२०८१ बैशाख ३१ गते सोमवार

डोल्पा प्रहरीको पिडाः छानोविहिन अपलत्र भवनमा पाल टाँगेर बास !

चिसोमा प्रहरी कसरी जोगाउने भन्ने डिएसपीको चिन्ता


रामचन्द्र न्यौपाने

डोल्पा । हिमाली जिल्ला डोल्पामा कार्यरत प्रहरीलाई छानोविहिन अलपत्र भवनमा प्रहरीलाई राखिएको पाईएको छ ।
सदरमुकाम दुनै स्थित जिल्ला प्रहरी कार्यालय डोल्पामै कार्यरत प्रहरी जवानहरुलाई छानोनै नभएको अलपत्र भवन भित्र पाल टाँगेर राखिएको हो ।
छानोविहिन अलपत्र भवन भित्र पनि पाल टाँगेर बस्नुपर्दा चिसो सँगै लामखुट्टेको टोकाई समेत सहनु परेको प्रहरी जवानले गुनासो गरे ।
“एक त न्युन तलबमा बस्नुपर्ने प्रहरीको जागिर,त्यसमा पनि दुर्गम हिमाली जिल्लामा बस्नुपर्ने,भएन भनेर अलपत्र भवन भित्र चिसोले काप्दै बस्नुपर्दा प्रहरीले कस्तो मानसिकताले काम गर्ला”एक प्रहरी जवानले गुनासो गरे ।
चुस्तदुरुस्त रुपमा सेवा प्रवाह गर्न सबै कुराको सेवा सुविधा दिएर मानसिक रुपमा तम्तयार बनाउनु पर्ने उनको बुझाई छ ।
कर्णाली प्रदेश सकारको आर्थिक सहयोगबाट बन्न लागेको भवनको दोस्रो किस्ता रकम निकास नभएपछि भवन निर्माणकार्य अलपत्र परेको हो ।
पहिलो किस्ता ५५ लाख रकम आए पनि त्यसपछि दोस्रो किस्ता रकम नआए पछि ठेकेदारले भवन निर्माणकार्य त्यतिकै छोडेको बताइएको छ ।
प्रदेश सरकारले दोस्रो किस्ता रकम नपठाउँदा ठेकेदारको करोडौँ रुपैयाँ समेत फसेको जिप्रका डोल्पाले जानकारी दिएको छ ।
“पहिलो किस्ता ५५ लाख रकम आयो,त्यसपछि रकम आएन,अहिले त्यही अधुरो भवन भित्र पाल र जस्तापातको सहायतामा प्रहरी राखेका छौँ”जिप्रका डोल्पाका प्रहरी नायव उपरिक्षणक नारायण रञ्जितकारले भने ।
जिप्रकामा कार्यरत १ सय ४ जना प्रहरी मध्ये ६० जनालाई दुई महिना देखि खुला अलपत्र भवन भित्र पाल र जस्तापाताको सहयोगमा राखिएको उनले बताए ।
“भवन नबन्दा प्रहरीलाई राख्न ठुलो समस्या भएको छ,हिमाली जिल्ला भएकाले कात्तिक देखि अत्याधिक चिसो सुरुहुन्छ,मंसिर देखि माघसम्म हिँउ पर्छ,यो समयमा झ्याल ढोका थुनेर बस्नुपर्छ,त्यसबेला चारैतीर खुला भवनमा कसरी प्रहरीलाई जोगाउने हो ठुलो चिन्ता छ” डिएसपी रञ्जितकारले थपे ।
सरकारी भवनमा प्रहरी
डोल्पामा प्रहरीको आफ्नै भवन नहुँदा समस्याहुने गरेको छ ।
जिल्लाभर जिप्रका सहित २६ वटा प्रहरी युनिट रहेकाछन् ।
त्यसमा १८ वटा प्रहरी युनिट बिद्यालय,स्वास्थ्य चौकी,खाद्यान्नको गोदाम,गाउँपालिका भनव,नागरिक उडड्यन लगाएतका सरकारी भवनको जोहो गरेर प्रहरी बसेको डिएसपी रञ्जितकारले बताए ।
उनका अनुसार २६ वटा युनिट मध्ये ४÷५ वटामा भाडा तिर्नुपर्छ,तीनवटा आफ्नै भनव छ,बाँकी सबै सरकारी भवन खोजेर प्रहरीलाई राखिएको छ ।
चिसो थेग्न नसकेर फर्किन्छ प्रहरी
डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा छ महिनामात्र प्रहरी बस्ने गरेको छ ।
सदरमुकाम दुनैबाट चैत्र अन्तिमतिर मात्र प्रहरी उपल्लो डोल्पा जाने र छ महिना बसेर असोज अन्तिममा फर्कने गरेको जिप्रका डोल्पाले जनाएको छ ।
उपल्लो डोल्पामा असोज देखि फाट्ट फुट्ट हिमपात सुरुभएर अत्याधिक चिसो बड्ने भएकाले चिसो थेग्न नसकेर प्रहरी फर्कने गरेको डिएसपी रञ्जितकारको भनाई छ ।
“उपल्लो डोल्पामा कतैपनि सुविधा सम्पन्न भवन छैन्,सामान्य ब्यवस्थापनले हिँउदको समयमा बस्न सकिँदैन्,प्रहरीका लागि खाने बस्ने ब्यवस्था सहितको सुविधायुक्त भनव भएमात्र बाह्रै महिना प्रहरी राख्न सकिन्छ”उनले भने ।
उपल्लो डोल्पामा चिन र नेपाल बिचको सिमाना पर्ने भएकाले पनि हरेक समय निगरानी राख्न राज्यको उपस्थिति हुनु आवाश्यक रहेको उनको बुझाई छ ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा काननु मन्त्रालयको सहयोगमा डोल्पाबुद्ध गाउँपालिकामा पर्ने धो मा सुविधा सम्पन्न भवनको शिलान्यास भएर काम सुरु भईसकेको बताइएको छ ।
सबै गरेर उपल्लो डोल्पामा ७ वटा प्रहरी युनिट रहेकाछन् ।
त्यसमध्ये छार्काताङ्सोङ् गाउँपालिकामा पर्ने कागकोट प्रहरी चौकी र शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने साल्दाङ्ग प्रहरी चौकी १२ महिनै बस्ने गर्दछन् ।
दुबै चौकीलाई स्थानीय तहले सहयोग गरेकाले बाह्रै महिना प्रहरी बस्ने गरेकोे हो ।

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?