
रामचन्द्र न्योपाने,
डोल्पा २४ कात्तिक : डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका तीन स्थानीय तहलाई छुट्टै जिल्ला घोषणा गर्न जनप्रतिनिधिले माग गरेकाछन् ।
एउटै भाषा,धर्म,संस्कृति भएका उपल्लो डोल्पाका डोल्पोबुद्ध गाउँपालिका,छार्काताङ्सोङ् गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकालाई साँस्कृतिक संरक्षण सँगै आर्थिक तथा राजनितिक विकासकालागि उपल्लो डोल्पाका जनप्रतिनिधिले छुट्टै जिल्ला घोषणाको माग गरेकाहुन् ।
बुधवार डोल्पाबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ्ग सहित तीन जना वडा अध्यक्षलाई माओवादी केन्द्रमा प्रवेश गराउन उपल्लो डोल्पा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड),अर्थ मन्त्री जनार्दन शर्मा,पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य शक्ति बस्नेत,पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य सत्य पहाडी समक्ष छुट्टै जिल्ला घोषणाको माग गर्दै छ बुधे मागपत्र पेश गरेकाहुन् ।
त्यतिमात्र नभइ तीन गाउँपालिकाको बिचमा पर्ने धो मा एक प्रशासनिक सेवा केन्द्र स्थापना गर्न,बर्षेनी राज्यको करोडौँ रकम खन्याइए पनि कछुवाको गतीमा काम भइरहेको दुनै,ल्यासीक्याप,धो सम्म ट्रयाक खुलाउने जिम्मा सेनााइ दिनुपर्ने,नेपाल चिन जोड्ने मोरिम्ला नाका खुलाउन माग गरिएको छ ।
त्यसैगरी धो तिन्जे छार्का हुँदै मुस्ताङ्सम्म सडक खुलाउन आवाश्यक बजेट विनियोजन गर्न,धो तरापमा हिमाली शहर निर्माण तथा एयरपोर्ट निर्माणकालागि बिस्तृत रुपमा अध्ययन गर्न आवाश्यक बजेट विनियोजन गर्न माग गरिएको छ ।
उपल्लो डोल्पामा एक देश दुइ निति अवलम्बन गराउँदै स्थानीय जनशक्तिलाइ सरकारी सेवामा प्रवेश गराउने र कात्तिकसम्म आर्थिक बर्ष राख्न समेत माग गरिएको छ ।
मागपत्र बुझै माओवादी केन्द्रका नेताहरुले उपल्लो डोल्पालीको मागलाइ पुरागर्न प्रतिवद्ध रहेको बताएका थिए ।
माओवादी केन्द्रमा प्रवेश गर्ने वडा अध्यक्षहरुमा वडा नं १ का अध्यक्ष ग्याल्बो थापा भोटे,वडा नं २ का अध्यक्ष छोइक्याप भोटे,वडा नं ३ का अध्यक्ष पाल्जाङ्ग लामा रहेकाछन् ।
त्यसैगरी वडा नं ६ का कार्यवाहक अध्यक्ष पेम्मा वाङ्छुङ् गुरुङ्ग पनि माओवादी केन्द्रमा प्रवेश गरेकाछन् ।
प्रभावशाली जनप्रतिनिधिको प्रवेशसँगै उपल्लो डोल्पामा माओवादी केन्द्र बलियो भएको माओवादी नेताहरुले बताए ।
डोल्पो बुद्ध गाउँपालिका नेकपा एमालेको बलियो पकड क्षेत्रको रपमा रहेको थियो ।
एकिकृत समाजवादीका जिल्ला इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य धनबहादुर बुढा नेकपा एमालेबाट फ्लोर क्रस गरेर एकिकृत समाजवादीमा आएसँगै एमाले समर्थक नेता कार्यकर्तामा बिचलन देखिएको छ ।
एमालेमा रहँदा प्रशस्त जनमत भएका बुढाले फरक पार्टीमा प्रवेश गरेपछि उपल्लो डोल्पाका जनप्रतिनिधिहरुमा बिचलन देखिएको हो ।