२०८० चैत्र ६ गते मङ्गलवार

अमेरिकी नागरिकले १४ सय डलर राहत पाउँदै



एजेन्सी: राष्ट्रपति जो बाइडेनले वार्षिक ८० हजार डलरभन्दा कम आय भएका प्रत्येक अमेरिकीलाई १४ सय डलर राहत दिने विधेयकमा आगामाी शुक्रबार हस्ताक्षर गर्ने भएका छन।

मार्च महिनाभरमै अमेरिकीको हातमा उक्त रकम बराबरको चेक पठाउने समेत बाइडेनले प्रतिवद्धता जनाएका छन् ।

अमेरिकी संसदको माथिल्लो सदन सिनेटबाट दुई दिन अघि पारित विधेयकलाई तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले बुधबार सदर गरेको थियो।

अब राष्ट्रपति बाइडेनको हस्ताक्षरसँगै विधेयकले औपचारिक कानूनको हैसियत पाउनेछ।

अमेरिकी रेस्क्यु प्याकेज नाम दिइएको कुल १ दशमलव ९ ट्रिलियन डलरको विधेयकको पक्षमा कुनै रिपब्लिकन सिनेटर एवं हाउस अफ रिप्रिजेन्टेटिभले साथ दिएनन्।

रिपब्लकिन पार्टी प्रष्ट विपक्षमा रहे पनि अमेरिकी जनताले यो विधेयकलाई उत्साहका साथ समर्थन गरेका छन्। मत सर्वेक्षणहरुमा ६० प्रतिशत बढि अमेरिकी विधेयकको पक्षमा देखिएका हुन्।

राष्ट्रपति पद सम्हाल्नु अघि नै कोरोना भाइरसले धर्मराएको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन भन्दै बाइडेले यो प्याकेज प्रस्ताव गरेका थिए।

जसमा प्रत्येक अमेरिकीलाई १४ सय डलर दिने तथा मासिक ३०० डलरको बेरोजगार भत्तालाई सेप्टेम्बरसम्म लैजाने छ बर्षभन्दा साना बच्चा रहेका अविभावकलाई बार्षिक ३६ सय एवं सात देखि १७ बर्षसम्मका बालबालिकालाई बार्षिक तीन हजार डलर राहत दिने लगायतका प्रावधानमा समेटिएका छन्।

त्यस बाहेक विद्यालय खुलाउन, कोरोना भाइरस विरुद्धको खोप विस्तार गर्न एवं साना व्यवसायलाई सहायता प्रदान गर्न पनि ठूलो रकम छुट्याएको छ।

अमेरिकी इतिहासमै संकटसँग जुध्न सरकारले ल्याएको यो दोस्रो ठूलो आर्थिक प्याकेज हो।

यस अघि गतवर्ष कोरोना भाइरसबाट जोगिन सरकारले लगाएको ‘लकडाउन’ पछि पुगेको आर्थिक क्षति निवारणका लागि दुई ट्रिलियन डलरको प्याकेज ल्याइएको थियो। त्यसबेला प्रत्येक अमेरिकीले १२ सय डलर नगद राहत समेत पाएका थिए।

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?