
काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।
गएराति भएको खेलमा रियल म्याड्रिड रियल सोसियडाडसँग १/१ गोलको बराबरीमा रोकिएको हो।
रियल सोसियडाडका पोर्टूले खेलको ५५औ मिनेटमा शुरुवाती गोल गर्दै अग्रता लिएकोमा रियल म्याड्रिडका भिनिसियस जुनियरले खेलको ८९औ मिनेटमा गोल गर्दै रियल म्याड्रिडलाई हारबाट बचाएका थिए।
ब्राजिलियन खेलाडी भिनिसियसले रियल म्याड्रिडमा आफ्नो सयौं खेल खेल्नेक्रममा क्लबलाई हारबाट बचाएका हुन्। यो बराबरीको फाइदा अंक तालिकामा बार्सिलोनालाई भएको छ।
बराबरीसँगै रियल म्याड्रिडले बार्सिलोनालाई उछिनेर दोस्रो स्थानमा जाने अवसर गुमाएको छ।
ला लिगामा रियल म्याड्रिडको २५ खेलमा ५३ अंक रहेको र तेस्रो स्थानमै छ। त्यस्तै २५ खेलमा ५३ अंक नै भएको बार्सिलोना गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ।
लिगमा २४ खेलमा ५८ अंक बनाएको एटलेटिको म्याड्रिड शिर्ष स्थानमा रहेको छ। त्यसैगरी रियल सोसियडाडको भने २५ खेलमा ४२ अंक रहेको छ र लिगमा पाँचौ स्थानमा छ।