
आजको २१औ शताब्दीमा पुग्दै गर्दा खुल्ला राजनितिक विचार र नीतिहरुको विकाससँगै विश्वले वैज्ञानिक समाजवाद र साम्यवाद जस्ता उच्चस्तरका लोककल्याणकारी राज्य व्यवस्थाहरुको परिकल्पना मात्र होइन अभ्यासनै गर्न खोजिरहेको छ ।अमेरिकामा अव्राहम लिंकनले दास प्रथा उन्मुलन गरेपछि अहिले अमेरिका कुन स्थानमा छ भन्ने कुरा हामिमाझ छर्लङ्गैं छ । दक्षिण अफ्रिकाका ईदि अमिनले जनतालाई शासित गर्दै गरेको शासन होस या जर्मनमा उग्र राष्ट्रवादको नाममा एडोल्फ हिटलरले गरेको शासन वा नेपालमा राणा र ज्ञानेन्द्रले गरेको शासन नै किन नहोस ती सबको परिणाम कत्तिको घातक रहेछ भन्ने तथ्य तीनिहरुको दर्दनाक अन्त्यले पुष्टि गरिसकेको छ। राजनीति भनेको देश र जनताको भाग्य निर्माण गर्ने क्षेत्र हो । तर गलत व्यक्तिहरूको हातमा पुग्यो भने राजनीति एउटा अभिशाप बन्न जान्छ। राजनीति समाज परिवर्तन गर्ने महत्वपूर्ण संयन्त्र हो । उज्ज्वलभविष्य खोल्ने चाबि नै हो। अहिलेको विश्व राजनीतिमा कम्युनिष्ट विचारधाराले पनि उच्चतम रुपमा लोकतान्त्रिक व्यवस्थालाई अवलम्वन गर्नुपर्छ भन्ने नीतिहरु लिएको पाईन्छ । राज्यका सम्पुर्ण व्यक्ति र नागरीक संस्थाहरुलाई स्वचालित बनाउन समाज विकासको मेरुदण्ड सावित हुने कुराको उदाहारणका रुपमा चीनले अवलम्वन गरेको खुल्ला आर्थिक उदारिकरणको नीति एक हो । नेपालको सन्दर्भमा पनि एउटा कटिवद्ध कम्युनिष्ट आदरणिय नेता मदन भण्डारीद्धारा प्रतिपादित जनताको बहुदलिय जनवाद (जबज) लोकतान्त्रिक व्यवस्थाको नविनतम परिमार्जित समाज विकासको एउटा उत्तम विचारको कडीको रुपमा उभिएको अवगत नै छ ।
हामिले हाम्रा जनप्रतिनधि मार्फत संविधनसभा मार्फत् जारी गरेको नेपालको संविधान २०७२ ले सार्वभौमसत्ता सम्पन्न अधिकार जनतामा निहीत रहने कुरा स्पष्ट रुपमा व्यवस्था गरेको छ । वाकस्वतन्त्रता, मानवअधिकार, न्यायीक समानता जस्ता थुप्रै क्लजहरुको अधिक व्याख्या सहित राखिएको छ । आफ्ना हकअधिकारका पक्षमा बोल्न पाउनु, विचार र अभिव्यक्तिको स्वतन्त्रता, आफ्नो नेता आफैंले चुन्न पाउनु, स्वतन्त्र मताधिकार प्रयोग गर्न पाउनु, खुल्ला प्रतिस्पर्धात्मक निर्वाचन जस्ता आधारभुत व्यबस्थाहरुको प्रत्याभुत गरेको छ । राजनीति त्यस्तो शासन गर्ने व्यवस्था हो जहाँ लोक या जनताहरुलाई रिझाएर उपयुक्त नीति नियम बनाउँदै उनिहरुलाई अधिकार सम्पन्न गराउने व्यवस्था हो । विकसित समाज निर्माण गर्ने थलो हो । विकास, योजना, नीति, नियम तथा कार्यक्रमहरु निर्माण गर्ने पद्दति हो । तल्लो स्तरका टोल, गाउँ र वडा तहका जनताहरुका समस्याहरु स्थानीय, प्रदेश हुँदै संघिय संसद सम्म पुर्याउने र त्यसको समाधान गर्ने माध्यम हो । नकि सोझासाझा नागरीकहरुको मताधिकार खोसी, डर, त्रास, धम्की वा प्रलोभनमा पारी बुथ क्याप्चर गर्ने वा गर्न बाध्य पार्ने परम्परा हो ? शक्ति र सत्ताको आडमा २१औं शताब्दीमा पनि नागरीकलाई १७औं शताब्दीको झैं दास बनाउने ? शक्ती र सत्ताको स्वाद पाएकाहरु अनेक हतकण्डा अपनाएर सधैँ शक्ति र सत्ता हत्याउनको लागि यस्ता खेल खेलिनैरहन्छन् । यो त्यसबेलासम्म रहन्छ जतिबेला सम्म हामीहरूले उनीहरूका हरेक गलत हतकण्डाहरु चुपचाप सहेर बस्छौं। देखेर पनि अनदेखा गर्छौं वा त्यसका विरुद्ध आवाज उठाउँदैनौं वा आवाज उठाउनेलाई पनि साथ दिदैनौं।
अत: यी र यस्ता खाले प्रवृत्ति, परम्परा, चलन वा व्यावस्था जे भनौं त्यसको परिवर्तन भएन वा गरिएन भने हामी २१औं शताब्दीका नविनतम दास सावित हुने कुरामा कुनै दुईमत रहनेछैन । डोल्पा जिल्लाको सन्दर्भमा खास गरी यसखाले परम्परा बिशेषत: माथिल्लो डोल्पा र अन्य जहाँ दोभासे बोलिन्छ त्यहाँ बढि छ। फाटफुट हिसाबले समग्र डोल्पाभरी पनि यस्तो भेटिन्छ नै। राजनितिक चेतनाको कमी वा विकासको असुविधा भनौं वा राज्यको मूल प्रवाहमा समाहित हुन नसकेर हाे वा राज्यप्रतिकै उनीहरुको उदासिनता हो के कारणले हो माथिल्लो क्षेत्रमा यो परम्परा बढी नै छ। दुर्गम भूगोल, ईमान्दार नागरीक जहाँ आफ्नो अलग्गै भेषभुषा, बोलीचाली छ अनौठो एकता र भाईचारा छ त्यस भेगले डोल्पाको राजनीतिमा खास भूमिका राख्छ र राख्दै आएको छ। उपल्लो भेगको खाम भाषा बोलिने समाज जसले प्रायः राजनितिक नेतृत्व बनायो अहिलेपनि त्यो समाज दबिएको छ कसैको दास झैं बसेको छ तैपनि चुपचाप छ। लाग्दछ एकप्रकारको उकुमुकुस छ। बिभेद, दमन र तानाशाह व्यवहार छ। यस्तो गलत र मानव जगतकै कलंकको रुपमा विद्यमान विकृतिको परिवर्तन नभएमा वा गर्न नसकिएमा जसरी किर्नाले भित्रभित्रै सिनोलाई खाएर खोक्रो बनाउँछ त्यसरिनै अलिअलि बाहिर देखावटी रुपमा विकास भएको देखेपनी भित्रीरुपमा खोक्रोपना बाहेक अरु केहि हुँदैन र हुने पनि छैन। अब कोहि न कोहि नेतृत्व कोहि न कोहि जनता, कोहि न कोहि बुद्धिजिवी, समाजसेवी, पेशाकर्मी जाग्नुपर्छ। जगाउनुपर्छ। हाम्रो यो खोक्रो र देखावटी विकासबाट छलाङ मार्दै अधिकार सम्पन्न हुनको लागि अहिलेको आधुनिक विश्वव्यापिकरणको मान्यतालाई आत्मसात् गर्न अनिवार्य र अपरिहार्य छ। होईन भने हाम्रो हालत वा हाम्रो परिचय त्यही अंगत कुमार बुढाले लेखेको कालझैं गीत “दुखेर पनि… चुपचाप कर्णाली” जस्तै हुनेछ। गीतले भनेझैं हामीहरु चुपचाप डोल्पाली भई सधैँ सहेर बसिरहने हो भने यो घाउ अहिले आलो हाेला, घाउ पछि क्यान्सरमा परिणत भइसकेछ भने त्यसबेला हामिले उपचार गर्न नसकौला । त्यसैले बेलामै घाउको उपचार गरौ। घाउ निको हुनेछ। परिवर्तन आउनेछ। तपाइँ हाम्रो परिचय फेरिनेछ। साँच्चैमा हाम्रो संविधानले व्यवस्था गरे बमोजिमको स्वतन्त्र र सार्वभौम सम्पन्न नागरीक हुनेछौं। जय डोल्पा, जय नेपाल।
लेखक – ( मानप्रसाद बुढा, युवा संघ केन्द्रिय समितिका स्थायी कमिटी सदस्य हुनहुन्छ । )