२०८० चैत्र १६ गते शुक्रवार

भागरथी हत्या प्रकरण : आरोपितलाई सुधारगृह पठाउन आदेश



बैतडी । किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पूर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ ।

दिनेशमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप लागेको थियो ।

दिनेशलाई सरकारी वकिल कार्यालयले मङ्गलबार अदालत बुझाएको थियो । अदालतले दिनेशलाई १८ वर्ष नपुगेकाले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले पूर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको हो ।

दिनेशलाई आज डोटीमा रहेको सुधारगृह पठाउने तयारी रहेको गरिएको छ । गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रहरीले घटनाको अनुसन्धानपछि दिनेशलाई फागुन ४ गते नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले जिल्ला अदालतबाट चार पटक ५÷५ दिनका लागि म्याद थप गरेर थप अनुसन्धान गरेको थियो ।

दिनेशले यसअघिनै आफूले बलात्कारपछि भागरथीको हत्या गरेको स्वीकार गरिसकेका छन् ।

सनातन धर्म माविमा कक्षा ११ पढ्ने दिनेश र सोही विद्यालयमा कक्षा १२ मा पढ्ने भागरथी एकै गाउँका हुन् ।

नाताले यी दुवैजना दिदीभाइ पर्छन् । यसअघि भागरथीको शव जिल्ला अस्पतालमा परीक्षण गर्दा बलात्कारपछि हत्या भएको देखिएको थियो ।

भागरथीको भेजाइनल स्वाब र दिनेशको डीएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको भए पनि रिपोर्ट आएको छैन । रासस

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?