
रामचन्द्र न्यौपाने,डोल्पा ४ कात्तिक : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ अन्तर्गत पर्ने दुई स्थानमा भिषण पहिरो गएको छ ।
रुकुम(पश्चिम)मा पर्ने त्रिवेणी बजार र डोल्पामा पर्ने खदाङ्ग बिचमा पर्ने दुई स्थानमा गएको सुख्खा पहिरोको कारण जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत पर्ने त्रिवेणी–खदाङ्ग खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।
गत मंगलबार देखि डोल्पा भित्रने एकमात्र मुख्य सडकखण्डमा पर्ने करोपगार्ड आसपासको सडकखण्ड पहिरोले अवरुद्ध भएपछि दुबै तर्फका सवारी साधन आवागमन ठप्प भएको छ ।
दैनिक उपभोग्या सामग्री ढुवानी ठप्प
करिब एकसय मिटर माथिबाट खसेको पहिरोका कारण जिल्ला भित्रने र बाहिरीने मालवाहक सवारी साधन आवागमन ठप्प भएकाछन् ।
रुकुम (पश्चिम) मा पर्ने गोतामकोटबाट दैनिक उपभोग्य सामाग्रीहरु बोकेर छुटेका ट्रक,ट्रयाक्टर लगायतका मालवाहक साधनहरु बिचबाटोमै रोकिएका छन् ।
पहिरोका कारण दैनिक उपभोग्य सामाग्री ढुवानी ठप्प भएको जुफालका स्थानीय व्यापारी खिमबहादुर सिँहले जानकारी दिए ।
“मुल ठाउँमै पहिरो खसेकाले चामल,नुन,तेल लगायतका सामाग्रीहरु भित्रयाउन सकिएको छैन्,बजारमा भने मौज्दात खाद्यान्न सकिने बेला भएको छ”सिँहले भने ।
“उक्त पहिरो समयमै नहटाए दुनै,त्रिपुराकोट,जुफाल लगायतका स्थानमा दैनिक उपभोग्य सामाग्रीको अभाव हुने देखिन्छ,त्यतिमात्र नभई बिच बिचमा पक्की पुलहरु नबन्दा दजर्नौ ठाउँमा सामान लोड अनलोड गर्दा सामानको महंगी समेत बडेको छ”उनले थपे ।
दुबैतिर डोजर प्रयोग गरेर समयमै पहिरो हटाएमा सर्वसाधारण नागरिक र काम विशेषले जिल्ला बाहिरीने यात्रुहरुलाई समेत राहतहुने उनको भनाइ छ ।
ज्यानको बाजी थापेर यात्रा
जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत पर्ने खदाङ्ग–त्रिवेणी सडकखण्डमा सर्वसाधारणहरु ज्यानको बाजी थापेर यात्रा गर्न बाध्यछन् ।
सुख्खा पहिरो नहटाइए पनि सर्वसाधारणहरु माथिबाट निरन्तर खसिरहेको पहिरोमा ज्यान जोखिममा पारेर यात्रा गरिरहेका छन् ।
“मुल सडकमा पहिरो गएको छ,जिल्ला भित्रने र बाहिरीने सर्वसाधारणहरु आवतजावत गर्ने अर्को कुनै बैकल्पिक सडक छैन्,त्यसकारण पनि सर्वधारणहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएकाछन्”त्रिपुरासुन्दरी नगरपालिका ५ मा स्थानीय मोति प्रसाद उपाध्यायले भने ।
“त्यतिमात्र नभई अत्यावश्यक सामाग्री नुन,चामल,तेल लगायतका सामाग्रिहरु पनि ढुवानीहुन सकेको छैन्,त्रिपुरासुन्दरी नगरपालिका आफैसँग डोजर छ,पहिरो गएको तिन दिन बितिसक्दा पनि डोजर पठाएको छैन्”उनले थपे ।
स्थानीय सरकार भइसकेपछि नगरपालिकाले यस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने कुरामा तत्काल पहलकदमी लिनुपर्ने भएतापनि यति ठुलो पहिरो जाँदा पनि कुनै पनि चासो नदेखाएको उनको भनाई छ ।
नगरपालिकाको डोजर आपत विपतामा प्रयोग नगरेर थन्क्याउनुपर्ने त पक्कै होइन होला भन्दै उपाध्यायले प्रश्न गरे ।
मानविय क्षतिहुने डर
पहिरोबाट जोखिम मोलेर आवत जावत गर्दा मानविय क्षतिहुने सम्भावना उत्तिकै रहेको छ ।
अहिले पहिरोसँगै साना ठुला ढुङ्गाहरु निरन्तर खसिरहेकाले पैदल र मोटरसाइकलमा हिँड्ने सर्वसाधारणहरु ज्यानको बाजी लगाएर यात्रा गर्न बाध्यछन् ।
कच्ची सडक र झोलङ्गे पुलका कारण डोल्पासम्म पुग्ने सडक जोखियुक्त भएकाले सुधारगर्नुपर्ने फोक्सुण्डो ताल हेर्न भनेर डोल्पा पुगेका गुल्मी तम्घासका आन्तरिक पर्यटक श्याम क्षेत्रीले बताए ।
“डोल्पा पर्यटकिय हिसाबमा अत्यन्तै सुन्दर छ,त्यहि भएरपनि स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लागेको छ,तर करोपगार्डसम्म कसरी ज्यान जोगाएर आइपुगियो सम्झिदा आफैलाई डर लाग्छ”क्षेत्रीले भने ।
“डोल्पा घुम्न सबैलाई मन छ,यहाँका होटेल,खाना पाहुँना सत्कार सबै राम्रो छ तर बाटो अत्यन्तै खराब छ,बर्षेनी हजारौँ पर्यटक भित्रयाउन बाटो सुधारगर्न आवाश्यक छ,ठाँउ ठाउँमा पक्की पुल बनाउनु पर्छ”उनले थपे ।
तल्नुबगर देखि दुनैसम्म यात्रा गर्दा पक्की पुलको नहुँदा एउटै खोला चार पाँच पटक तर्नुपर्ने बाध्यता भएकाले पुल निर्माणकालागि संघ,प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्ने क्षेत्रीको भनाई छ ।
जिल्ला भित्रने सडकमामात्र सुधार गर्नु हो भने डोल्पाले पर्यटकिय हिसाबले फड्को मार्ने उनको विश्वास छ ।
फर्किय आन्तरिक पर्यटक
करोपगार्डमा खसिरहेको पहिरोका कारण फोक्सुण्डो ताल हेर्न भनेर आएका कतिपय आन्तरिक पर्यटकहरु फकिएका छन् ।
उपयुक्त सिजन पारेर देशका काठमाण्डौ,गुल्मी,बुटवल,पाल्पा लगायतका विभिन्न जिल्लाबाट मोटरसाइकलमा आएका आन्तरिक पर्यटकहरु पहिरो कटाउन नसकेर बिचबाटोबाटै फर्किएका हुन् ।
माथिबाट निरन्तर पहिरो खसिरहेकाले बाटो काट्दा ज्यानै जाने खतरा भएकाले कतिपय पर्यटकहरु गन्तव्यमै नपुगेर फर्किएको स्थानीय पौरख रोकायले बताए ।
“ज्यानलाई जोखिममा पारेर यात्रा गर्नेहरु चारपाँच लागेर एउटा मोटरसाइकल पास गराउने गरेकाछन्,आधा पहिरो हेरालो लाग्ने र आधा मोटरसाइकल पास गराउने गर्छन्,यतिकै पहिरो खस्यो भने ठाउँको ठाउँ ज्यान जाने खतरा छ” रोकायले भने ।
पहिरो पन्छाउनकालागि त्रिपुरासुन्दरी नगरपालिका र सडक डिभिजन कार्यालय चौहरजारीले कुनै पनि पहल नगरेको भन्दै उनले गुनासो पोखे ।
दुबैतीर डोजर प्रयोग गरेमा एक दिनमै पहिरो हटाउने सम्भावना रहेको स्थानीय व्यापारीहरुको भनाई छ ।
त्रिपुरासुन्दरी नगरपालिकाको आफ्नै डोजर भएपनि पहिरो गएको तीन दिनसम्म पनि डोजर पठाएको छैन् ।
नगरपालिकाको केन्द्र त्रिपुराकोटबाट पहिरो गएको स्थान तीन घण्टाको दुरीमा पर्छ ।
पहिरोका कारण मुख्य सडक अवरुद्ध भएर सर्वसाधारणले सास्ती खेपिरहेपनि नगरपालिकाले कुनै चासो नदेखाएको हो ।
त्यतिमात्र नभई सडक विभागलाई हस्तान्तरण भइसकेको जाजरकोट–डोल्पा सडक पटक–पटक अवरुद्ध भइरहँदा पनि सडक डिभिजन कार्यालय चौहरजारीले चासो नदिने गरेको नागरिकको गुनासो छ ।
केही बर्षमात्र नेपाली सेनाले ट्रयाक खुलाएको उक्त सडक बारम्बार अवरुद्ध भइराख्ने भएकाले सडक डिभिजनले एउटा डोजर तैनाथ राख्नुपर्ने सरोकारवालाको भनाइ छ ।