२०८० मङ्सिर २२ गते शुक्रवार

त्रिपुरासुन्दरी नगरपालिकाद्धारा ४२ करोड ४० लाख २९ हजार रकमको बजेट प्रस्तुत

स्वर्गीय नगरप्रमुख बुढाको सम्झनामा सालिक निर्माण गरिने


रामचन्द्र न्यौपाने/डोल्पा १० असार,
दुर्गम जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको छैटौँ नगरसभाको उद्घाटन समारोह विहिबार सम्पन्न भएको छ ।
नगरपालिकाको केन्द्र बगरमा आयोजित नगरसभाबाट नगर उपप्रमुख चन्द्राकुमारी बुढाले आव ०७८÷७९ का लागि ४२ करोड ४० लाख २९ हजार रकमको बजेट प्रस्तुत गर्नुभएको हो ।
जसमध्ये चालु खर्चतर्फ ३२ करोड ४१ लाख ३० हजार ९ सय,पुँजीगत खर्च तर्फ ९ करोड ९८ लाख ९९ हजार,वित्तिय समानिकरण तर्फ ९ करोड ७६ लाख ९५ हजार रकम बराबरको बजेट प्राप्त भएको छ ।
प्रस्तुत नीति तथा कार्यक्रमा प्रस्तावित बजेटमा नगरलाई समृद्ध बनाउन शिक्षा,स्वास्थ्य,कृषि र सडक बिस्तारका क्षेत्रलाई पहिलो प्राथामिकतामा राखिएको उप–प्रमुख बुढाले बताउनुभयो ।
नगर प्रमुख सँग कृषि उत्पादन बालीनालीमा आधारीत विशेष प्रोत्साहन अनुदानकालागि ९६ लाख रकम विनियोजन गरिएको छ ।त्यसैगरि शहरी विकास गुरुयोजना,वस पार्क निर्माण,त्रिपुराकोट कुमारेकोटहुँदै सुलिगाडसम्मको डिपिआर निर्माण,प्रसुति गृह डिपिआर निर्माण,वडा भवन डिपिआर निर्माण,सडक जोडिन बाँकी वडा ४,१० र ११ वडा अन्तर्गत पर्ने सडकको डिपिआर निर्माणमा बजेट विनियोजन गरिएको छ ।
छोरी बचत खातालाई निरन्तरता दिइएको छ भने संघ,प्रदेश र विभिन्न संघसंस्थाबाट प्राप्तहुने योजनामा साझेदारी रकमकालागि ८५ लाख ८५ हजार रकम विनियोजन गरिएको छ ।
त्यसैगरि पन्ध्र शैयाको राजारानी नगर अस्पताल निर्माणकालागि जग्गा ब्यवस्थापन तथा मुअब्जा ब्यवस्थाकालागि ४० लाख रकम विनियोजन गरिएको छ ।
कोभिड १९ महामारी र विपत ब्यवस्थापनकालागि ३० लाख रकम विनियोजन गरिएको छ ।
नगरका ११ वटै वडाकालागि २ करोड ९४ लाख ५४ हजार रकम विनियोजन गरिएको छ ।
लक्षित बर्गतर्फ महिला अनुदान २० लाख,दलित अनुदान ८ लाख,आदिबासी जनजाति अनुदान ८ लाख,अपाङ्ग अनुदान ३ लाख रकम विनियोजन गरिएको छ ।
कोभिड ब्यवस्थापन अर्को शिर्षकमा २५ लाख रकम विनियोजन गरिएको छ ।नगर भवनको तल्लो तला ब्यवस्थापनकालागि २५ लाख बिविध ब्यवस्थापन तर्फ २४ लाख रकम विनियोजन गरिएको छ ।
नगरका सिमा क्षेत्रमा प्रवेशद्धार निर्माण तथा हेमराज प्रवेशद्धार निर्माणकालागि बजेट विनियोजन गरिएको छ ।
सुत्केरी विरामि उद्धार तथा एम्बुलेन्स खरिदकालागि १६ लाख रकम विनियोजन गरिएको छ ।
स्वर्गीय नगर प्रमुख बुढाको सम्झनामा बीस लाख रकम बराबरको शालिक निर्माण गरिने समेत निति तथा कार्यक्रममा समेटिएको छ ।
नगरपालिकामा आधाभुत तथा माध्यामिक बिद्यालयमा कार्यरत शिक्षकहरुलागि बार्षिक दुई हजारका दरले सञ्चार खर्च उपलब्ध गराइने कार्यक्रममा समेटिएको छ ।
नगर सभामा निर्वाचित कार्यकाल पुरा नहुँदै स्वर्गीयहुनु भएका नगर प्रमुख ओमबहादुर बुढाको निधनले नगरपालिका अभिभावकविहिन भएको महशुस गरिएको थियो ।
जिल्लाकै एक कुशल एवं वौद्धिक राजनितिक नेतृत्व गुमाउँदा त्रिपुरासुन्दरी नगरपालिकामात्र नभई जिल्लालाईनै अपुरणिय क्षति पुगेको उप–प्रमुख बुढाले बताउनुभयो ।
पाँचौँ नगरसभा अध्यक्षता गर्नुभएका स्वर्गीय नगर प्रमुख बुढा छैटौँ नगरसभा अगावै निधनहुनु भएको भन्दै सम्झनामा उप–प्रमुख बुढा लगायत अधिकाशं जनप्रतिनिधि भावुक बनेका थिए ।
नगर उप प्रमुख चन्द्रकुमारी बुढा तथा प्रमुख अथितिको रुपमा उपस्थित जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले संयुक्त रुपमा नगरसभाको उद्घाटन गर्नुभएको थियो ।
अथितीको रुपमा बोलाईएका विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुले पारदर्शी एवं जनमुखि बजेट कार्यन्वयनमा जोड दिन सुझाव दिएका थिए ।
नगर पार्सदको रुपमा सभामा उपस्थित वडा अध्यक्ष तथा सदस्यले कोभिड ब्यवस्थापनमा भएको करोडौँ अनियमितता,हिँउदे अधिवेशन नभएको लगायतका बिषयमा सभा मार्फत जवाफ मागेका थिए ।

 

प्रकाशित मिति : २०७८ असार १० गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?