२०८० चैत्र १६ गते शुक्रवार

अन्ततः मेस्सी काे सपना पुरा!



 

आजको फाइनल खेलअघि सात पटकका बालोन डि’ओर विजेता लियोनेल मेस्सी आफ्नो फुटबल करियरमा कयौँ उपाधिहरू जितेका थिए । तर, पेले र म्याराडोनासँगै राखेर ‘अहिलेसम्मकै महान् खेलाडी को ?’ भन्ने प्रश्न आउँदा सधैँभरि उनीमाथि एउटै प्रश्न सोझिन्थ्यो – मेस्सीले अर्जेन्टिनालाई विश्व फुटबलको सर्वोच्च उपाधि दिलाएको खै ? आज मेस्सीले सो प्रश्नको उत्तर पनि दिएका छन् ।

यसअघि सन् २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपमा पनि मेस्सीले अर्जेन्टिनालाई विश्वकपको उपाधि नजिकसम्म पुर्‍याएका थिए । तर, फाइनल खेलमा अर्जेन्टिना जर्मनीसँग स्तब्ध हुन पुग्यो । मारियो गोट्जेले अतिरिक्त समयमा गोल गरेपछि मेस्सीको सपना अधुरै रहेको थियो ।

आजको फाइनल खेलमा मेस्सीले एक पछि अर्को कीर्तिमान बनाएका छन् । खेल सुरु भएसँगै विश्वकपमा सबैभन्दा खेल खेल्ने खेलाडीको कीर्तिमान उनको नाममा बनिसकेको थियो । उनले जर्मनी लोथर माथेयसको २५ खेलको कीर्तिमान भङ्ग गरे ।

त्यसपछि लुसेल स्टेडियममा खेलको २३ औँ मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्को कीर्तिमान बनाए । एउटै विश्वकपको हरेक नकआउट चरणमा गोल गर्ने उनी पहिलो खेलाडी बने । यति मात्र होइन समूह चरणदेखि विश्वकपको हरेक चरणमा गोल गर्ने पनि उनी एक्लो खेलाडी हुन् । ३६ औँ मिनेटमा एंखेल डि मारियाले अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । पहिलो हाफमा फ्रान्स अर्जेन्टिनाको तीव्र गतिको खेल र दबाब सामु निरीह देखिएको थियो ।

तर दोस्रो हाफमा दुई मिनेटको अन्तरमा किलियान एम्बाप्पेले दुई गोल गरेपछि फ्रान्स खेलमा फर्कियो । निर्धारित ९० मिनेटमा बराबरी भए पछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा १०८ औँ मिनेटमा मेस्सीले पुनः अर्जेन्टिनालाई अग्रता दिलाए पनि एम्बाप्पेले पेनाल्टीमार्फत ह्याट्रिक गर्दै खेल ३–३ को बराबरीमा पुर्‍याएका थिए । त्यसपछि कुनै गोल हुन सकेन र खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा फ्रान्सका किंग्सले कोम्यान र औरेलियन टुअमानी गोल गर्न चुकेपछि खेल अर्जेन्टिनाले ४–२ ले आफ्नो पक्षमा पार्न सफल रह्यो ।

 

फ्रान्समाथिको जीतसँगै अर्जेन्टिनाले तेस्रो पटक उपाधि जित्न सफल भएको छ । सन् १९८६ पछि अर्जेन्टिनाको यो पहिलो विश्वकपको उपाधि हो । त्यतिबेला अर्जेन्टिनाले महान् खेलाडी म्याराडोनाको नेतृत्वमा विश्वकपको उपाधि जितेको थियो । त्यो भन्दा अघि सन् १९७८ मा अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको थियो ।

रातोपाटी

प्रकाशित मिति : २०७९ पुष ४ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?