२०८१ जेष्ठ ३ गते बिहिवार

‘महिनावारी हुँदा छोरीलाई लुकाउने होइन, खुसीयाली मनाउनुपर्छ’



काठमाडौं । म ६ जना छोरी भएको घरमा हुर्किएकी हुँ। घरमा चार जना दिदी, म र एउटी बहिनीसहित आमाबुवा हुनुहुन्छ ।

महिनावारी भन्ने कुरा मलाई सानैदेखि थाहा थियो। हरेक हप्ता आमा वा दिदीहरूमध्ये कोही न कोहीलाई महिनावारी भएकै हुन्थ्यो। उहाँहरूलाई देखेर महिनावारी के हो, यस्तो बेला के गर्नुपर्छ भन्ने ज्ञान जानिसकेकी थिएँ । मेरो पहिलो महिनावारी हुँदा म ठ्याक्कै स्कुल जाने बेला भएको थियो। म त्यस्तै १४ वर्षकी थिएँ ।

अरूहरूको घरजस्तै मेरो घरमा पनि महिनावारी बार्ने चलन थियो। मलाई आफ्नै घरमा ६ दिन लुकाएर राखियो। त्यो बेला खाना कोठाभित्रै ल्याइदिनु हुन्थ्यो। अनि केही थप्दिनुपर्‍यो भने छोइएला कि जसरी माथिबाट थालमा हालिदिनु हुन्थ्यो। मलाई आफ्नो परिवारबाट अस्वीकृत महशुस भएको थियो ।

मेरो आमाबुवा, सबै जना पढे-लेखेको हुनुहुन्छ। त्यही पनि अरू र समाजले के भन्लान् भन्ने सोचले हामी सबै महिला सदस्यले महिनावारी बार्नुपर्‍यो । पहिलो महिनावारी हुँदा केटा मान्छेलाई हेर्न हुँदैन भन्थे। मेरा लागि त्यो अनुभव निकै असहज रह्यो। मनमा धेरै प्रश्न उठेको थियो र यो चलन किन मान्नुपर्ने होला भनेर जिज्ञासा लाग्थ्यो ।

मैले त्यो बेला चलिआएको चलन पूरा गरेकी हुँ। सबैले गरिरहेको कुरा मैले पनि गर्नु परेको हो भन्ने सोच्थेँ। फेरि समाजले बनाएको नियम पूरा गरेन भने उसको चरित्र माथि नै प्रश्न उठाइन्छ । त्यही डरले पनि म यी कुरामा सचेत भएँ । मैलेभन्दा दिदीहरूले महिनावारी बेला धेरै नचाहिँदा दुःख भोग्नुपर्‍यो। मेरो पालो हुँदै मेरी बहिनीको बेलासम्म भने अलि कम हुँदै गयो। मेरी आमा समयसँगै चल्न सक्ने भएकाले होला घरमा महिनावारीका कुचलन बिस्तारै कम हुँदै गए ।

बुवा भने यो कुरामा निकै कडाइ गर्नुहुन्थ्यो। उहाँले हामी सबैलाई पढ्नुपर्छ, अगाडि बढ्नुपर्छ भनेर सिकाउनुभयो। तर महिनावारीबारे कहिल्यै खुलेर बोल्नुभएन। जसले गर्दा हामीले पनि बुवासँग महिनावारीका कुरा गर्न सकेनौं। अहिले आमाबुवा गाउँमा हुनुहुन्छ, म काठमाडौं बस्छु। यता महिनावारी भएको वा नभएको केही वास्ता हुँदैन। उहाँहरू आएका बेला म महिनावारी भए पनि हामी एउटै टेबलमा बसेर खान्छौं।

घरबाट पनि हामीले यो कुचलन लगभग हटाइसकेका छौं। तर अझ पनि पूजापाठ हुँदा वा मठमन्दिर जान सकेको छैन। सानैदेखि हाम्रो दिमाग छोइछाइ र बार्ने कुरा यसरी गाडियो, अब हामीलाई त्यो सोचभन्दा बाहिर निस्किन निकै गाह्रो भएको छ। मैले पढेको विद्यालयमा महिनावारीबारे खुलेर पढाइ हुन्थेन। प्रजनन् स्वास्थ्य विषय पढाउने बेला कक्षामा विद्यार्थीबीच खासखुस चल्थ्यो। विद्यार्थीहरू यो विषय बुझ्न चाहन्थे तर सबैका अगाडि सुन्दा हिच्किचाउने व्यवहार थियो ।

हरेक बुधबार हाम्रो विद्यालयमा स्पोर्ट्स-डे हुन्थ्यो। तलदेखि माथिसम्म पूरै सेतो लुगा लगाउनुपर्थ्यो। लुगा राताम्मे होला भन्ने चिन्ता भइरहन्थ्यो। कतिपटक त रगत लुगाभरि लागेकाले घर गई फेरफार गरेर फेरि विद्यालय गएको पनि याद छ। कक्षामा सरले प्रश्न सोध्न उठाउँदा पछाडि रगत पो लागेको छ भनेर डर लाग्थ्यो। रगत लागे त्यसलाई हामी सामान्य रूपमा लिन सक्थेनौं ।

त्यसैले प्रजनन् र महिनावारी स्वास्थ्यबारे विद्यार्थीलाई राम्रोसँग पढाउन निकै जरुरी छ। अझ मुख्यगरी परिवारले अगाडि नै आफ्नो छोराछोरीलाई यसबारे ज्ञान दिनुपर्छ। ताकि कतै महिनावारीको कुरा निस्किँदा बालबालिकाले त्यो सामान्य कुरा हो भन्ने बुझ्न सकून्। आमाले मात्र छोराछोरीलाई सिकाउने होइन, बुवाको पनि यसमा उत्तिकै ठूलो कर्तव्य हुन्छ ।

मेरो घरमा पो दिदीहरू हुनुहुन्थ्यो र मैले उहाँहरूबाट जानकारी पाएँ। कसैको घरमा पुरुष सदस्य धेरै छन् भने त्यस घरमा हुर्केकी युवतीलाई धेरै कष्ट हुन्छ। त्यसैले पुरुषहरूले पनि महिनावारीको प्रकिृया, त्यस समय केकस्ता सामान चाहिन्छ भनेर बुझ्नुपर्छ। उनीहरूले यसका कुचलनबारे आवाज उठाउन निकै आवश्यक छ।

मलाई याद छ, पसलमा प्याड किन्न जानुपर्दा हामी महिला साहुनी भएको मौका पारेर मात्र जान्थ्यौं। अनि प्याड दिने व्यक्तिले पनि त्यसलाई नदेखिने गरी मजाले कागजमा बेरेर मात्र दिन्थे । हामी महिनावारीलाई लाजको विषय मान्छौं। तर यो गलत हो। कोही बालिका पहिलो महिनावारी हुँदा उसलाई यो कुरा लुकाएर राख्नुपर्छ वा खुलेर बोल्नु हुँदैन भनेर दिमागमा बसालिदिनु हुँदैन। बरू सबै घरपरिवार र आफन्त बोलाई खुसीयाली मनाउनुपर्छ। ती बालिकालाई सबै परिवार मिलेर महिनावारीबारे जानकारी र उनको शरीरमा देखिने परिवर्तन बुझाउनुपर्छ ।

हामी महिला महिनावारीलाई हरेक महिना आउने एउटा झन्झटका रूपमा लिन्छौं। तर घरका सदस्यले महिनावारी हुँदा उनको हेरचाह, माया गर्ने, पकाएर खुवाउने हो भने महिलाले पनि दिक्क मान्ने छैनन्।

म पेसाले गायिका हुँ। ठूला स्टेजमा गीत गाउनुपर्छ। पहिलेपहिले यस्तो समयमा वा सुटिङका बेला महिनावारी हुँदा म धेरै चिन्ता लिन्थेँ। यसले गर्दा रगत धेरै आउनुको साथै शरीरमा दुखाइ पनि झनै बढायो। पछिल्ला दुई-तीन वर्षदेखि मैले मेरो मानसिकता फेरेकी छु- महिनावारी हुनु सबभन्दा राम्रो समय हो र यो समय मेरा लागि भाग्यवान हुनेछ।

यसरी आफ्नो घारणा परिवर्तन गरेपछि मेरो व्यवहारमा पनि सकारात्मक फरक देखियो। त्यसैले महिनावारी केबल शारीरिक प्रक्रिया होइन, यसले महिलाको मनोविज्ञानमा पनि प्रभाव पारिरहेको हुन्छ।

मैले इन्टरनेटमा खोज्दा थाहा पाएँ, महिनावारीबेला रगत आउँदा हामी बाहिरी वातावरणसँग निकै नाजुक हुन्छौं। यही कारण साना कुरामा पनि झिँझिने, रिस उठ्ने, खुसी हुने गर्छौं । धेरैधेरै पहिले त महिनावारी भएका महिलासँग सल्लाह-सुझाव पनि लिन्थे रे। त्यो बेला महिलाहरू अन्तर्ज्ञानी हुन्छ भनिने रहेछ। दक्षिण भारतमा एउटा देवीको मन्दिर छ, जहाँ हरेक महिना देवी महिनावारी हुने विश्वास गरिन्छ । त्यसैले हरेक महिना तीन दिन त्यो मन्दिर भक्तजनका लागि बन्द हुन्छ। देवीको मूर्ति वरिपरि सेतो कपडा बिछाइन्छ। तीन दिनपछाडि त्यो कपडा रातो भिजेको हुन्छ भन्ने विश्वास छ। त्यो कपडाको साना टुक्रा पारेर प्रसादका रूपमा बाँडिन्छ।

जब भगवान र आस्थाको कुरा आउँछ, मानिसहरू महिनावारीलाई प्रसाद मानेर सजिलै अपनाउन सक्दा रहेछन्। तर आफ्नै घरका महिला महिनावारी हुँदा छिछि-दुरदुर गरिन्छ। हामी जस्तो काममा हिँडिरहनु पर्ने महिलाका लागि घरभित्र मात्र नभई बाहिर पनि उत्तिकै अप्ठ्यारो छ। यीमध्ये शौचालयको राम्रो व्यवस्था नपाउनु एउटा समस्या हो। अधिकांश ठाउँमा महिलाले राम्रो शौचालय पाउँदैनन्। महिनावारी हुँदा सहज हुनु त धेरै टाढाको कुरा हो। जहाँ पनि यो समस्या उस्तै छ, तर अन्तमा महिला आएर फोहोर गर्छन् भनेर उल्टै हामीलाई दोष लगाइन्छ।

मान्छेले किन बुझ्दैनन् कि शरीरबाट रगत आउने वा नआउने प्रक्रिया हाम्रो हातमा हुँदैन। अझ पढे-लेखेका भनिनेहरूले नै यस्तो विषयलाई बेवास्ता गरेको दखिन्छ। उतिबेला प्याड सुविधा नभएकाले कपडा बेरेर वा सुकेको पात समेत लगाएर हिँड्थे। जसले गर्दा जताजतै रगत चुहिने समस्या हुन्थ्यो। महिनावारी बेला चार दिन पर राख्नुको एउटा कारण यो पनि हुनसक्छ। तर अब समय फेरिएको छ। हामीसँग सबै सुविधा छ। त्यसैले नयाँ समयमा पुरानै कुरा ल्याएर महिलामाथि दमन गर्न खोज्नु उचित होइन ।

मलाई लाग्छ, महिनावारीमा लुकाउने प्रथा महिलाहरूलाई प्राकृतिक नियम र अब हामी सन्तान जन्माउन योग्य हुन्छौं भन्ने बुझाउन सुरू भएको होला। अनि यो सिकाउने तरिका पछि संस्कृतिसँग जोडेर कुचलनका रूपमा आयो कि !

नयाँ पुस्ताले पनि सबै पुराना कुराको पछि लाग्नु हुँदैन। हरेक विषय विश्वास गर्नुअघि त्यसपछाडिको प्रमाण खोज्नुपर्छ। अहिलेको पुस्ताले यस्ता कुचलनविरूद्ध आवाज उठाउन थालेको छ। हाम्रो यो प्रयासका कारण भविष्यमा हाम्रा छोराछोरीले महिनावारी कुचलनका दुःख भोग्नु पर्दैन। मैले त आफ्ना छोराछोरीलाई महिनावारीका कुचलनबाट टाढा राख्ने सोचिसकेकी छु।

(इन्दिरा जोशीसँग सेतोपाटीका अनुषा अधिकारीले गरेको कुराकानीमा आधारित)

सेतोपाटीबाट

प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?