२०८१ बैशाख ६ गते बिहिवार

ज्यानको बाजी लगाउँदै छ घण्टा पैदल हिडेर भाेट हाल्न जानुपर्छ !

बृद्धाबृद्ध अघिल्लो दिनमै जान्छन्


रामचन्द्र न्यौपाने,
डोल्पा ३ मंसिर / डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका वडा नं ८ का मतदातालाइ भोटहाल्न जाँदा घण्टौ पैदल हिँड्नु पर्ने बाध्यता छ ।
गाउँपालिकामा पर्ने छेप्का गाउँबाट लगातार छ घण्टा पैदल हिँडेरमात्र तापरिजा माध्यामिक बिद्यालय साइजल मतदान केन्द्रमा पुगिन्छ ।
गाउँबाट घण्टौ हिँडेर मतदान केन्द्रसम्म पुग्दा पैतलामा फोका उठ्ने छेप्का गाउँका स्थानीय नोर्वु लामाले बताए ।
“विगत देखिनै छेप्काका स्थानीय भोट हाल्न तापरिजा पुग्नुपर्छ, छ घण्टा जान लाग्छ,आउन त्यतिकै समय लाग्छ,मतदानकोलागि एकदिन पुरै खर्चिनु पर्छ”लामाले भने ।
“गाउँमा करिब ४० मतदाताछन्,बृद्धबृदा र अशक्त मान्छेहरु खर्चपर्च जुटाएर अघिल्लो दिननै जान्छन,सक्षम मान्छेहरु भने त्यहिदिन विहान हिँड्छन साझँ रातीमात्र घर फर्कन्छन ।”
“तल सुलिगार्ड खोला माथि भिर छ,ज्यानको बाजी थापेर भोट हाल्न जानुपर्छ अझ त बृद्धबृदा र अशक्तलाइ निकै समस्या छ,सबैको पाएक पर्ने ठाउँमा मतदान केन्द्र भएको भए निकै राहतहुने थियो” उनले थपे ।
अहिले जेजस्तो भएपनि आगामि दिनहरुमा आउने निर्वाचनमा घण्टौ हिँड्नुपर्ने बाध्यता हट्ने विश्वास छ ।
त्यसैगरी सोही वडामा पर्ने रिग्मो गाउँका मतदाताहरु घण्टौ हिँडेर मतदान गर्न जानुपर्ने बाध्यता छ ।
गाउँका करिब एकसय पचासजना मतदाता घण्टौ हिँडेर तापरिजा मतदान केन्द्रमा जानुपर्ने बाध्यता रहेको पुर्व वडाध्यक्ष निमा लामाले बताए ।
“बर्षातले पुरै बाटो भत्काएको छ,बाटो घुमाउरो भएको छ,दुई तीन घण्टा लगाएर मतदान केन्द्रसम्म पुग्नुपर्छ,बृद्ध र अशक्तलाइ बोकेरै लैजानुपर्छ”लामाले भने ।
“बर्षौ देखि पाएक पर्ने ठाउँमा मतदान केन्द्र राख्दिन आग्रह ग¥यौ तर कसैले सुनेनन्,अप्ठेरो बाटोमा ज्यानको बाजी लगाएर मतदान गर्न जानुपर्छ ।”
“हाम्रै गाउँपालिकामा ३४ मतदाताको लागि पनि छुट्टै मतदान केन्द्र छ,फोक्सुण्डोमा यतिधेरै मतदाताहुँदा पनि मतदान केन्द्र राखिएको छैन,गाउँमै मतदान केन्द्र भएको भए धेरै राम्रोहुने थियो”उनले थपे ।
यस गाउँपालिकामा २ सय ४३ मतदाता रहेकाछन् भने नौ वटा मतदान केन्द्रहरु रहेकाछन ।
मेरो प्रतिबेदनमा समेट्छुःमुख्य निर्वाचन अधिकृत
फोक्सुण्डो र छेप्काका मतदातालाइ भोटहाल्न ज्यानको बाजी लगाएर घण्टौँ हिँड्नु पर्ने बाध्यता रहेको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बताए ।
“त्यो क्षेत्रको मैले पनि अनुगमन गरेको छु,त्यहाँका मतदातालाइ भोट हाल्न धेरै सास्ती व्यहोर्नुपर्छ,योपटक पनि मतदान केन्द्र पायक पर्ने ठाउँमा राख्न आग्रह पनि गरेका थिए,समय छोटो भएकाले सकिएन” सुवेदीले भने ।
“यहाँका मतदाको समस्यालाइ निर्वाचन आयोगमा पठाउने प्रतिवेदनमा पनि समेट्छु,आसा छ अर्को निर्वाचनसम्म पक्कै समस्या समाधान होला ।”
फोक्सुण्डोका मतदाताकालागि छुट्टै र छेप्काका स्थानीयकोलागि पाएक पर्ने ठाउँमा मतदान केन्द्रहुनु अत्यावश्यक रहेको उनको भनाइ छ ।
जिल्लाका ६८ वटै मतदान केन्द्रमा निर्वाचनको सम्पुर्ण तयारी पुरा भइसकेकाले ढुक्क भएर मतदान गर्न मुख्य निर्वाचन अधिकृत सुवेदीले आग्रह गरे ।

प्रकाशित मिति : २०७९ मङ्सिर ३ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?