
जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत पर्ने तल्लुबगरमा राखिएको होमपाइपको पुलमा भएको सिण्डिकेट हटाइएको छ ।बिहीबार नयाँ पत्रिकामा पुलमा पनि सिण्डिकेट,डोल्पालाई रोक रुकुमतिर खुला शीर्षकमा समाचार प्रकाशित भएपछि पुलमा लगाइएको सिण्डिकेट हटाइएको हो ।
डोल्पा,रुकुम पश्चिम र जाजरकोटको प्रहरी प्रशासनले समन्वय गरेर सिधै नेपालगञ्जदेखि आउने यात्रुवाहक बस,मालवाहक गाडीलाई होमपाइप राखेर बनाइएको पुलबाट आवतजावत गर्ने व्यवस्था मिलाएको हो ।
सडक डिभिजन चौहरजहारीसँग समन्वय गरेर नेपालगञ्जदेखि सिधा विकास निर्माण सामाग्री ढुवानी गर्न बनाइएको उक्त पुलमा स्थानीय कामदार र जग्गाधनी मिलेर डोल्पा आउने मालवाहक गाडी लगायतका सवारीसाधन आवागमन गर्न रोक लगाइएको थियो ।
आजका दिनदेखि डोल्पा जाने सवारीसाधनलाई कुनै पनि रोकावट नभएको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरेले जानकारी दिए । स्थानीय कामदार जग्गाधनीले अवरोध गर्न खोज्दा समस्या भएपनि अब भने कुनै रोकावट नहुने र काठमाडौं नेपालगञ्ज लगायतका जुनसुकै जिल्लाबाट सिधै सवारीसाधन डोल्पापुग्ने व्यवस्था मिलाइएको उनले बताए।
‘रुकुम पश्चिम र जाजरकोटले पुलका दुबैतीर प्रहरी गस्ती खटाएको छ,अब यायायात तथा ढुवानी व्यवसायिले ढुक्कसँग गाडी लैजादाँहुन्छ,यदि त्यहाँ मेरो प्रहरीले पनि सहजिकरण गरेन भने सिधा मलाई फोन गर्नु प्रजिअ’ घिमिरेले भने । दुई जिल्लाको प्रहरीको टोलीले होमपाइपको पुलको दुबैतीर तारबार लगाएर बारेको तारजाली र ताला हिजोनै हटाएको नलगाड नगरपालिका १२ का सचिव रामप्रसाद शर्माले जानकारी दिए ।
आजबाट दुबै जिल्लाका प्रहरीले गस्ती गरिरहेको र सवारीसाधनहरु पुलबाटै पास भइरहेको उनले जानकारी दिए ।नेपालगञ्जदेखि सिधै डोल्पा गाडी आउँदा यात्रु तथा ढुवानी भाडादर समेत घट्ने भएको छ ।