
रामचन्द्र न्यौपाने
डोल्पा । डोल्पामा करिब एक अर्वको सदरमुकाम दुनै बचाउने कार्यक्रमले सदरमुकामनै बगाउने चिन्ता बडेको छ ।
कान्छाराम थोदुङ्ग क्याराभान जेभीले निर्माणको जिम्मा पाएको दोस्रो चरणको कार्यक्रममा डोजर प्रयोग गरि भेरी नदीको चारैतीर धमाधम ढुङ्गा उत्खननकार्य तीब्र बनाएपछि सदरमुकामबासीलाइ दुनै बचाउने भन्दा बगाउने चिन्ता बडेको हो ।
जिल्ला सदरमुकामनै नदी कटानको उच्च जोखिममा रहेको भन्दै भविश्यमा हुनसक्ने सम्भावित ठुलो धनजनको क्षतिबाट जोगाउन संघिय सरकार अन्तर्गतको सिँचाइ तथा जलस्रोत मन्त्रालयले दुई चरणमा गरेर करिब एक अर्व रकम छुट्याएको छ ।
भेरी उत्खनन तीब्र
आयोजना निर्माण गर्ने नाममा ठुलि भेरी नदी उत्खननकार्य तीब्र पारिएको छ ।
दिर्घकालिन असरको ख्यालै नगरि आयोजनामा प्रयोग गर्ने ढुङ्गा,माटो,गिट्टी बालुवाकालागि भेरी उत्खनन्कार्य तीब्र रुपमा भइरहेको स्थानीयले बताए ।
करोडौँ नाफा कमाउने खेलमा ठेकेदारले डोजर प्रयोग गरेर रातदिन ढुङ्गा,गिट्टी,वालुवा उत्खनन गर्ने काम तीब्र बनाए पछि बर्खामा सदरमुकाम बगाउने चिन्ता बडेको स्थानीय जितेन्द्र शाहीले बताउनुभयो ।
जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल उत्पन्न प्रकोप व्यवस्थापन महाशाखाबाट दोस्रो चरणमा सदरमुकाम बचाउ कार्यक्रमकालागि ५७ करोड ३२ लाख ८३ हजार चार सय रकम निकासा भएको छ ।
“जिल्लामा विकास भित्रनु राम्रो हो,तर विकासका नाममा भेरी उत्खनन गरेर विनाशलिला मच्चाउनु जिल्ला,जिल्लाबासी र राज्यकालागि ठुलो अपराध हो” शाहीले भन्नुभयो ।
“राज्यले सदरमुकाम बचाउन भन्दै झन्डै एक अर्व रकम पठाएको छ,तर करोडौ नाफा कमाउने खेलमा रातदिन त्यहि भेरी छियाछिया बनाउँदै ढुङ्गा,गिटि बालुवा निकालेर मेसिनरीवाल र तटबन्धनमा प्रयोग भइरहेको छ,यस्तो कार्यले थप जोखिम निम्त्याएको छ ।”
“विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) मा चार किलोमीटर टाढाबाट ढुङ्गा,गिटि बालुवा लगायतका सामग्रीहरु ल्यायर प्रयोग गर्नुपर्ने प्रष्ट उल्लेख छ,तर भेरीका कमसल चिप्ला ढुङ्गा प्रयोग गरि लगाइएको मेसीनरीवालबाट आयोजना बलियो नहुँने त छँदैछ,ढुङ्गाबाटमात्रै रकम जोगाएर ठेकेदारले करोडाँै नाफा कमाउने देखिन्छ”शाहीले थप्नुभयो ।
ठेकेदारले आयोजनाको जीरो पोइन्टबाट काम सुरु नगरि अर्कै ठाउँबाट काम सुरु गरेको उहाँको भनाइ छ ।
कार्यक्रमलाइ पारदर्शी र गुणस्तरीय रुपमा निर्माण गर्न दबाब दिनकालागि स्थानीय युवाहरुलाइ समेटेर छुट्टै अनुगमन समितिनै गठन गरिएको छ । कान्छाराम थोदुङ्ग क्याराभान जेभीले उक्त ठेक्कामा ०.१८ प्रतिशत कम रेटमामात्रै ठेक्का हात पारेको हो ।
त्यसैगरि २०७४ भदौ सम्झौता भइ काम सुरु भएको पहिलो चरणको सदरमुकाम बचाउ कार्यक्रमकालागि निकासा भएको ३३ करोड रकमको काम एक पटक म्याद थपिसक्दा पनि पुराहुन सकेको छैन् ।
पहिलाको काम सम्पन्नहुन नपाउँदै दोस्रो चरणको ठेक्का सेटिङ्ग गरेर उक्त आयोजनालाइ ठेकेदारले दुहुनो गाइ बनाएको स्थानीयबासीको आरोप छ ।
विकासको नाममा तमासाःएउटै आयोजनामा राज्यको दोहोरो खर्च
सदरमुकाम बचाउ कार्यक्रममा राज्यको दोहोरो खर्च भएको पाइएको छ ।
पहिलो चरणको कार्यक्रमको ३३ करोड बजेटबाट सदरमुकामको दुबैतीर तारजाली भरेर तटबन्धन गरिएको छ ।
दोस्रो चरणमा पुनःसोही कार्यक्रमकालागि करिब ५८ करोड बजेट निकासा भएपछि करोडौँ खर्च गरेर पहिला हालेको तटबन्ध भत्काएर पुनः मेसिनरीवाल लगाउन थालिएको छ ।
पहिलो चरणको ठेक्काबाट गरिएको एक सय एकाउन्न मीटर तटबन्धन भत्काएर मेसिनरीवाल लगाउन थालिएको र एउटै आयोजनामा राज्यको करोडौँ रकम दोहोरो खर्च भएको आयोजनाले अनुगमन समितिले बताएको छ ।
पुरानो तटबन्धन भत्काउँदा निस्केका १ हजार बाह्र घनमीटर ढुङ्गा मेसीनरीवालमा पुन प्रयोग गरिएको छ ।
दोस्रो चरणको कार्यक्रम आउने ग्यारेन्टी नभएको अवस्थामा सुरुमा तटबन्धन गरिएको र अहिले आएर भत्काएर सोही ठाउँमा मेसिनरीवाल लगाउनु परेको पेटी ठेकेदार मनबिर पुनले स्विकारे ।
पुनःप्रयोग भएका ढुङ्गाको रकम आयोजनाले डिपिआरमै कटाएकाले ठेकेदारले उक्त रकम नपाउने पुनले बताए ।
पहिलो चरणको आयोजनाबाट सदरमुकामको सम्भावित जोखिम हटेको बताउँदै बजार क्षेत्र र कारागार क्षेत्र गरेर कुल दुई हजार सत्तरी मीटर तटवन्धन गरिएको पुनले जानकारी दिए ।
एउटै आयोजना करोडौँ रकम डुप्लिकेसन भएपछि जिल्लाका सरोकारवाला पक्षले आपत्ति जनाएकाछन् ।
आयोजनाको दिर्घकालिन लक्ष्यलाइ ध्यानमा नराखेर ठेकदार र प्राविधिकको मिलेमतोमा सुरुमा करोडौ रकम खर्च गरेर तटबन्धन गर्ने त्यसपछि त्यहि तटबन्ध भत्काएर पुनः लगाउन राज्यको करोडौँ रकम खर्च गरेर डुप्लिकेशन भएको उनिहरुले दाबी छ ।
ठेकेदारको बदनियत पुर्ण कार्यले सदरमुकाम बचाउ कार्यक्रमा राज्यको करोडौँ रकम खेरमात्र नगइ ठेकेदारको कमाइ खाने भाँडो समेत भएको उनिहरुको भनाइ छ ।
भेरीबाट ढुङ्गा निकालेकै होःठेकेदार
पेटी ठेकेदार मनविर पुनले भेरीबाट केहीमात्रामा ढुङ्गा निकालेर आयोजनामा प्रयोग गरेको स्विकार गर्नुभएको छ ।
आफुले गर्न नहुने काम गरेको स्विकार गर्दै प्रशासन,अनुगमन समिति लगायतका सरोकारवाला पक्षको दबाव आएपछि भेरी उत्खनन् कार्य बन्द गरेको पुनले बतानउनुभयो ।
अहिले चार किमिटाढाबाट ट्याक्टरमा ढुङ्गा ढुवानी गरेर आयोेजनामा प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।
अक्तियार धाउँछौःकाङ्ग्रेस
करिब एक अर्वको आयोजनामा जनताको आँखै अगाडि विकासका नाममा भ्रष्टाचारको ज्वलन्त उदाहारण देखिएको भन्दै काङ्ग्रेसले आपत्ति जनाएको छ ।
सदरमुकामबासीको बाँच्न पाउने अधिकार र भविश्यसँग जोडिएको उक्त आयोजना निर्माणकालागि माटो मिसिएको कमसल बालुवा र न्युन गुणस्तरका ढुङ्गा,गिट्टी प्रयोग गरिएको काङ्ग्रेसको भनाइ छ ।
“त्यहि सदरमुकाम जोगाउन राज्यले अर्व रकम लगानि गर्छ,त्यहि ठेकेदारले नाफा कमाउन भेरीको गर्नुसम्म दोहोनगर्छ,अनि सदरमुकाम बचाउने कार्यक्रम हो कि बगाउने ? काङ्ग्रेस जिल्ला सभापति अंगत कुमार बुढाले प्रश्न गर्नुभयो।
“विकासका नाममा भएको विनाशका बिरुद्ध काङ्ग्रेसले निगरानि राखिरहेको छ,सरोकारला निकायको ध्यानाकर्षण समेत गराइरहेको छ, निर्वात भेरी उत्खनन र न्युन गुणस्तरको सामग्री प्रयोग भएकाले कारवाहीको मागगर्दै अक्तियार दुरुपयोग अनुसान्धान आयोग र जलउत्पन्न प्रकोप व्यवस्थापन महाशाखामा बोधार्थ सहित जिल्ला प्रशासनमा उजुरी हालेका छौँ”बुढाले थप्नुभयो ।
विकासको नाममा जनताको भविश्यसँग खेलवाड गर्ने ठेकेदार र निर्माणकम्पनी बिरुद्ध अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा धाउने तयारी समेत भइरहेको सभापति बुढाले बताउनुभयो ।
उक्त आयोजनामा पेटी ठेकेदारको जिम्मा र कामदारहरु पनि बाहिरकै प्रयोग भएकाले जिल्लाबासीहरु आंशिक रोजगारीको अवसरबाट समेत बञ्चित भएको बुढाको भनाइ छ ।
प्रशासन र जनप्रतिनिधिको निगरानी
सदरमुकाम दुनै बचाउ कार्यक्रममा भेरी उत्खनन तीब्र रुपमा गरेर सदरमुकाम थप जोखिममा पारेको गुनासो आएपछि स्थानीय प्रशासन र जनप्रतिनिधिले निगरानी बडाएकाछन् ।
भेरीमा डोजर प्रयोग गरि ढुङ्गा निकालेको थाहा पाएपछि डोजरको चावी थुत्नुका साथै ठेकेदार र डोजर चालकलाइ प्रशासनमा ल्याएर ढुङ्गा ननिकाल्ने शर्तमा कागज गराएर छोडिएको प्रजिअ माधब प्रसाद ढकालले बताउनुभयो ।
त्यससँगै विभिन्न माध्यामबाट आयोजनास्थलमा निगरानी बडाउनुका साथै सम्बन्धित विभागमा समेत जानकारी गराएपछि टोली आएर अनुगमन समेत गरेको प्रजिअ ढकालले बताउनुभयो ।
पछिल्लो समयमा भेरीमा डोजर प्रयोग गरेर ढुङ्गा निकाल्ने कार्य रोकिएको प्रशासनले जनाएको छ ।
काममा बदमासी गरे कारवाही गछौँःयादब
सिँचाइ तथा जलस्रोत मन्त्रालय अन्तर्गतको जलउत्पन्न प्रकोप महाशाखाका सिनियर डिभिजन इन्जिनियर बिरेन्द्र यादबले राज्यको करिब एक अर्ब लगानि भएको सदरमुकाम दुनै बचाउ कार्यक्रमा ठेकेदार र प्राविधिकले बदमासी गरे कारवाही गर्ने बताउनुभयो ।
आयोजना निर्माणमा कमसल निर्माण सामग्री प्रयोग गरेको र भेरी उत्खनन गरेर ढुङ्गा प्रयोग गरेको पाइएमा कारवाही सँगै रकम घटाइदिने यादबले बताउनुभयो ।
आयोजनालाइ पुर्ण रुपमा स्तरीय बनाउनकालागि निर्माणस्थलमै प्राविधिकहरु खटाइएको उहाँले बताउनुभयो ।
आफ्नो गाउँ घरमा भएको विकास योजनालाइ गुणस्तरीय बनाउने जिम्मा स्थानीय सरकार,प्रशासन,सञ्चारकर्मी र प्रत्येक नागरिकको भएकाले पटक–पटक अनुगमन गर्नसमेत आग्रह गर्नुभयो ।
पछिल्लो समयमा बिरोधकालागिमात्रै बिरोध गर्ने प्रचलन बडेकाले तथ्यका आधारमा बिरोध गर्नुपर्ने बताउँदै ठेकेदारले बदमासी गरेको पाइएमा स–प्रमाण महाशाखामा पेश गर्न यादबको अनुरोध छ ।
अनुगमनको वहानामा जथाभावि गएर पिल्डमा खटिएका प्राविधकलाइ धम्काउने थर्काउने गर्नाले उनिहरुको मनोवल घटेको पाइएकाले यसो नर्गन यादबको आग्रह छ ।
पहिलो चरणको ठेक्कामा ९७ प्रतिशत काम सम्पन्न भएर पनि ,२७ करोड २२ लाख १२ हजार दुईसय रकम निकासा भइसकेको बताउनुभयो ।
त्यसैगरि दोस्रो चरणको ठेक्कामा २५ प्रतिशत काम सम्पन्न भएर १४ करोड ७१ लाख पचास हजार रकम निकासा भएको उनले जानकारी दिए ।
सिनियर डिभिजन इन्जिनियर चौधरीका अनुसार दोस्रो चरणको ठेक्कामा
कुल मेसीनरीवाल १ हजार १ सय ३५ मीटर बनाउनुपर्ने ५ सय ३८ मीटर सम्पन्न भइसकेको बताउनुभयो ।
त्यसैगरि दोस्रो चरणमा गर्नुपर्ने १ हजार ४ सय मीटर तटबन्धनको काममा ८ सय ८० मीटरको काम सम्पन्न भएको उहाँको भनाइ छ ।
दुबै ठेक्का राज्यमन्त्रीका
सदरमुकाम दुनै बचाउ कार्यक्रमका रुपमा परेका दुइवटै ठेक्का डोल्पाबाट प्रतिनिधि सभा सदस्यको रुपमा निर्वाचित धनबहादुर बुढाका हुन् ।
पहिले देखिनै निर्माणव्यवसायमा संलग्न रहेका बुढाले विशेष सेटिङ्गमा झन्डै एक अर्ब रकम बराबरका दुइवटा ठेक्का हात पार्नुभएको हो ।
पुर्व नागरिक उडड्यन तथा पर्यटन राज्यमन्त्री समेत रहेका बुढाले पहिलो चरणको ३३ करोडको ठेक्कामा सिधै झण्डै १४ करोड कमिशन खाएर बचेको रकममा पेटी ठेकेदार मनविर पुनलाइ ठेक्का बेचेका थिए ।
त्यसैगरि दोस्रो चरणको करिब ५८ करोडको ठेक्कामा पनि करोडौ रकम कमिशन खाएर पुनलाइनै ठेक्का बेचेको निकटतम स्रोतले बताएको छ ।
तर,पेटी ठेकेदार पुनका अनुसार झण्डै आधा भन्दा कम रकममा जिम्मा लिएको पहिलो चरणको काममा घाटा लागेकाले दोस्रो चरणको ठेक्कामा व्यवस्थापककोमात्र जिम्मेवारी लिएको बताए ।
अहिलेको ठेक्काको आर्थिक लगायतको सम्पुर्ण जिम्मा पुर्वमन्त्री बुढाले आफ्नो साला बिजय रोकायलाइ सुम्पेको बताइन्छ ।
सदरमुकाम दुनैमा बुढाका दुइ वटा पक्की घर समेतछन् ।
आफ्नै घर भएको सदरमुकाममा करोडौ रकम कमिशन खाएर पेटी ठेकेदारलाइ कामको जिम्मा दिएर कमसल विकास गर्न लगाएको सदरमुकामबासीको आरोप छ ।
पहिलो चरणको ३३ करोड रकमको ठेक्का पनि कन्काइ थोदुङ्ग जेभीको नाममा सांसद बुढालेनै पारेका थिए भने दोस्रो चरणको करिब ५८ करोडको ठेक्का पनि कान्छारामा थोदुङ्ग क्याराभान जेभीको नाममा बुढालेनै हात पार्नुभएको हो ।