२०८० असोज ९ गते मङ्गलवार

बर्षेनी चोरीले रित्तिन थाले डोल्पाका पुरातात्विक गुम्बा

तीनबर्षमा ३२ थान मुर्ति चोरी,४ थानमात्र फेला


रामचन्द्र न्यौपाने/डोल्पा २७ जेठ,
स्वदेशी तथा विदेशी पर्यटकको आकर्ष गन्तव्य हो डोल्पा ।
त्यसोत डोल्पाको प्राकृतिक सुन्दरतासँग समिप्यता गाँस्न बर्षेनी हजारौँ पर्यटकहरु डोल्पा आइपुग्ने गर्दछन् ।
जिल्लाको उत्तरी क्षेत्रमापर्ने शे–फोक्सुण्डो ताल,धो भ्याली शे–गुम्बा,रिबु गुम्बा लगाएतका गुम्बाहरु पर्यटकका मुख्य आकर्षण हुन् ।
त्यतिमात्र नभइ त्यहाँको धर्मसँस्कृति,जीवनशैली पनि पर्यटकले निकैनै रुचाउँने गर्दछन् ।
उपल्लो डोल्पाको यात्रामा बाटाघाटामा कलात्मक रुपबाट चिस्तुम,गुम्बाहरु निर्माण गरिएको देख्न पाइन्छ ।
रुख,लाप्का र पुलहरुमा विभिन्न रङ्का थान्काहरु पनि झुन्डाइएका हुन्छन् ।
बस्ती नजिक पुग्नु अघि बौद्धधर्म झल्काउने कलात्मक प्रवशेद्धारहरु खडा गरिएका हुन्छन् ।
यि सबै बौद्ध धर्मप्रतिको अटुट आस्था र त्यसको प्रसार–प्रसार हो ।गाउँमा पुगिसकेपछि त केही दुरीको अन्तरमा गुम्बा तथा चिस्तुम देख्न पाईन्छ ।
यस्ता गुम्बा,चिस्तुम र घरघरमा बेरिएका थान्का चित्रले आफ्नो घर परिवार र गाउँठाउँ र रक्षा गर्ने विश्वास रहेको छ ।
जिल्लामै बौद्धमार्गिहरुको मुख्य वासस्थानको रुपमा रहेको उपल्लो डोल्पामा र तल्लो डोल्पाका केही क्षेत्रमा देखिने यस्ता संरचना आस्थाका मुख्य धरोहर हुन् ।
तर,पछिल्लो समयमा तिनै धरोहरुहरु एकपछि अर्कोगर्दै चोरीहुन थालेपछि स्थानीय चिन्तित बनेकाछन् ।
उनिहरुलाई पुस्तौ देखि पुज्दै र मान्दै आएका प्राचिन एवं ऐतिहाँसिक गुम्बाहरुलाई जोगाउन हम्मेहम्मे परेको छ ।
रित्तिन थाले गुम्बा
बौद्धमार्गीहरुका आस्थाका धरोहरका रुपमा रहेका प्राचिन मुर्तिहरु प्रत्येक बर्ष चोरीहुन थालेकाछन् ।
तल्लो डोल्पा र माथिल्लो डोल्पासम्म पर्ने विभिन्न प्राचिन मुर्तिहरु एकपछि अर्को गर्दै श्रृङ्खलाबद्ध रुपमा चोरीहुन थालेपछि गुम्बानै रित्तिन थालेकाहुन् ।
पछिल्लो पाँचबर्ष यतामात्रै उपल्लो डोल्पाको शे–गुम्बा, शेलरी सोम्दो,बोन, मिखिम,गाँकर गुम्बा लगायतका प्राचिन गुम्बाबाट २७ थान पुरातात्विक मुर्ति चोरी भएकोमा ४ थान मुर्तिमात्रै बरामत भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
डिएसपी पाण्डेका अनुसार ०७२ मंसिर ८ महिना २७ गते शे–फोक्सुण्डो गाउँपालिका ३ मा रहेको शेलरी सोम्दो गुम्बाट १३ वटा मुर्ती चोरी भएको र अझैसम्म फेलापर्न सकेको छैन् ।
त्यसैगरि डोल्पो बुद्ध गाँउपालिका वडा नं ३ मा पर्ने गाँकर गुम्बा र मेखिम गुम्बाबाट २०७२ चैत्र २८ गते राती ४ थान बुद्धका मुर्ती बौद्ध धर्म सम्बन्धि १ थान पुस्तक चोरी भएको थियो ।
पुरातात्विक मुर्तीहरुहरुसँगै सुन र चाँदीको धातुद्धारा लिखित बौद्ध धर्मग्रन्थहरु पनि हराएका थिए ।
हराएका ४ थान मुर्तीहरु मध्ये ३ थान मुर्ती र १ थान बौद्ध धर्म सम्बन्धि पुस्तक प्रहरी र स्थानीयको सक्रियतामा चोरी भएकै दिनमा बरामत गरिएको प्रहरीले जनाएको छ ।एक थान मुर्ति अझै फेलापर्न सकेको छैन् ।
पुरातात्विक मुर्ति र धम्रगन्थ्र चेकजाँचकालागि पुरातत्व बिभाग काठमान्डौ लगिएको २ बर्ष ४ महिना पछि २०७५ साउन १५ मा मेखिम र गाँकर गुम्बामैे स्थापना गरिएको पुरातत्व विभागले जनाएको छ ।
त्यस्तै छार्काताङसोङ गाउपालिका १ मा पर्ने बोन गुम्बाबाट २०७३ जेठ २८ गते हराएको १ थान बुद्धको मुर्ति प्रहरी र स्थानीयको सक्रियतामा तत्काल बरामत गरिएको थियो ।
त्यस्तै शे–फोक्सुन्डो गाँउपालिका अन्तर्गत रिग्मो गाँउमा पर्ने ६ सय बर्ष पुरानो थासोङ छोलिङ गुम्बाबाट २०७५ सालमा हराएका सात थान मुर्तिहरु अझै पत्तालाग्न सकेको छैन् ।
“गुम्बाका मुर्तिसबै चोरी भएपछि गुम्बाको अस्तित्वनै धरापमा परेको छ,चोर पत्ता लागेर पनि कोही कारागारमा छन्,कोही धरौटीमा छुटिसके,मुर्ति भने अझै पत्ता लाग्न सकेका छैनन्”शे–फोक्सुण्डो गाउँपालिका वडा नं ८ का अध्यक्ष निमा लामाले भने ।
“तस्करहरुले गुम्बामात्रै लुटेनन्,बौद्धमार्गिहरुको आस्थापनि लुटेकाछन्, अहिले रित्ता गुम्बाहरुमा आस्था जोगाउनुपर्ने बाध्यता छ”लामाले थपे ।
नेपालकै गहिरो शे–फोक्सुन्डो तालकौ छेउमै रेहेको उक्त गुम्बा ताल पछिको अर्को आकर्षक पर्यटकिय गन्तब्यको रुपमा चिनिँदै आएको थियो ।ताल पुगेका पर्यटकहरु एक पटक गुम्बा पुगेरै फर्किने गरेको वडा अध्यक्ष लामाले बताए ।
गुरुङ र लामा समुदायको बाहुल्यता रहको उपल्लो डोल्पाका विभिन्न स्थानमा पुग्नकालागि सदरमुकाम दुनै देखि तीन देखि सात दिनसम्म लाग्ने गर्दछन् ।
त्यसैगरि काइके गाउँपालिका वडा नं १ मा पर्ने खागर गुम्बाबाट यसैबर्ष १४ बैशाखमा चोरी भएका दुई थान मुर्ति अझै फेला पर्न सकेको छैन् ।
एक बर्ष अघि पुजा गरेर राखेका मुर्तिहरुको पुजा गर्न पुनःजाँदा चोरी भएको पाइएको प्रहरीले जनाएको छ ।
हराएका मुर्तिका बिषयमा अनुसन्धान सुरु भइसकेपनि अहिलेनै पत्ता नलागिसकेको प्रहरीको भनाई छ ।
काइके गाउँपालिकाका युवा पर्यटन व्यवसायि जगबहादुर बुढाका अनुसार ठुलै राजनितिक संरक्षको आडमामात्रै यस्तो प्राचिन मुर्तिको कामहुने गरेको बताए ।
“प्रमाण बिना ठ्याक्कै भन्न त गारो छ,तर यस्तो काम मामुलि मान्छेले गर्नै सक्दैन्,ठुलै राजनितिक संरक्षण पाएको अपराधिक गिरोहनै लागेको हुनुपर्छ ”बुढामगरले भने ।
प्रहरीले अहिलेसम्म छिटफुट व्यक्ति समातेपनि गिरोह पत्ता लगाउन नसक्दा तस्करहरुको मनोवल उच्च भएको उनको भनाई छ ।
सिआइबीको टोली खटाएर अनुसन्धान गर्न माग
प्राचिन गुम्बाहरुको श्रृङ्खलाबद्ध तस्करी गर्ने अपराधिक गिरोह पत्ता लगाउन केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) को टोली खटाउन माग गरिएको छ ।
जिल्लाका दर्जनौ पुरातात्विक गुम्बाहरु बिगत देखिनै अहिलेसम्म योजनाद्ध रुपमा चोरी भइरहे पनि गिरोह पत्ता लाग्न नसक्नु दुखत कुरा भएको काइके गाउँपालिकाका युवा मानप्रसाद बुढाले बताए ।
“निरन्तर चोरी भइरहेको छ,तस्करीमा संलग्न मुख्य गिरोह चाहिँ पत्ता लागेको सुनिँदैन्,अनुसन्धान पेचिलो नहुँदा तस्करहरुको मनोवल उच्च भएको पाइएको छ,अब केन्द्रिय अनुसन्धान ब्युरोको टोली खटाएरै अनुसन्धान सुरु गर्नुपर्छ ”बुढाले भने ।
“बौद्धमार्गिहरुको आस्थानै सखापहुनेगरि हुँदै आएको मुर्ति तस्करी केही स्थानीय व्यक्तिको सुराकिविना तस्करलेमात्र गर्न सक्दैन्,अब किटानी सहित केन्द्रिय अनुसन्धान ब्युरो पुग्ने तयारी गरेका छौँ”बुढाले थपे ।
मुर्ति तस्कर गिरोह पत्ता लगाउन प्रहरीको अनुसन्धानलाई सघाउन जुनसुकै सहयोग गर्न पनि तत्पर रहेको बुढाको भनाई छ ।
भौगोलिक बिकटतानै सुरक्षा चुनौती
कठिन भौगौलिक बिकटता र सुरक्षाकर्मीको न्युन उपस्थितिका कारण पनि उपल्लो डोल्पा गुम्बाहरु बर्षौ देखि तस्करको निशानामा पर्दै आएको स्थानीयको भनाई छ ।
तस्करहरु खुलेयाम हातहतियार सहित गुम्बा चोर्दा पनि घुम्दापनि स्थानीयबासी मुख दर्शक भएर बस्नुपर्ने बाध्यता रहेको उनिहरुको गुनासो छ ।
भौगोलिक रुपमा विकट र पातलो बस्ती भएका कारण पनि उपल्लो डोल्पाका गुम्बाहरु तस्करको निशानामा परेको जिप्रका डोल्पामका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए ।
“प्रतिकुल मौसमका कारण उपल्लो डोल्पामा छ महिनामात्र सुरक्षार्मी बस्न सक्छन्,बाँकी सयम सुरक्षाकर्मीको उपस्थिति हुँदैन्,सोही समयमा मौका छोपि अपराधिक मनोवृति भएका व्यक्तिले चोरी गर्ने गरेको पाइएको छ”पाण्डेले भने ।
“सञ्चारको असुविधाका कारण उपल्लो डोल्पाबाट सुचनाहरु सदरमुकामसम्म सुचना आदानप्रदान गर्न लाग्छ,तस्करहरु चोरी गरेर भागिसक्दा समेत प्रहरीलाई सुचना नआउँने र प्रहरीले सुचना पाएर घटनास्थलमा पुगिन्जेलसम्म चोरहरु फरार भईसक्ने हुनाले पनि सुरक्षा चुनौति थपिएको छ”उनले थपे ।
उपल्लो डोल्पाको सुरक्षा ब्यबस्था कडाई पार्न दरबन्दी थप गर्नुकासाथै प्रहरीकालागि बाह्रै महिनाबस्न सक्ने भौतिक पुर्वाधारहरु खडा गरेमा यस्ता घटनामा कमी ल्याउन सकिने डिएसपी पाण्डेको विश्वास छ ।
उपल्ला डोल्पामा पर्ने तीन स्थानीय तहमा अस्थायी र स्थायी गरेर ७ वटा प्रहरी चौकीहरु रहेकाछन् ।
प्रत्येक बर्ष पुरातात्विक महत्वका मुर्ती तस्करी भईरहँदा पनि प्रहरीले संलग्न गिरोह पत्ता लगाउन नसकेको सरोकारवालाहरु बताउँछन् ।
योजनबद्ध तरीकाले उपल्लो डोल्पाका गुम्बाहरु रित्याउने खेलहुँदा समेत प्रहरीले पेचिलो अनुशन्धान गर्न नसक्नुले पनि तस्करहरुलाई प्रोत्साहन मिलेको उनीहरुको भनाई छ ।
यता पुरातत्व विभागले भने उपल्लो डोल्पामा रहेका ईतिहाँसिक गुम्बाहरु श्रृङ्खलाबद्ध रुपमा चोरीहुनुमा गलत हल्ला रहेको बताएको छ ।
उपल्लो डोल्पाका विभिन्न गुम्बाहरुमा राखिएका पुरातात्विक मुर्ति तथा धर्मगन्थको मुल्य करोडौँ पर्ने भन्दै गलत अपवाह फैलाउनाले पनि गुम्बाहरु तस्करको निशानामा पर्ने गरेको पुरातत्व विभागको भनाई छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २७ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?