२०८० चैत्र १६ गते शुक्रवार

डोल्पाबाट ७८ क्विन्टल फोहोर काठमाडौँ पठाइयो



पूर्ण सार्की

डोल्पा डोल्पाका पाटनहरुमा यार्सागुम्बा संकलनका क्रममा फालिने प्लाष्टिक, सिसा, कपडा तथा विभिन्न पेय पदार्थलगायतबाट जम्मा हुने फोहोरका कारण विभिन्न समस्याहरु उत्पन्न हुन थालेकाे छ।

डाेल्पा देशकै सबैभन्दा गुणस्तरीय तथा ठुलाे परिणाममा यार्सागुम्बा पाइने जिल्ला भए पनि करिब एक हजार पाटनहरुमा फाेहाेर भरिएपछि यार्सागुम्बा लाेप हुन थालेकाे शे-फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जले जनाएकाे छ। डोल्पाली जनताको आम्दानीको मुख्य स्राेतका रुपमा रहेको यार्सागुम्बा कुनै बेला एकदिनमा चार/पाँच हजारकाे परिणाममा पाइने भए पनि अहिले भुइँपत्ताल लगाएर खोज्दा पनि दिनमा चार/पाँच वटा पनि भेटाउन मुस्किल हुन थालेकाे व्यापारीहरुकाे भनाइ छ।

त्यति मात्रै नभएर पर्यटकीय नगरीको रुपमा रहेको डोल्पाका पाटनमा फोहोर बढेपछि वातावरणीय प्रदुषणसमेत बढेर हिमाली घाँस उत्पादनमा पनि कम हुनुका साथै हिमाली नावर, झारल, घोरल, कस्तुरीजस्ता संरक्षित जनावरहरु आहाराको अभावमा लोप हुने खतरा बढेको निकुञ्जको भनाइ छ।

 

जिल्लाबासीको आर्थिक स्राेतसँग जोडिएको यार्सागुम्बा लोप हुन थालेपछि अहिले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, विश्व वन्यजन्तु कोष, मध्यवर्ती समिति, आमा समूह र स्थानीय सरकार संरक्षणमा जुटेका छन्।

 

पाटनबाट ७८ क्विन्टल फोहोर जम्मा

 

जिल्लाको त्रिपुरासुन्दरी र ठुलीभेरी नगरपालिकाका एक दर्जन यार्सागुम्बा पाटनका २० प्रतिशत क्षेत्रबाट मात्रै ७८ क्विन्टर फोहोर जम्मा गरिएकाे छ।

 

वर्षेनी जम्मा भइरहेको फोहोरले जिल्लाको आर्थिक, सामाजिक, वातावरणीय र पर्यटकीय क्षेत्रलाई गम्भीर असर पारेपछि अघिल्लो आर्थिक वर्षदेखि अभियान नै चलाएर फोहोर जम्मा गर्न थालिएको विश्व वन्यजन्तु कोष डोल्पाका प्रतिनिधि चन्द्रजंग हमालले जानकारी दिए। जिल्लाबासीको आयस्रोतसँग जोडिएको यार्सागुम्बा लोप हुन थालेपछि वातावरणीय क्षेत्रमा काम गर्ने संघ संस्थाका लागि सोचनीय विषय भएको हमालकाे भनाइ छ।

 

‘जिल्लाबासीको आयस्रोत मात्रै कम भएको छैन्, वातावरणीय प्रदुषण उत्तिकै बढृको छ। फोहोरका कारण हिमाली पारिस्थितिकीय प्रणालीमा समेत असर पर्न थालेको छ। समयमा पानी र हिउँ पर्दैन, निकुञ्ज भित्रका संरक्षित वन्यजन्तुहरुलाई आहाराको अभावसमेत हुन थालेको छ,’ हमालले भने, ‘डोल्पा सुन्दर पर्यटकीय जिल्ला हो, देश तथा विदेशबाट पर्यटक घुम्न आउँछन्। हाम्रा पाटनमा फोहोर भरिभराउ छ, उनीहरुबाट पक्कै पनि सकारात्मक सन्देश जाँदैन। त्यसको असर समग्र देशको अर्थतन्त्रमा समेत पर्दछ। त्यसकारण पनि समयमै फोहोर व्यवस्थापन गर्न जरुरी छ।’

 

उनकाअनुसार सकारात्मक सन्देश प्रवाह गर्नकाे लागि अघिल्लाे आर्थिक वर्षमा जम्मा गरिएकाे ७८ क्विन्टल फाेहाेर जम्मा गरेर बिहीबार मालवाहक ट्रकमा राखेर काठमाडाैँ पठाइएकाे छ। भक्तपुरस्थित डाेकाे रिसाइक्लर्ससँग सम्झाैता गरेर साे परिणामकाे फाेहाेर प्रशाेधनकाे लागि काठमाडाैँ पठाइएकाे हाे।

 

हमालका अनुसार आ.व. ०७८/७९ को जेठ, असार र साउनमा जम्मा भएको फोहोर पाटनबाट झारेर काठमाडाैँ पठाइएकाे छ। विश्वभर जलवायु परिवर्तनको असर बढिरहेकाे बेला राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सबैलाई चासोको विषय होस् भनेर फाेहाेर काठमाडाैँ पठाइएको हो।

 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत लाल भण्डारीका अनुसार जिल्लाका यार्सागुम्बा पाटनहरु केही वर्षयता फोहोरले भरिभराउ हुन थालेका हुन्। ‘हिँउले सेताम्यहुनु पर्ने पाटन फोहोरले भरिएपछि यार्सागुम्बाको उत्पादन पनि घटेको छ। सरकारी राजश्वसमेत कम उठ्न थालेको छ। यसले जनता र सरकार दुबै मारमा छन्,’ उनले भने।

 

उनकाअनुसार देशभर सकारात्मक सन्देश प्रवाह गर्न विभिन्न गाउँका स्थानीय आमा समूहका महिलाहरुलाई नै स्वतस्फुर्त रुपमा नेतृत्व गराइ फोहोर जम्मा गराइएको थियाे। यसका लागि उनीहरुलाई बोलाएर तालिमसमेत दिइएकाे थियाे। ‘स्थानीय महिलालाई फोहोर संकलनको नेतृत्व गराउनुको मुख्य कारण घरायासीसँगै वातावरणीय फोहोर व्यवस्थापनमा समेत सचेत रहुन भन्ने हो,’ उनले भने।

 

अभियानकाे मुख्य नेतृत्व निकुञ्जले गरे पनि आर्थिक तथा प्राविधिक सहयोग विश्व वन्यजन्तु कोषको गरेकाे हो। अभियानका लागि जम्मा ४ लाख बजेट छुट्याएको थियाे।

 

यो अभियानलाई प्रत्येक वर्ष गर्न अत्यावश्यक भएकाले जिल्लास्थित स्थानीय तह लगायतका सरोकारलावाला निकायसँग छलफल भइरहेको प्रमुख संरक्षण अधिकृत भण्डारीले बताए।

 

नगरपालिकाको पनि चासो

 

पाटनहरुमा जम्मा भएको फोहोर व्यवस्थापनाका लागि शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले उठाएको कदममा त्रिपुरासुन्दरी नगरपालिकाले पनि चासो दिएको छ।

 

नगर क्षेत्रका जनताको आयस्तरसँग जोडियो यार्सागुम्बा पछिल्लो समय लोप हुन थालेपछि जनतामा आर्थिक संकट आएको नगरपालिकाले जनाएको छ।

 

पाटनको फोहोर व्यवस्थापन गर्ने निकुञ्जको अभियान अत्यन्तै प्रशंसनीय भएकाले यो महाअभियानमा नगरपालिकाको तर्फबाट हुने सम्पूर्ण सहयोग गर्ने नगर प्रमुख जनचन्द्र रोकायले बताए। ‘वि.सं. २०४० सालतीर एकै दिनमा चार धान्नीसम्म यार्सा पाइन्थ्यो, अहिले दिनमा एउटा पनि पाउन मुस्किल छ। यसकाे एउटा मुख्य कारण पाटनमा बढेको फोहोर हो,’ उनले भने।

 

साे समस्या समाधानकाे लागि निकुञ्जले चलाएकाे अभियानमा नगरपलिकाले आर्थिक, भौतिक, नैतिक सबै सहयोग गर्ने। र, अब आउने सिजनदेखि यार्सा संकलकले यार्सा पाटनमा लैजाने प्लाष्टिक, पेय पदार्थका बोतललगायतका फोहोरहरु घर फर्कदा आफैं फिर्ता ल्याउने नियम बनाउने उनले प्रतिबद्धता जनाए। फाेहाेर फिर्ता ल्याउनेलाई पुरस्कारकाे व्यवस्था समेत गर्ने उनले बताए।

 

जुनसुकै क्षेत्र र ठाउँमा हुने फोहोरले जनजीविकामा समेत असर गर्ने भएकाले नगरपालिका पनि दिगो व्यवस्थापनमा लागि रहेको उनले बताए।

 

जीवनयापनमा समस्या

 

३ हजार ५ सयदेखि ५ हजार मिटरसम्मका हिमाली भेगहरुमा यार्सागुम्बा पाइने गर्दछ। पछिल्लो ४ देखि ५ वर्षयता पचासौँ हजार खर्च गरेर ज्यानको बाजी थापेर पाटन पुग्दा समेत खर्च पनि नउठ्ने भएपछि डोल्पालीलाई जीवनयापनमा समस्या भएको छ।

 

जिल्लामा आम्दानीको मुख्य स्राेत यार्सागुम्बा लोप हुन थालेपछि आयस्रोतकाे खोजीमा युवाहरु विदेशिन थालेका छन्।

 

‘डोल्पालीको आयस्रोत नै यार्सा हो। केही वर्षयता पाटनमा यार्सा पाइनै छोड्यो, वर्षमा मुस्किलले ५ हजार आम्दानी गर्न पनि सकिँदैन्। पहिला एउटै परिवारले एउटा यार्सा सिजनमा एक महिनामा पाँचदेखि दश लाखसम्म कमाइ गर्थे, अहिले कतिपय सर्वसाधारणलाई बिहान बेलुकी छाक टार्नै मुस्किल छ,’ ठुलीभेरीका स्थानीय अमर कठायतले भने,‘डोल्पामा बलौटे माटो भएकाले उत्पादन नगन्य मात्रा हुन्छ। वर्षभरि गरेको दुखले तीन महिना राम्रोसँग खान पुग्दैन्, बजारबाट किनेर खानलाई पैसा हुँदैन।’

 

यार्सागुम्बा नपाइनुको मार उपल्लो डोल्पामा झन धेरै परेको छ। उत्पादनका नामा आलु, फापर, उवा मात्र हुने भएकाले पनि प्रत्येक वर्ष नुन, चामल र तेलको अभाव हुने गर्दछ।

जिल्लाका १५ वटा आमा समूहको अगुवाइ तथा मध्यवर्ती क्षेत्र समितिहरुको सहयोगमा सकारात्मक सन्देश दिन ठुलो परिमाणमा फोहोर उठाइएको महिला सामुदायिक सेवा समाजका अध्यक्ष दिलमाया बिष्टले बताइन्।

यो अभियानका लागि करिब ५ सय महिला परिचालन गरिएको उनले बताइन्। वातावरणीय सन्तुलनका लागि प्रत्येक वर्ष यस्ता कार्यक्रमहरु सञ्चालन भइरहनुपर्ने बिष्टको भनाइ छ।

 

.

प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?