
डाेल्पा २१ बैशाख
हिमाली जिल्ला डोल्पामा छायांकन गरिएको चलचित्र ‘टुल्की’ १२ जेठमा प्रदर्शन हुने भएको छ ।
ग्रामीण क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र टुल्की १२ जेठमा प्रदर्शन हुने भएको हो ।
दुई बर्ष वर्ष अघि कोरोना कहरमा खिचिएको यस चलचित्र ढिला गरी मात्र प्रदर्शन हुन लागेको हो ।
‘द पाल्म ग्रुप’को ब्यानरमा निर्मित यस चलचित्रमा बहुपति प्रथासँगै हिमाली जीवनशैली, रहनसहनलगायतका विषयहरू पनि चलचित्रमार्फत उजागर गरिएको निर्माता शेखर लामाले जानकारी दिए ।
देवजंग थापाले निर्देशन तथा छायांकन गरेको यस चलचित्रको निर्माण भने आरपी कर्माचार्य र शेखर लामाले गरेका हुन् ।
यस चलचित्रमा वरिष्ठ कलाकार शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने, हिमाली न्यौपानेलगायतका कलाकारको अभिनय रहेको छ ।
यस चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् । चार वर्षको अनुसन्धानपछि चलचित्र निर्माण गरिएको र झन्डै एक करोड खर्च भएको निर्माण पक्षले जनाएको छ ।