
नेपाल ब्रेक संवाददाता डोल्पा ।
हिमाली जिल्ला डोल्पाको दुनैमा सुविधा सम्पन्न रंगशाला बन्ने भएको छ।
ठुलिभेरी नगरपालिकाअन्तर्गत पर्ने दुनैमा शहरी विकास मन्त्रालयको सात करोड पचास लाख सहयोगमा सुविधा सम्पन्न रंगशाला बन्ने भएको हो।
जिल्लाभरीका युवाहरुको खेलप्रतिको रुचीलाई मध्येनजर राख्दै दुनैमा रंगशाला बनाउन लागिएको नगर प्रमुख सुवर्ण बुढाले जानकारी दिए।
स्वास्थ्यका लागि महत्वपूर्ण मानिने खेलका विभिन्न विधामा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादनका लागि सुविधायुक्त जिल्लामा रंगशाला अत्यावश्यक रहेको उनको भनाइ छ।
लामो प्रयासबाट रंगशाला निर्माणकालागि बजेट पार्न सफल भएको बताउँदै यसको डिपिआर भएर पनि टेण्डर खुलिसकेको उनले बताए।
सदरमुकाम दुनै ठुलिभेरी नगरपालिकामा पर्ने भएपनि समग्र डोल्पाली युवाहरुको आवश्यकतालाई ध्यानमा राखी रंगशाला निर्माण हुन लागेको बताइएको छ।
कसरी हुन्छ समृद्ध नगरपालिका निर्माण गर्ने आफ्नो प्रमुख दायित्व भएकाले व्यक्तिगत भन्दा पनि सामूहिक विकास निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने नगर प्रमुख बुढाको भनाई छ।
निवार्चित भएको छोटो समयै करोडौँ बजेटको रंगशाला निर्माण गर्न लागेको भन्दै डोल्पाली युवाहरुले नगर प्रमुख बुढालाई धन्यवादसमेत दिएकाछन्।
फोटो: टेक शाही