
रामचन्द्र न्याैपाने/डोल्पा १५ बैशाख,
हिमाली जिल्ला डोल्पाका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय डोल्पामा बुधवार बसेको जिल्ला संकट व्यवस्थान केन्द्रको बैठकले जिल्लाभरका स्मपुर्ण बिद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
देशव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण बिरुद्ध पुर्व सतर्कता अपनाउन जिल्लाभरका बिद्यालय अविश्चितकालिन रुपमा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासनले जनाएको छ ।
बिद्यालयहरुलाई शिक्षक बिद्यार्थीको भौतिक उपस्थितिमा नभई वैकल्पिक माध्यामबाट पठनपाठन जारी राख्न समेत भनिएको छ ।
जिल्ला संकट व्यवस्थापनको निर्णयसँगै जिल्लाका स्थानीय तहले विभिन्न मितिमा तोकेका बिद्यालयस्तरीय बार्षिक परीक्षाहरु समेत स्थगन भएकाछन् ।
यससँगै सरकारी कार्यलयहरुमा प्रवेश गर्दा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने,जिल्ला अस्पताल र स्थानीय तहले आवाश्यक अक्सिजन,आइसोलेसन तथा क्वारेन्टाइनहरु तयारी अवस्थामा राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढकालले जानकारी दिए ।
आपतकालिन अवस्थामा नेपाली सेनाले पर्याप्तमा मात्रमा पालहरु तयारी अवस्थामा राख्ने,दुनै,त्रिपुराकोट,जुफाल लगायतका मुख्य बजारहरुमा सञ्चालित खाद्यान्न तथा औषधि पसलहरु बाहेक अन्य सबै पसल होटेलहरु साँझ ६ बजेपछि बन्द गर्नुपर्ने समेत निर्णय ढकालको भनाई छ ।
जिल्ला अस्पतालमा भएका दुई वटा भेन्टिलेर पनि चालु अवस्थामा नरहेको अस्पतालले जनाएपछि यथाशिघ्र चालु अवस्थामा राख्न निर्देशन दिएको प्रजिअ ढकालले बताए ।
निर्णय कार्यन्वयन नगर्ने व्यक्ति वा संस्थालाई संक्रामक रोग ऐन २०२० बमोझिम कारवाही गर्ने समेत बताइएको छ ।
एक जनामा कोरोना पुष्टि
जिल्लामा एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जुफाल विमानस्थलमा कार्यरत एक जना कर्मचारीलाई संक्रमण देखिएको प्रशासनको भनाई छ ।
उक्त व्यक्तिसँग सम्पर्कमा रहेका सम्पुर्ण व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ् गर्ने,एन्टिजिन परीक्षण गर्ने प्रशासनले जनाएको छ ।
यस अघि एक जना निकुञ्जका कर्मचारीमा कोरोना संक्रमण देखिएको र बुधवार रिपोर्ट नेगेटिभ आएर घर फर्किएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।
जिल्लामा सुविधायुक्त सहितका कोभिड अस्पताल र आइसोलेसन भवन पर्याप्त नहुँदा जिल्लामा कोरोना संक्रमण बडे समस्याहुने बताइएको छ ।
जिल्लाका आठवटै स्थानीय तहले कोरोना संक्रमण विरुद्व पुर्व सर्तकताकालागि आवाश्यक तयारीतर्फ खासै ध्यान नदिएको सरोकारवाला निकायको भनाइ छ ।