२०८० जेष्ठ १९ गते शुक्रवार

डोल्पामा २ सय ८० घरधुरीलाई निशुल्क सोलार वितरण



रामचन्द्र न्यौपान,
डोल्पा २४ कात्तिक : हिमाली जिल्ला डोल्पामा २ सय ८० घरधुरीलाई निशुल्क सोलार वितरण गरिएको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाका विभिन्न वडाका सर्वसाधारणलाई सोलार बितरण गरिएको हो ।
वैकल्पिक उर्जा पर्वद्धन केन्द्र काठमाण्डौको अनुदान सहयोगमा नगरपालिका अन्तर्गतका वडा नं १ का ४०, वडा नं २ का ७१, वडा नं ३ का ३५, वडा नं ४ का ३५,वडा नं ७ का ४०, वडा नं ८ का ३५ गरेर कुल २ सय ८० घरधुरीलाई सोलार वितरण गरिएको हो ।
कार्यवाहक नगर प्रमुख चन्द्राकुमारी बुढाको रोहबरमा ८० वाटको सोलार,व्याट्री,तार,वल्ब लगायतका सामानहरु निशुल्क सोलार वितरण गरिएको सौर्य इनर्जी डोल्पाका प्रतिनिधि लिलराज रोकायले बताए ।
डोल्पासम्म सिधा यातायातको सुविधा नहुँदा बर्षातको समयमा एक दर्जन धेरै ठाउँमा गाडी परिवर्तन गर्दै अनेक दुख कष्ट झेलेर सोलार ढुवानी गर्न सफल भएको रोकायको भनाई छ ।
“जाजरकोटसम्म सडक कालोपत्रे भएकाले ढुवानी गर्न सजिलो छ,त्यहाँदेखि डोल्पासम्म पुग्न बिच बिचमा नदी र खोलामा पुल छैनन्,डोल्पासम्म सोलार पु¥याउन दर्जन धेरै ठाउँमा गाडी परिवर्तन गर्दा ढुवानीमा घाटा व्यहोर्नु प¥यो ”रोकायले गुनासो गरे ।
दैनिक घण्टौ लोडसेडिङ्को मारले अध्यारोमै जीवन गुजारा गरिरहेका ग्रामिण गाउँ बस्तीका नागरिकहरुले सोलार पाएपछि खुशी भएका छन् ।
सबैले पाएनन सोलार
त्रिपुरासुन्दरी नगरपालिकाका सत्रसय घरधुरीले सोलारको लागि आवेदन दिएका थिए ।
प्रतिघरधुरी एक सय रुपैयाँ र नागरिकताको फोटोकपी बुझाएका चौध सय बीस घरधुरीले सोलार पाएनन् ।
वैकल्पिक उर्जाले माग गरेजति सबै सोलार नदिएपछि आवेदन दिएका सबैघरधुरीले सोलार नपाएको नगरपालिकाले बताएको छ ।
“सुरुमा एक सय रुपैयाँ र नागरिकता पेश गर्दा अनुदानमा सोलार पाइने भयो भनेर धेरै खुशी थियौँ,अहिले अन्तिमा आएर नगरपालिकाले उर्जाले पठाएको नामलिष्टमा नाम छैन भनेर भन्यो”त्रिपुरासुन्दरी नगरपालिका १ का प्रेम शाहीले भने ।
“गरिब विपन्नकालागि सोलार भनिएको थियो तर,कतिपय हुनेखाने र नेता र जनप्रतिनिधिलेनै सोलार पाए,वास्तविक विपन्न पनि छुटेकाछन्”उहाँले दुखेसो पोखे ।
स्थानीय राजबहादुर बुढामगले नगरका सत्र घरधुरीबाट प्रति घरधुरी एकसय र बिद्यालयहरुबाट पाँचहजारका दरले उठाएको रकम कुनै हिसाव किताब नगरेको भन्दै स्थानीयले रकम फिर्ता गर्न माग गरेकाछन् ।
नाम छनोटमा बिवाद
एकप्रति नागरिकताको फोटोकपी र एकसय रुपैया उठाएका चौधसय बीस घरधुरीका सबैले सोलार नपाएपछि बिवाद उत्पन्न भएको छ ।
सबै नागरिकको नाम सोलार पाउने सुचीमा छनोट नभएपछि बिवाद भएको हो ।
सोलार पाउने व्यक्तिको नाम छनोटका बिषयमा यता वडाका कतिपय जनप्रतिनिधिलाई थाहै नभएको बताएकाछन् ।
आफ्नै वडामा पनि सोलार पाउनेको नाम पनि के कसरी छानियो आफुलाइ थाहा नभएको वडा नं १ का अध्यक्ष कर्मसिँह थापाले बताए ।
यस बिषयमा बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र अन्तर्गत सौर्य तथा वायु उर्जा शाखाका सहायक निर्देशक डा. लक्ष्मण प्रसाद घिमिरेसँग बुझ्दा नगरपालिकालेनै नाम छनोट गरेर पठाएकाले त्यसैका आधारमा सुची प्रकाशित गरिएको बताए ।
“नगरपालिकाबाट सत्रसय घरधुरीकै नाम आएको थियो,माग भएजत्तीका सबैलाइ सोलार दिन नसकिने भयो,फेरी सोलार पाउनै पर्ने बत्ती नपुगेका,विपन्न घरधुरीको नाम छनोट गरेर पठाउन भन्यौ,उता जुन नाम आयो तिनैको नाम हालियो,हामिले नाम छनोट गरेका होइनौ”घिमिरेले भने ।
यो कार्यक्रममा लक्षित बर्ग भनेकै बत्ती नपुगेको ठाउँका नागरिक,दलित,विपन्न र गरिब नागरिक भएको घिमिरेको भनाई छ ।
नाम कसरी छनोट भयो भनेर नगरपालिकासँग बुझ्दा वैकल्पिक उर्जाबाटै आएको नामका आधारमा सोलार बितरण गरिएको बताएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?