२०८१ बैशाख ६ गते बिहिवार

एमाले महासचिव भन्छन्– दुई दिन ढिला होला, ताजा जनादेशमा नगई सुखै छैन



काठमाडौं । पुनःस्थापित नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ताजा जनादेशमा मुलुक जाने बताएका छन् ।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर सातौँ अधिवेशनको दुईवटा बैठक चलिसकेको अवस्थामा पनि उनले ‘अर्लि इलेक्सन’को सम्भावना औँल्याएका हुन् ।

आज पर्साको वीरगन्जमा आयोजित पत्रकार भेटघाटमा उनले भने, “अब संसद्मा जुन आफ्ना स्वाभाविक प्रक्रियाअनुसार बिजनेस चल्छन् भने ठिकै छ ।

यदि, चलेन भने दुई दिन ढिला होला, ताजा जनादेशका लागि हामी सबै तयार हुनुपर्छ । हामी राजनीतिक दलहरूको एउटै राजनीतिक उद्देश्य हुनुपर्छ, राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिमा जोड दिने कुरा हुनुपर्‍यो ।

समाजमा अराजकताको अन्त्य हुनुपर्‍यो । सामाजिक सद्भाव कायम राख्नुपर्‍यो । हामी त्यो उद्देश्य राखेर अघि बढेका छौँ ।

पुनर्जीवित नेकपा (एमाले) सबै कम्युनिस्ट, वामपन्थीहरू समेट्दै अगाडि बढ्छौँ । यसबीचमा देखापरेका कमी–कमजोरी हटाउँदै अघि बढ्छौँ ।”

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि प्रयत्न गरेको बताउँदै सर्वोच्च अदालतले संसद्को पुनःस्थापना गरेपछि परिस्थिति बदलिएको बताए ।

“हाम्रो भर्सन के थियो भने, यो ताजा जनादेशमा जाँदा मुलुकमा यो राजनीतिक अस्थिरता, यो जुनखालको संसदीय प्रणालीभित्र अनुचितखालका कतिपय कामहरू हुन्छन्, त्यो हुँदैन ।

सदन राम्ररी चल्न नसकिसकेपछि ताजा जनादेशमा जानुपर्छ भन्ने हाम्रो एउटा बुझाइ थियो ।

त्यसले राजनीतिक अस्थिरतालाई पनि अन्त्य गर्छ, राष्ट्रिय स्वाभिमान, स्वाधीनतालाई पनि रक्षा गर्छ । शान्ति, विकास र समृद्धिलाई त्यसले बाटो खोल्छ । समाजमा अराजकताको अन्त्य गर्छ ।”

जनता नै सबैभन्दा ठूला न्यायाधीश भएकाले त्यो दिशा तय गरिएको उनको जिकिर थियो ।

उनले थपे, “जनताले दिने न्यायलाई हामीले स्वीकार गरेर जानुपर्छ भन्ने मान्यताको आधारमा प्रधानमन्त्रीजीले गर्नुभएको थियो । सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्‍यो त्यो च्याप्टर सकियो ।”

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?