२०८० चैत्र १६ गते शुक्रवार

कर्णाली प्रदेश पर्यटन मन्त्रालयको बद्मासीःडोल्पा आएको योजना काटेर मुगु र जुम्लामा !



डोल्पा २५ जेठ : डोल्पाको विकासकालागि छुट्याइएको विकास बजेट काटेर मुगु र जुम्लामा लिइएको पाइएको छ ।
कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको बद्मासीका कारण डिभिजन वन कार्यालय डोल्पामा आएको विकास बजेट काटेर जुम्ला र मुगुमा लगिएको पाइएको हो ।
डोल्पाको पर्यटकिय नगरी फोक्सुण्डो ताल हुँदै मुगुको रारा तालसम्म पर्यटन पदमार्ग निर्माण गर्ने भन्दै जारी आर्थिक बर्षकालागि पैँताली लाखको योजना डिभिजन वन कार्यालय डोल्पामा आएको थियो ।
सोही बजेटबाट रारा राष्ट्रिय निकुञ्जमा मिलिचौर विश्रामस्थल निर्माण शिर्षकमा पच्चीस लाख र भट्टाडाँडी पहिरो नियन्त्रण शिर्षकमा भु–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लामा बीस लाख रकमका योजना पठाइएको छ ।
जारी आर्थिक बर्षमा काम सम्पन्न गर्ने गरि मन्त्रालयबाट फोक्सुण्डो रारा पर्यटन पदमार्ग निर्माण शिर्षकमा पैतालिस लाख बजेट आएपनि अहिले काटिएको डिभिजन वन कार्यालय डोल्पाका वन अधिकृत महेश कुमाइले जानकारी दिए ।
“मन्त्रालयबाट बजेट आएको साँचो हो,हामिले त्यहि अनुसार सम्बन्धित स्थानीय तह र वडालाई खबर पनि गरिएको हो,योजना सम्झौताकालागि उपभोक्ताहरु पनि आउनु भएको थियो,तर बजेटनै काटिएको पाइएपछि त्यसै फर्किनुभयो” कुमाइले भने ।
“पहिला कार्यालयको सिस्टममा आइसकेको योजना कसले काट्यो के गर्यो भन्ने केही थाहा छैन्,आफुले पनि केही महिना अगाडी बजेट काटिएको थाहा पाए” उनले थपे ।
यसरी एउटा जिल्लाको विकासकालागि आइसकेको बजेट काट्न नहुने उनको भनाई छ ।
यता शे–फोक्सुण्डो गाउँपालिकाका ८ का अध्यक्ष निमा गुरुङ्गले फोक्सुण्डो देखि रारासम्म पदमार्ग निर्माणकालागि जिल्लामै आइसकेको बजेट काट्दा दुख लागेको बताए ।
“कार्यालयबाट प्रविधिक आएर पनि नापजाँच भइसकेको थियो,सम्झौताकालागि वडाको शिफारिष सहित उपभोक्ता कार्यालयमा पनि पुगेकाहुन,तर अन्तिममा बजेट कटौटी भएको कार्यालयले बताएपछि उपभोक्ता त्यसै घर फर्किए”उनले भने ।
आन्तरिक तथा बाह्य पर्यटकलाई फोक्सुण्डो देखि शे–गुम्बासम्म पुग्ने बाटो जोखिमयुक्त भएकाले सोही बजेटबाट बिच बिचमा रेलिङ् बनाउने सल्लाह भएपनि बजेट नहुँदा समस्या भएको उनले बताए ।
कार्यालयमा आइसकेको बजेट अन्तिममा कसले के कसरी काट्यो कुनै जानकारी नपाएको उनको भनाई छ ।
यता कर्णाली प्रदेश सरकारका पुर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री तथा प्रदेश सभा सदस्य बिरवहादुर शाहीले एउटा जिल्लाको विकासकालागि गइसकेको बजेट काटेर अर्को ठाउँमा हाल्नु गलत भएको बताए ।
फोक्सुण्डोका स्थानीयको आग्रहमा बजेट पठाइएको हो,तर मुगुका पुर्व पर्यटन मन्त्री जित बहादुर मल्लले पैतालीस लाख काटेर आफ्नो गृह जिल्ला र जुम्लामा पठाएको आरोप लगाए ।
योजना सम्झौताकालागि फोक्सुण्डोबाट करिब दुई दिन लगाएर सम्झौता गर्न दुनै पुगेका उपभोक्ता रित्तै फर्किनु दुखत भएकाले मन्त्री,सांसद जसले भने पनि मन्त्रालयले यस्तो गलत काम गर्न नहुने उनको भनाई छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?