिक अधिकृतसँग सल्किएका जर्नेल बर्खास्त !



काठमाडौं । नेपाली सेनाका एकजना जर्नेल सेना दिवसको ठ्याक्कै एकसाताअघि यौनकाण्डमा परेका छन्। र, यो काण्डले उनी बर्खास्तगीमा परेका छन् भने उनीसँग नाम जोडिएकी सैनिक अधिकृत महिलाको पनि जागिर गुमेको छ। शान्ति मिसनमा सुडानमा खटिंदादेखिको एकजना सैनिक अधिकृत महिलासँगको शारीरिक सम्बन्ध खुलेपछि सैनिक मुख्यालयले कडा छानविनको आदेश जारी गरेको थियो। फलस्वरूप दुवै जना कारबाहीमा परेका हुन्।

सैनिक मुख्यालयको उच्च स्रोतअनुसार, सेना दिवसको एकसाताअघि यसरी यौनकाण्डमा नेपाली सेनाको २८ नम्बर बाहिनी सिरहाका वाहिनीपति पंकज कार्की परेका छन्। उनीमाथि छानविन गर्न केही समयअघि कोर्ट अफ इन्क्वायरी गठन गरिएको थियो।

नेपाली सेनाभित्र व्यापक शुद्धिकरणको अभियान चलाएर कार्यकाल शुरु गरेका प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र यौन दुर्व्वहार र अवैध सम्बन्धजस्ता नैतिक चारित्रिक प्रश्नमा तत्काल छानविन गरी कडा कारवाही गर्ने निर्देशन दिँदै आएका छन्।

यसरी खुल्यो कार्कीको यौनकाण्ड 

जर्नेल पंकज कार्की नेपाली सेनाको २८ नं वाहिनीपतिमा कार्यरत रहँदा उनलाई सेनाभित्रकै कुनै सैनिक महिलासँग जोडेर संचारमाध्यममा समाचार प्रकाशित भएको थियो। सो समाचारले आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै जर्नेल कार्कीले आन्तरिक छानविन शुरु गरे।

उनको छानविन संचारमाध्यमलाई समाचार दिने को हो भन्नेमा केन्द्रित थियो। सैनिक स्रोतका अनुसार, जर्नेल कार्कीले आफ्नै वाहिनीका सेकेण्ड म्यान सहायक वाहिनीपति रामचन्द्र कार्कीलाई त्यसरी समाचार प्रकाशित गराएको आरोप लगाए।

तर, सहायक वाहिनीपति रामचन्द्रले सो आरोपलाई अस्वीकार गरे। दुबैका बीचमा आरोप प्रत्यारोप भएपछि यो प्रकरणले विवादको रुप लियो र घटना पृतनासम्म आइपुग्यो। रामचन्द्रले आफूमाथि गलत आरोप लगाइएको भन्दै पृतनामा रिपोर्ट गरेका थिए।

उनको रिपोर्टका आधारमा पृतना कार्यालयले छानविन शुरु गर्यो। छानविनमा क्रममा समाचार कसरी बाहिर गयो भन्ने त छँदै थियो, बाहिनीपति पंकजमाथि लागेको यौनकाण्डको आरोप के होरु भन्ने कुरा पनि उठ्यो।

छानविनका क्रममा सहकर्मी सैनिक महिलासंगको जर्नेल पंकजको सम्बन्धको कुरा प्रकट भएपछि पृतना कार्यालयले सो प्रकरणलाई थप छानविनका लागि सैनिक मुख्यालय पठायो। जव सो प्रकरणमा कोर्ट अफ इन्क्यावरी गठन भयो तब उनको टेलिफोनको विस्तृत विवरण चेक गरियो।

मोवाइल टेलिफोनका म्यासेसहरु चेक गर्ने क्रममा शान्ति मिसन सुडानमा कार्यरत रहँदा जर्नेल पंकजको सुडानमै कार्यरत नेपाली सैनिक अधिकृत मेजर महिलासँग यौनसम्बन्ध भएको प्रमाण फेला परेको थियो।

बाहिनीमा कार्यरत सैनिक महिलासंगको सन्दर्भले सुडान मिसनमा रहँदाको यौनसम्बन्ध खुलेपछि जर्नेल पंकज अप्ठेरोमा परे। सैनिक कोर्ट अफ इन्क्वायरी बोर्डले जर्नेल पंकजसँग नाम जोडिएका सैनिक महिलासँग समेत बयान लियो।  यसक्रममा सुडानको प्रकरणसँग जोडिएकी मेजर महिलाले जर्नेल पंकजसँग आफ्नो सम्बन्ध भएको स्वीकार गरेको सैनिक स्रोतले बताएको छ।

सबै अनुसन्धानहरुले जर्नेल पंकजको विवाहित भएर पनि अरु महिलासँग यौन सम्बन्ध राखेको त्यसमाथि पनि आफ्नै सहकर्मीहरुसँग यौनसम्बन्ध भएको पुष्टि भएपछि कोर्ट अफ इन्क्वायरी बोर्डले कोर्ट मार्शल गर्दै जागिरबाट बर्खास्त गर्ने फैशला गरेको छ। दुबैजनाले जागिर बाट हात धुनु परेको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?