२०८० चैत्र ६ गते मङ्गलवार

सभामुख के गर्ने ? प्रचण्ड भन्छन्: विस्तारै छलफल गरौंला



पुस २, काठमाडौं । सभामुख पद झण्डै तीन महिनादेखि रिक्त छ । संसदमा प्रष्ट बहुमत भएकाले सत्तारुढ नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा)ले चाहेको व्यक्ति सभामुख हुने भएकाले पार्टीमा आंकाक्षी नेताहरुको दौडधुप पनि छ ।

हिउँदे अधिवेशन पर्सि शुक्रबारबाट सुरु हुने भएकाले नयाँ सभामुख को भन्ने चासो छ ।

तर नेकपाले भने शुक्रबार साँझसम्म पनि नयाँ सभामुखबारे केही निर्णय गरेको छैन । बिहीबारदेखि जारी स्थायी कमिटी बैठकमा पनि यो एजेण्डा बनेको छैन ।

पूर्वमाओवादी कि पूर्वएमाले ?

नेताहरुकाअनुसार सभामुख पूर्वएमाले कि पूर्वमाओवादीबाट भन्ने विवाद नै टुंगिएको छैन । त्यो तय नभएसम्म को सभामुख बन्छ भनेर भन्न नसकिने एक नेताले बताए ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा पूर्वमाओवादीको कोटाबाट सभामुख बनेका थिए । संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि उनले १५ असोजमा राजीनामा दिएका थिए र अहिले पुर्पक्षका लागि थुनामा छन् ।

पूर्वमाओवादी नेताहरुले नयाँ सभामुख पनि पूर्वमाओवादीकै कोटाबाट हुनुपर्ने माग गरेका छन् । र, पूर्वमाओवादीको भागमा पर्दा अग्नि सापकोटाको सम्भावना बढी छ । तर पम्फा भुसाल र देव गुरुङको पनि दाबी छ ।

तर पूर्वएमालेबाट आएका नेताहरु अब पूर्वमाओवादी, पूर्वएमाले भन्ने नहुने तर्क गर्छन् ।

यदि पूर्वएमालेबाट सभामुख चयन हुने अवस्था आउँदा पनि सभामुख को भन्ने अन्यौल छ ।

नेताहरुका अनुसार पूर्वएमाले कि पूर्वमाओवादी भन्ने बहस टुंगिएपछि राष्ट्रपति विद्या भण्डारी कि प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेको नेता भन्ने बहस हुनेछ ।

राष्ट्रपति भण्डारीले वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउन चाहेकी छन् । तुम्बाहाम्फेले पनि सभामुखमा आफ्नो दावी प्रस्तुत गर्दै नेतृत्वसामू लबिङ तीव्र बनाएकी छन् । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् ।

अझै ५/६ दिन छ : प्रचण्ड

पूर्वमाओवादी नेताहरुका अनुसार उनीहरुले नयाँ सभामुखबारे पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँँग कुराकानी गर्ने जिम्मा प्रचण्डलाई दिएका छन् ।

तर प्रचण्डले कुराकानी गरेका छैनन् । सभामुखबारे के भयो भन्दा प्रचण्डले ‘अझै ५/६ दिन छ, विस्तारै छलफल गरौंला’ भन्ने जवाफ दिएको एक नेताले सुनाए ।

प्रकाशित मिति : २०७६ पुष २ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?