२०८० जेष्ठ १९ गते शुक्रवार

डोल्पाको फोक्सुण्डोमा जलवायु परिवर्तन न्युनिकरण सम्बन्धि अन्तर्क्रिया !



डोल्पा २२ बैशाख : डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका अन्तर्गत वडा नं ८ पर्ने फोक्सुण्डोमा जलवायु परिवर्तनको असर न्युनिकरण सम्बन्धि अन्तक्रिया कार्यक्रम गरिएको छ ।
शुक्रबार साथसाथै नेपालको आयोजनामा प्रतिनिधि सभाका उप सभामुख इन्दिरा राना मगर,पुर्व परराष्ट्र मन्त्री डा.बिमला राई पौढ्याल सवोच्च अदालतका न्यायधिस सपना प्रधान मल्ल,उच्च अदालत नेपालगञ्ज न्यायधिस वामदेब ज्ञवाली,प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत लगायतको उपस्थितिमा फोक्सुण्डोमा अन्तक्रिया कार्यक्रम गरिएको हो ।
नेपालमा जलवायु परिवर्तनको असर तीब्र रुपमा देखिरहेकाले न्युनिकरण गर्न प्रतिनिधिमुलक कार्यक्रमको रुपमा फोक्सुण्डोमा आयोजना गरिएको साथसाथै नेपालका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् ।
यस्ता कार्यक्रमहरु सातवटै प्रदेशमा भइरहेकाले सधै शहर बजार केन्द्रित कार्यक्रम गर्नु भन्दा पनि प्रभावित क्षेत्रमै उपयुक्त हुने उनको भनाई छ ।
“हिमाली जिल्लाहरुमा हिँउ पर्ने समयमा पर्दैन्,पुस माघमा पनि डाँडाकाँडा रित्तै देखिन्छ,पानी पर्ने समयमा पनि पर्दैन,पछिल्लो केही बर्ष यता जलवायु परिवर्तनका असर व्यापक रुपमा देखिएको छ” उनले भनिन ।
त्यतिमात्र नभई फोक्सुण्डो अत्यन्तै सुन्दर भएकाले लाखौँ आन्तरिक पर्यटक र बाह्य पर्यटक भित्रयाउन सकारात्मक सन्देस दिन पनि फोक्सुण्डो ताल नजिकै कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।
यो कार्यक्रम गत असोजमा नै तय भएपनि त्यो बेला भएको हिमपात र असिनाका कारण डोल्पामा कार्यक्रम गर्न नसकिएको उनको भनाई छ ।
डोल्पाका अधिकासं नागरिकलाई जलवायु परिवर्तन सम्बन्धि केही पनि जानकारी नभएको पाइएको उनले बताइन् ।
त्यसैगरि प्रतिनधि सभाका उप सभामुख इन्दिरा रानामगरले डोल्पा अत्यन्तै सुन्दर भएको बताइन् ।
“फोक्सुण्डो ताल नेपालको भर्जिन ठाउँ हो,त्यहाँ पुग्ने जो कोहीलाई पनि स्वर्गको अनुभुति हुन्छ,तर यसका प्रचार प्रचार विकास गुरुयोजना निर्माण नहुँदा ओझेलमा परेको छ ”उनले भनिन ।
आफु काठमाण्डौ फर्केपछि फोक्सुण्डो विकास र जलवायु परिवर्तनका बिषयमा सदन र सरकार दुबैको ध्यानाकर्षण गराउने र समेत उनले प्रतिवद्धता व्यक्त गरिन ।
आफु द्धन्दकालिम समयमा झण्डै एक महिना डोल्पाको भ्रमण गरेको उनले स्मरण गरिन ।
उक्त टोली नेपालगञ्जबाट नेपाली सेनाको हेलिकप्टरमा डोल्पा पुगेको थियो ।
प्रधानन्यायधिस सपना प्रधानमल्ल,पुर्व परराष्ट्र मन्त्री डा.बिमला राई पौढेल लगायतको टोली आजै फर्किएको छ भने प्रतिनिधि सभा उप सभामुख इन्दिरा राना मगर लगायतको टोली भोली मात्रै फर्किने बताइएको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धावासुम्डुक गुरुङ्ग लगायतका जनप्रतिनिधिहरुले फोक्सुण्डोको बृहत विकासको माग गर्दै ज्ञापनपत्र समेत बुझाएका थिए ।
यता डोल्पाका स्थानीयले हेलिकप्टरमा सरर आएर एक दुई घण्टा अन्र्तक्रिया कार्यक्रम गर्दैमा जलवायु परिवर्तन न्युनिकरण नहुने बताएकाछन् ।
यसकालागि सम्बन्धित ठाउँमा विभिन्न चरणबद्ध कार्यक्रम गरेर र सचेतनाका कार्यक्रम गरेरमात्र न्युनिकरण गर्न सकिने उनिहरुको भनाई छ ।
कार्यक्रमकालागि झण्डै बीस लाख रुपैया खर्च गरिएको साथसाथै नेपालले जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २२ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?