
रामचन्द्र न्यौपाने,
डोल्पा २२ असार :हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका साक्षार नगरपालिका घोषणा भएको छ ।
शुक्रवार भव्य कार्यक्रमका बिच साक्षार नगरपालिका घोषणा गरिएको हो ।
नगरक्षेत्र भित्रका १५ देखि ५९ बर्ष उमेर समुहका ९५.१३ प्रतिशत जनसङ्ख्या साक्षार भएसँगै नगरपालिकालाई साक्षार घोषणा गरिएको नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख भिम बहादुर थापाले जानकारी दिए ।
साक्षार नगरपालिका घोषणा कार्यक्रममा बोल्दै नगरका प्रमुख प्रशासकिय अधिकृत जगदिशचन्द्र नेपालीले शिक्षा जीवनको नभइ नहुने आधार र भविश्य निर्माणको अस्त्र भएकाले शिक्षाको अवसर कसैले पनि गुमाउन नहुने बताए ।
नगरपालिमा शैक्षिक सुधारकालागि सबकौ सरसहयोग आवश्यक रहेको समेत उनले बताए ।
त्यसैगरि कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायले बिद्यालयमा पढाउनुमात्र शिक्षा नभइ शिक्षकले व्यवहारिक ज्ञान पनि दिनुपर्ने बताए ।
कार्यक्रममा नगरपालिकाका सम्पुर्ण सिकाइ केन्द्रका अध्यक्ष तथा कर्मचारीलाई प्रमाणपत्र खादा सहित सम्मान समेत गरिएको थियो ।
कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभाध्यक्ष तथा नगरप्रमुख जनचन्द्र रोकायले नगरपालिकाले नगर क्षेत्रका बेसहारा बालबालिकालाई शिक्षा पाउने ग्यारेन्टी गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
त्यसकालागि नगरपालिकाले बजेट समेत विनियोजन गरेको नगरप्रमुख रोकायले बताए ।
अब चाँडै जिल्ला घोषणकालागि अन्य स्थानीय तहहरु पनि पालिका घोषणातिर लाग्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा नगरपालिका भित्रका सम्पुर्ण बिद्यालयका प्रधानाध्यापक, शिक्षक,राजनितिक दलका नेतृत्व,नागरिक समाज,सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।
त्रिपुरा माध्यामिक बिद्यालय काटियाचौर,त्रिपुराकोट माध्यामिक बिद्यालय मद्धु लगायतका बिद्यालयमा अध्ययनरत बिद्यार्थिहरुले नृत्य,कबिता,गित लगायतका कला प्रस्तुत गरेका थिए ।