
रामचन्द्र न्याैपाने,
डाेल्पा ८ बैशाख। तत्कालीन सेनाकाे भिडन्तबाट बचेकी उर्मिला विश्वकर्मा कर्णाली प्रदेशको मन्त्रिपरिषदमा महिला र दलित समुदायबाट प्रतिनिधित्व गर्ने एकल पात्र हुन् । माओवादी प्रदेशसभा सदस्य उर्मिला विकलाई यस अघि भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्रीको जिम्मेवारी दिइएको थियाे । विहीवार भएकाे प्रदेशसभाकाे विस्तारमा जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएकी छन् । कर्णाली क्यावीनेटकि एक्लाे महिला मन्त्री विश्वकर्मा डोल्पाबाट समानुपातिक तर्फ प्रदेशसभा सदस्य बनेकि हुन्।
यस्तो छ राजनितिक जिवन
२०५१ सालमा माओवादीको विद्यार्थी फाँटबाट राजनीतिमा आएकी उर्मिला समानुपातिकको दलित महिला कोटाबाट प्रदेशसभा सदस्य बनेकी हुन् । २८ वर्ष कम्युनिस्ट आन्दोलन र उत्पीडन विरोधी संघर्ष गरेकी उनी भन्छिन्, ‘हिजो विभेदकारी राज्यविरुद्ध लड्न यही पार्टीले सिकायो । आज कता–कता उसैले उत्पीडित वर्गलाई न्याय गर्न नसकेको महसुस भएको छ ।’ यद्यपि पार्टीको समस्या भन्दै चित्त बुझाएकी छन् । माओवादीको सशस्त्र द्वन्द्वका बेला पटक–पटक ‘मरेर बाँचेको’ बताउँछिन् उनी । शरीरमा अझै गोलीका छर्रा बोकेर हिँडिरहेको बताउने राज्यमन्त्री उर्मिला भन्छिन्, ‘६ महिनाको दूधे बच्चा च्यापेर भूमिगत भएँ । त्यसपछिका दिनमा निकै दर्दनाक संघर्ष गरियो ।’
दुधेबालक च्यापेर जनयुद्धमा
नेताहरुले पार्टीले सरकार बनाउन पाएको अवस्थामा सामाजिक विकासमन्त्री बनाउन आश्वासन दिएका थिए । तर बनायो भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री, त्यो पनि क्याबिनेट समावेशी बनाउनैपर्ने भएपछि । ४४ वर्षअघि रुकुम पश्चिम, आठबिसकोटको स्यालाखदीमा जन्मिएकी उर्मिला विकको विवाह सानै उमेरमा डोल्पाको त्रिपुरासुन्दरीमा भयो । श्रीमान् रामलाल विश्वकर्मा स्थायी शिक्षक थिए । विवाहपछि उनी जुफालको आदर्श माविमा पढ्न थालिन् ।
शिक्षण पेशा छाडेर माओवादीमा लागेकी सत्या पहाडी २०५१ सालमा जुफाल आइपुगिन् । आदर्श माविमा उर्मिला नै संयोजक रहेको १३ सदस्यी विद्यार्थी संगठन बन्यो । क्रान्तिकारी विद्यार्थी संगठनको संयोजक बनेपछि उनले माओवादी को हुन् भनेर सोधखोज गर्न थालिन् । ‘उनीहरु धनी र गरीबबीचको खाडल पुर्न लडिरहेको थाहा पाएँ,’ उनी भन्छिन् ।थालिन् । ‘उनीहरु धनी र गरीबबीचको खाडल पुर्न लडिरहेको थाहा पाएँ,’ उनी भन्छिन् ।
अब संगठनमा उनको सक्रियता बढ्न थाल्यो । विद्यालयमा राजनीतिक–सांस्कृतिक कार्यक्रमहरु हुन थाले । ०५४ मा उनका श्रीमान् रामलाल विश्वकर्मा जागिर छाडेर भूमिगत भए ।‘त्यसपछि प्रहरीले कहिले राति २ बजे उठाएर केरकार गर्ने, कहिले माओवादी पालेको भन्दै हिरासतमा राख्ने, यातना दिने, तारिख बोकाउने गर्न थाल्यो’, उनी भन्छिन्, ‘छोरा ६ महिनाको मात्र थियो । सरकारको दमन असह्य भएपछि आफू पनि भूमिगत भएँ ।’
उर्मिलालाई पार्टीले २०५६ मा सदस्यता दियो । पार्टीले ०५७ असोज ६ गते डोल्पा जिल्ला सदरमुकामा दुनै बजार कब्जा ग¥यो । माओवादीले सदरमुकाम कब्जा गरेको त्यो नै पहिलो घटना थियो ।
‘आँधीहुरीले भरिएका दिन थिए ती । आज एउटा गाउँमा बास हुन्थ्यो, भोलि अर्को गाउँमा । कैयौं रात ओडारमा बिते । भोकभोकै थुप्रै पहाड छिचोल्यौं,’ उर्मिला भन्छिन्, ‘त्यो बेला एउटा छुट्टै जोश, जाँगर र सपना थियो । डोल्पापछि जाजरकोट उपव्यूरोमा पार्टीको काम गर्न थालेँ ।’
त्यतिबेला जाजरकोट, डोल्पा र रुकुम जिल्ला उपव्यूरोमा गनिन्थ्यो । जिल्लाभरका मानिसलाई माओवादी आन्दोलनको उद्देश्य बुझाउँदै सदस्य बनाउने जिम्मेवारी थियो उनको । उनी माओवादीको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) डोल्पा जिल्ला सदस्य, सचिव हुँदै अध्यक्ष बनिन् ।
माझफाल भिडन्त
डोल्पाको माझफालमा ‘नयाँ छलाङ्ग’ नामक अभियान चलेको थियो । गाउँ–गाउँ गएर जनतालाई प्रशिक्षण (जनयुद्धबारे बुझाउने, सांस्कृतिक कार्यक्रम गर्ने) दिन पर्थ्यो । ६ भदौ २०५८ को साँझ उर्मिलाको समूह साँस्कृतिक कार्यक्रम गर्न दुनैबाट माझफाल गयो । ‘कार्यक्रम स्थलमा हाम्रो सेनाले पहरा दिइरहको थियो, तर भदौरे झरी र बाक्लो कुहिरोमा केही देखिएनछ’, संघर्षका दिन सम्झिँदै उनी भन्छिन्, ‘शाही सेनाले सी आकारमा हामीलाई घेरिसकेको पत्तै भएन । उनीहरुले अकस्मात गोली चलाएपछि भागाभाग भयो ।’
उर्मिला पनि अन्दाधुन्द भागिन् । उकालो भाग्दै गर्दा अलि माथि पुगेपछि पछाडीबाट परर गोली चल्यो । उनको पछिपछि आइरहेकी साथी ढलिन् । उनको पनि बायाँ खुट्टाको माथिल्लो भागमा गोली लाग्यो । भाग्दै ओडारमा पुगेर ढलिन् । ‘पछि साथीहरुले भेट्दा मेरो धेरै रगत बगिसकेको थियो, तैपनि उपचार गरेर बचाए’ उनले सुनाइन् । माझफालमा ८ जना माओवादी कार्यकर्ताले ज्यान गुमाए । उर्मिलासहित ४ जना घाइते भए भने ५ जना पक्राउ परे ।