२०८० मङ्सिर २२ गते शुक्रवार

युभेन्टसमा रोनाल्डो र पिर्लोको भविष्य सङ्कटमा



मंगलबार पोर्टोविरुद्धको च्याम्पिन्यस लिगको खेलअघि आन्द्रे पिर्लोले भनेका थिए, ‘क्रिस्टियानो रोनाल्डो ‘तम्तयार’ छन् ।’

‘यो उनको खेल हो,’ युभेन्टसका म्यानेजरले पत्रकारहरुसँग भनेका थिए । तर, त्यो उनको खेल बन्न सकेन, कुनै हिसाबले उनी त्यसको नजिक पनि थिएनन् ।

पोर्टोसँग हार ब्यहोर्दै इटालियन टोली प्रतियोगिताबाट बाहिरिन बाध्य बनेको छ । ‘कोरिएरे डेलो स्पोर्ट’ ले त युभेन्टसलाई ‘रोनाल्डोले धोका दिएको’ सम्म भन्न भ्यायो ।

हुन पनि रोनाल्डोको खराब प्रदर्शन च्याम्पियन्स लिगमा युभेन्टसको दुःखद् कथामा नयाँ अध्याय थपिएको जुन सन् १९९६ देखि शुरु भएको हो ।

यसबीचमा टोलीले पाँचवटा फाइनलमा हार ब्यहोर्नुपरेको छ भने लगातार दुई सिजन अन्तिम १६ बाट बाहिरिनुपरेको छ ।

सन् २०१८–१९ सिजनमा टोली आयक्ससँग हार ब्यहोर्दै क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

युभेन्टसको यस्तो अवस्था कसैले अपेक्षा गरेका थिएनन् । अझ रोनाल्डोसँग त पक्कै पनि थिएन । किनभने उनी मिस्टर च्याम्पियन्स लिग हुन् ।

सन् २०१५ र २०१७ मा फाइनलमा पुगेको युभेन्टस उनी आएपछि अब उपाधिमाथि कब्जा जमाउने आशामा थियो । तर, रोनाल्डो आएपछि युभेन्टस उपाधिबाट झनै टाढा पुगेको छ ।

यता, घरेलु इटालियन सिरिए ए मा पनि युभेन्टस १० वर्षपछि उपाधि गुमाउने अवस्थामा पुगेको छ ।

लिगमा शीर्ष स्थानमा रहेको इन्टर मिलान तेस्रो स्थानमा रहेको युभेभन्दा १० अंकले अघि रहेको छ ।

कोपा इटालियाको फाइनलमा युभेन्टसले एटलान्टाको सामना गर्दैछ । यो उपाधि जितेपछि पिर्लोले राहत पाउने छैनन् ।

किनभने युभेन्टसका अध्यक्ष आन्द्रया एग्नेलीले आफ्नो टोली आयाक्स, लियोन र अहिले पोर्टोसँग हार ब्यहोर्न रोनाल्डोका लागि ३४ करोड युरोको प्याकेजका लागि अनुमित दिएका थिएनन् ।

अब एग्नेलीले रोनाल्डो र पिर्लोको भविष्यबारे के निर्णय लिनेछन्, त्यो हेर्न बाँकी छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?