२०८१ बैशाख १३ गते बिहिवार

फागुन पहिलो साताबाट संयुक्त आन्दोलन सुरु हुन्छ: लक्ष्मणलाल कर्ण



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक संसद विघटनविरुद्ध आगामी फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन गरिने बताएका छन् ।

संयुक्त आन्दोलनका लागि दलहरु आन्तरिक छलफलकै क्रममा रहेको उनले जानकारी दिए । सोमबार राजधानीमा आयोजित साक्षातकार कार्यक्रममा बोल्दै नेता कर्णले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको दाबी गरे ।

‘यो हाम्रो लोकतन्त्र प्रतिनिधिमूलक लोकतन्त्र हो। लोकतन्त्रको समाप्ति एक जना व्यक्ति, प्रधानमन्त्रीले गर्नुभयो। एक जना व्यक्ति, प्रधानमन्त्रीले मात्रै संसद विघटन गरिदिएर जनताको अधिकार खोसिदिए ।’ उनले अहिलेको अवस्थामा संविधान रहने हो कि होईन? गणतन्त्र, लोकतन्त्र, संघीयता रहने हो कि होईन भन्ने विषयमा ठूलो चूनौति आएको पनि सुनाए ।

‘यो चूनौतिको सामना गर्नको लागि नेकपा दुई समूह विभाजित छ। एक समूह सडकमा छ। कांग्रेस पनि सडकमा छ। जसपा पनि सडकमा छ। हाम्रो पार्टीको त चौथो चरणको आन्दोलन अस्ति माघ २३ गते समाप्त भएको छ। आज सम्पूर्ण जिल्लाको सदरमुकाममा प्रधानमन्त्रीको पुत्ला दहनको कार्यक्रम सम्पन्न हुन्छ। नेपालमा पटक पटक प्रतिगमन भयो । यसपालि पनि प्रतिगमन भयो,’ उनले भने ।

नेता कर्णले प्रधानमन्त्री ओलीको प्रतिगमनको आफूहरुले सख्त विरोध गरेको सुनाए। उनले थपे, ‘हामीले विरोध गरेका छौं । हुँदाहुँदै गैरसंवैधानिक तवरले संवैधानिक आयोगका नियुक्तहरु भए, र सपथग्रहण भए । कुनै संवैधानिक निकायमा कसैको नियुक्ती हुन्छ भने सर्वोच्च अदालतको न्यायाधीश, संवैधानिक निकायका प्रमुख र सदस्यहरु, राजदूतहरुको नियुक्ती भयो संविधानको धारा २९२ मा सुनुवाई पछि मात्रै नियुक्ती हुन्छ ।

अहिले ३८ जनाको नियुक्ती भएको छ। यो गैरसंवैधानिक छ ।’ उनले विगतमा सरकारहरुको स्थायित्वमा प्रश्न उठेकोले त्यस्तो घट्ना नहोस् भनेर नै ५ वर्ष सरकार चलाउने व्यवस्था संविधानमा व्यवस्था गरिएको उनले सुनाए। उनले भने, ‘संविधानमा नै यस्तो व्यवस्था हुँदाहुँदै पनि प्रतिनिधिसभा विघटन गर्ने काम भयो, यो कानूनविपरित । संविधानविपरित छ । लिगबाट हिँडको गाडी अब दुर्घटना हुने खतरा छ ।

अब यो दुर्घटना जोगाउन सर्वोच्च अदालतको क्रेन मात्रै बाँकी छ । अदालतको क्रेनले त्यो गाडीलाई ट्रयाकमा ल्याउनुपर्छ । लिग छोडेर हिँड्यो भने त्यो गाडी दुर्घटना हुन्छ । पार्टी, नागरिक समाज, मिडिया यसको विरोधमा लागेका छौं । संविधान जोगाउने काममा छौं । अधिकार कुण्ठित भएको छ। गाडीलाई ठिक ल्याएर चलाउने हामी सबैको दायित्व हो । जनताको अधिकार सुनिश्चित गराउनुपर्छ ।’

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले त अब फागुनको पहिलो हप्ताबाट प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलन हुन्छ भनेर घोषणा गर्नुभएको छ, तपाईहरुको के छ भनाई? भनेर सोधेको प्रश्नमा उनले भने, ‘हाम्रो पार्टीले संयुक्त आन्दोलन गरौं भनेर यसअघि नै भनेको थियो । अहिले संविधानविपरित काम भएको छ । यसको विरोधमा आन्दोलनमा जानुपर्छ भनेर हामीले भनेका हौं । संसद पूनःस्थापनको लागि सभामुखलाई आग्रह गरौं भन्ने पनि हाम्रो निर्णय थियो । सबै पार्टी मिलेर, एकसाथ आन्दोलन गर्नुपर्छ भनेका थियौं । त्यसो गरियो भने जनआन्दोलनमा परिणत हुन्छ ।’

संयुक्त आन्दोलन गर्नेबारे अहिले नेताहरु लागि राखेको सुनाए । तर, यसबारेमा अहिले कुनै निर्णय नभएको कर्णको भनाई छ। उनले भने, कुराकानी भैरहेको छ । तर, यो मितिदेखि, यो गतेदेखि आन्दोलन गर्ने भनेर भनेको छैन् । तर, फागुन पहिलो हप्तामा हुने कुरा प्रचण्डले भनेको कुरा छ । सबैसँग कुरा गर्नुभएको होला । म अन्दाज गर्छु ।’

उनले सभामुख अग्नि प्रसाद सापकोटा अदालत गएको विषयमा आफ्नो धारणा सकारात्मक रहेको सुनाए । उनले भने,‘सभामुख आफैं सर्वोच्च अदालतमा जाने कुरा, सभामुख पनि संविधानभित्रै बस्नुपर्छ। संविधानविपरित काम भयो भनेर उहाँ सर्वोच्च अदालत जानुभयो। गैरकानूनी रुपमा संवैधानिक नियुक्ती र सपथ भयो । यो गैरसंवैधानिक काम हो । कानूनले संविधान परिवर्तन हुँदैन् ।  बास्तवमा उहाँले सुनुवाईको लागि पठाईएको फाईल पनि फिर्ता गर्नुभयो । मुधा गर्ने उहाँको अधिकार हो । मैले यसलाई सकारात्मक ठानेको छु।’

प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?