
रामचन्द्र न्यौपाने/डोल्पा २१ जेठ,
डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका प्रत्येक घरमा कोभिड –१९ लक्षणसँग मेल खाने बिरामिहरु देखिएकाछन् ।
डोल्पो बुद्ध गाउँपालिकाका अन्तर्गत पर्ने वडाहरुमा कोभिड–१९ को लक्षणसँग मेलखाने बिरामिहरु देखिएको स्थानीय स्वास्थ्यकर्मीले जानकारी दिएकाछन् ।
करिब एक महिना अघि देखि रुघा,खोकि,ज्वरो र शरीर दुख्ने,खान मन नलाग्ने लगायतका लक्षणका बिरामिहरु दिनप्रतिदिन बड्दै गएको धो स्वास्थ्य चौकीमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी कार्मा साँङ्मो थापा भोटेले जानकारी दिइन् ।
“कोभिड–१९ लक्षणसँग मेल खाने बिरामिहरु धो का अधिकाशं घरमा छन्,एकैघरमा चारपाँच जनासम्म बिरामि परेकाछन्,स्वास्थ्य चौकीमा भएको सिटामोल,एन्टिवायोटिक लगायतका औषधि बितरण गरिरहेका छौँ”उनले भनिन ।
“अहिले गाउँमा करिब पचास जनाको हाराहारीमा बिरामी छन्,दिनप्रतिदिन रोग फैलिपनि रहेको छ,अलि पहिला बिरामि परेकाहरु व्यक्तिहरु सञ्चो पनि भइरहेकाछन् ।”
स्वास्थ्य संस्थासम्म आउन नसक्ने बिरामीहरुकालागि कुनै सुरक्षाका मापदण्ड नअपनाएर सामान्य मास्कका भरमा औषधिहरु बोकेर घरघरमा पुग्ने गरेको उनको भनाई छ ।
बिरामी पर्ने बालबालिका,बृद्धबृदा लगायतका सबै उमेर समुहका रहेको उनले बताईन् ।
स्वास्थ्य चौकी भएको औषधिहरु दैनिक बितरण भइरहेकाले थप मौज्दात औषधिको आवाश्यक्ता रहेको उनको भनाई छ ।
अधिकाशं बिरामिहरु घरमै निको भइरहेको स्वास्थ्यकर्मीको भनाई छ ।
त्यसैगरि डोल्पोबुद्ध गाउँपालिका अन्तर्गत पर्ने तिन्जे गाउँमा पनि कोभिड लक्षणका बिरामीहरु बडेकाछन् ।
गाउँमा बिस देखि पच्चीस जनाको हाराहारी कोभिड लक्षणका बिरामीहरु रहेको तिन्जे स्वास्थ्य चौकीमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी तथा इन्चार्ज छिरिङ् थापाले जानकारी दिइन् ।
एक महिना देखि बिरामिहरु बड्ने र सञ्चोहुने सँङ्ख्या बराबर रहेको उनको भनाई छ ।
“कोही बिरामिहरु स्वास्थ्य चौकीमा आउँछन्,कोही आम्चीमा जाने गर्दछन्,कोभिड जाँच गर्ने कुनैपनि औषधि उपकरण नभएकाले समस्या भएको छ”थापाले भनिन् ।
गाउँपालिका सिल
गाउँपालिकामा कोभिड–१९ लक्षणसँग मेलखाने बिरामिको चाप बड्दै गएकाले बाहिरका प्रवेशमा प्रतिवन्ध लगाइएको छ ।
एक सुचना जारी गर्दै २१ जेठ राती १२ बजे देखि ५ आषाढसम्ममा बाहिरका मान्छे प्रवेशमा रोक लगाइएको हो ।
गाउँपालिकामा प्रवेश गर्न एन्टिजिन वा पिसिआर रिपोर्ट नेगेटिभ आएका व्यक्तिहरुमात्रै तोकिएका जनप्रतिनिधि तथा कर्मचारीसँग समन्वय गरेर जान पाउने व्यबस्था गरिएको छ ।
घरघरमा बिरामी बडेपछि गाउँपालिकाले औषधि व्यबस्थापनमा जोड दिएको छ ।
धो मा सर्वसाधारणहरु बिरामि परेको खबर प्राप्त भएकाले सदरमुकाम दुनै स्थित सम्पर्क कार्यालयमा रहेका कर्मचारीहरुको टोली केही दिनभित्रै औषधि उपकरण सहित गाउँपालिकातर्फ हिँड्ने तयारी भइरहेको प्रमुश प्रशासकिय अधिकृत गौतम पज्ञांनीले जानकारी दिए ।
शे–फोक्सुण्डो गाउँपालिकामा पनि बिरामी
उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा पनि बिरामिको चाप बडेको छ ।
गाउँपालिका अन्तर्गत पर्ने साल्दाङ्ग,रिग्मो,पुग्मो लगायतका गाउँमा बिरामीहरु बडेकोहुन् ।
कोेभिड–१९ का लक्षणसँग मिल्दाजुल्दा बिरामी बडेसँगै जनप्रतिनिधिहरुले बाहिरका मान्छे प्रवेशमा कडाइ गरेकाछन् ।
नेपालकै गहिरो ताल फोक्सुण्डो जान आन्तरिक तथा बाह्य पर्यटक सबैलाई पिसिआर वा एन्टिजेन नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।
कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्येनजर राख्दै नेगेटिभ रिपोर्ट बिनाका जो काहीलाई प्रवेशमा रोक लगाइएको फोक्सुण्डोका वडा अध्यक्ष निमा लामाले जानकारी दिए ।
हेलिकप्टरबाट औषधि लैजाने तयारी
कोभिड–१९ लक्षणसँग मिल्दोजुल्दा बिरामीहरु बडेपछि शे–फोक्सुण्डो गाउँपालिकाले यथाशीघ्र हेलिकप्टरमा औषधि पठाउने तयारी थालेको छ ।
नागरिकहरु जोगाउनकालागि काठमाण्डौबाट सिधै अत्यावश्यक औषधि तथा उपकरणहरु हेलिकप्टरमा लैजाने तयारी भइरहेको प्रमुख प्रशासकिय अधिकृत बिष्णु न्यौपानेले जानकारी दिए ।
गाउँपालिकाको विभिन्न बस्तीहरुमा नागरिकहरु बिरामी परेको खबर आएकाले छिटो छरितो औषधि उपकरण पठाउन हेलिकप्टर कम्पनीहरुसँग कुरा भइरहेको उनको भनाई छ ।