२०८० चैत्र १६ गते शुक्रवार

शेखरको यस्तो खतरनाक मास्टरप्लानसहित देउवाको शानदार जित !



कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले अपेक्षा गरिए भन्दा निकै कम मत प्राप्त गरेका छन् । ३१ जना सांसद गगनको पक्षमा खुलेर लागेको र ३५ मत ल्याउन सक्ने आकलन कांग्रेस नेताहरूले गरे पनि गगनले जम्मा २५ मत पाए ।

 

अर्कातर्फ पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा ६४ मत पर्‍यो । कांग्रेसका ८९ सांसद छन् । यससँगै सभापति देउवा संसदीय दलको नेताका रूपमा दोहोरिएका छन् । अब सरकार गठनको प्रक्रिया शुरू हुनेछ ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले १० गतेसम्मको समय दिएर सरकार गठनका लागि आह्वान गरिसकेकी छन् । मैदानमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा भिडेका थिए । यसलाई हजुरबा र नाति पुस्ताबीचको प्रतिस्पर्धाका रुपमा पनि अर्थ्याइएको छ ।

 

हुन पनि संसदीय दलको नेताका लागि ७६ वर्षीय देउवा र ४६ वर्षीय थापा आमनेसामने भएका छन् । संसदीय दलमा यसअघि समकालीन नेताहरूबीच प्रतिस्पर्धा हुँदै आएको थियो । २०७४ मा देउवाविरुद्ध प्रकाशमान सिंह उभिएका थिए । त्यतिखेर देउवाले ४४ र सिंहले १९ मत पाएका थिए । थापा सिंहको पक्षमा थिए ।

 

२०७० मा सुशील कोइरालाविरुद्ध देउवाले उम्मेदवारी दिएका थिए । १ सय ९४ मत खसेकामा कोइरालाका पक्षमा १ सय ५ र देउवाका पक्षमा ८९ मत खसेको थियो । २०६४ मा देउवा र रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुँदा पौडेलले बाजी मारेका थिए । तर पौडेल प्रधानमन्त्री बन्न पाएनन् । प्रधानमन्त्रीका लागि मतदान हुँदा उनी १७ पटकसम्म पराजित भएका थिए ।

 

२०५६ मा कृष्णप्रसाद भट्टराई, २०५१ मा देउवा र २०४८ मा गिरिजाप्रसाद कोइराला सर्वसम्मत भएका थिए । २०४८ सालमा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराई र नेता गणेशमान सिंहको प्रस्ताव र समर्थनमा गिरिजाप्रसाद नै दलको नेता भएका थिए ।यतिखेर रामचन्द्र पौडेल, प्रकाशमान सिंहजस्ता विगतका प्रतिस्पर्धी अहिले देउवाको पक्षमा उभिएका छन् । अर्थात् उनीहरूले आफ्नो पुस्तालाई समर्थन गरेका छन् । यस्तै विमलेन्द्र निधि र सशांक कोइरालालगायतको साथ पनि देउवालाई नै छ । गत महाधिवेशनमा सुरुमा देउवाको विरोधमा रहेर पछि उनैलाई समर्थन गर्न पुगेका नेताहरु अहिले निःसर्त देउवा खेमामा उभिएका छन् ।

 

थापाको पक्षमा विश्वप्रकाश शर्मा, धनराज गुरूङ, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेललगायत छन् । शेखर कोइरालाले अन्तिम समयमा यिनै युवाको दबाबपछि दाबी फिर्ता लिएको भनिएको छ । तर यथार्थमा शेखरले थापालाई समर्थन गर्नका लागि यो निर्णय लिएका होइनन् । उनी पछि हट्नुको मूल कारण अर्कै छ । त्यो हो, हार्ने चुनावमा गगनलाई अघि सारेर रहर पूरा गरिदिनु र आफूप्रति कृतज्ञ बनाइराख्नु ।

 

संसदीय दलमा देउवाको पल्लाभारी छ भन्नका लागि कुनै गणितज्ञ वा ज्योतिषी आवश्यक पर्दैन । कोइराला परिवारबाट कुनै दाबी नपर्नु नै देउवाको जित सुनिश्चित हुनु हो । शेखरले पनि आफू नजित्ने भएपछि देउवाकै निम्ति मैदान खाली गरिदिएका हुन् । यो किन पनि आवश्यक थियो भने सुरुमा देउवाकै उक्साहटमा थापाले शेखरलाई रोक्ने योजना बनाए । अहिले थापालाई लडाउन शेखरले दाबी छाडिदिए । गगन थापाको रहर पनि पूरा हुने र चुरीफुरी पनि समाप्त हुने गरी शेखरले गगनलाई संसदीय दलको नेताको निर्वाचनमा अघि सारेका छन् ।

 

यति भइसकेपछि अब शेखरको खास लक्ष्य संसदीय दलको नेतामा गगनलाई हराउनु हो । यसका लागि उनी आफ्नो खेमाका केही सांसदलाई देउवाका पक्षमा मत दिन लगाउन पनि पछि पर्ने छैनन् । सोमबार साँझसम्म देउवाका पक्षमा ५७ र गगनका पक्षमा ३२ सांसद देखिएका थिए । मंगलबार गगनसँग तस्बिर खिचाउने प्रतिस्पर्धा नै चल्यो ।

 

खासगरी बूढाको पक्षमा लागेको भनेर सार्वजनिकरुपमै विरोध र बेइज्जती खेप्नुपर्ने भयले पनि प्रदीप पौडेल, बद्री पाण्डे, दीपक गिरीलगायत गगनसँग फोटो खिचाउन पुगेका थिए । अब रातिभरिमा धेरै विकास भइसकेको छ । सार कुरा के हो भने गगनको पक्षमा हिजोसम्म जो धेरै चर्को स्वरमा बोलेका थिए र जसले उनीसँग तस्बिर खिचाउने होड देखाएका थिए, तीमध्ये धेरैको यो बाहिर सार्वजनिक खपतको रणनीति मात्र थियो । भित्रभित्रै उनीहरूको कुरा देउवासँग मिलिसकेको थियो । जे होस्, यस संसदीय निर्वाचनले कांग्रेसभित्रको भावी राजनीतिक समीकरणलाई थप रोचक आयाममा ढालिदिने भएको छ ।

 

प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?