२०८० जेष्ठ २६ गते शुक्रवार

बहुमत छ भन्थे साथीशहरू अदालतले तोडिदियो : लालबाबु पण्डित



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह अलग अलग गतिविधि गर्दा नेता लालबाबु पण्डित कुनै समूहतिर लागेका थिएनन् ।

उनले आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै आएका थिए । तर सर्वोच्च अदालतले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणलाई मान्यता नदिई दुई पार्टीलाई पूर्ववत अवस्थामा नै फर्काइदिएपछि उनले साविकको नेकपा एमालेतिर रहने बताएक छन् ।  उनले आफू सूर्य चुनाव चिह्नतिर रहने बताए ।

‘मैले पहिलादेखि नै भन्दै आएको हो– जनताको बहुदलीय जनवाद र सूर्य चिन्ह,’ नेता पण्डितले भने, ‘अब दुईटा पार्टी एक भएर गए सँगै रहन्छु, एक भएन भने जता सूर्य चिह्न उतै म ।’

अब दुवै समूह एक भएर जान सक्ने स्थिति नरहेको पण्डितको बुझाइ छ । र केपी शर्मा ओली नेतृत्वको एमाले ब्युँतिएकाले आफू त्यतै रहने पण्डितले बताए ।

‘मैले आइतबारको प्रतिनिधिसभाको बैठक बहिष्कार गरिन नि । साथीहरु उठेर जाँदा म बैठकमै उपस्थित रहेँ । यसले क्लियर भएन र ! म कता छु ?’ पण्डितले भने ।

आइतबार प्रतिनिधि सभाको बैठकमा सरकारको तर्फबाट विभिन्न अध्यादेशहरु पेस हुन लाग्दा प्रचण्ड–माधव समूहका सांसदहरुले बैठक बहिष्कार गरेका थिए ।

कामचलाउ सरकारले अध्यादेश ल्याउन नसक्ने प्रचण्ड–माधव समूहको तर्क थियो । तर, पण्डितले भने बैठक बहिष्कार गरेका थिएनन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?