२०८० चैत्र १६ गते शुक्रवार

नेपाली सिनेमामा महिला निर्देशक : को कति सफल ?



काठमाडौं । नेपालमा बनेको पहिलो चलचित्र, आमा । त्यसपछिका सूची केलाउँदै जाने हो भने क्रमश: यी नामहरु भेटिन्छन्–माइतीघर, कुमारी, सिन्दुर, कान्छी, बेहुली, चेलीबेटी, तिलहरि, कन्यदान ।

नारीलाई प्रतिनिधित्व गर्ने यी नामहरुले उनीहरुको जीवन–भोगाइ र भावनालाई कति समेट्न सक्यो ?

यो प्रश्न किन पनि अर्थपूर्ण हुनसक्छ भने त्यसताका बन्ने चलचित्रहरुमा पुरुषको हालीमुहाली हुन्थ्यो ।

कथा, पटकथा लेख्नेदेखि निर्देशकसम्म पुरुषको वर्चश्व थियो । चलचित्र निर्माणको ६ दशक लामो इतिहासमा नेपाली चलचित्रले पुरुष एकत्व तोड्न धेरै अवधी कुर्नुपर्‍यो ।

२०५८ सालमा सुचित्रा श्रेष्ठले पहिलो पटक नेपाली सिनेमाको कप्तानी सम्हालिन् । यद्यपि उनी निर्देशित चलचित्र ‘प्रेमयुद्ध’ महिलाको भावना प्रतिनिधित्व गर्ने चलचित्र थिएन ।

२०७१ सालमा रेखा थापा निर्देशकको रुपमा प्रकट भइन्, ‘हिम्मतवाली’बाट । त्यसपछि उनले ‘मालिका’ निर्देशन गरिन् । यी दुबै चलचित्रले महिला सशक्तिकरणको मुद्धालाई उठाएको थियो ।

संख्यात्मक हिसाबले कम भएपनि आजको दिनमा महिलाले निर्देशन गरेका चलचित्रले बजारमा बलियो पकड बनाउँदै गएको छ ।

तर, महिलाको जीवन–भोगाइ वा मुद्धा जसरी ग्ल्यामराइज्ड गर्ने काम भएको छ, त्यस अनुरुप यसलाई मूल मुद्दाको रुपमा अघि बढाउन सकेको छैन ।

रेखासँगै समानान्तर रुपमा अगाडि आएकी दीपाश्री निरौलाले ‘छक्का पञ्जा’बाट निर्देशनमा पाइला हालिन् ।

‘छक्का पञ्जा’ ब्लकबस्टर रह्यो । ‘छक्का पञ्जा’को तीन वटा श्रृङ्खला उनैले निर्देशन गरिन्, जो अपेक्षाकृत चल्यो पनि । तर, यसमा न महिलाको कथालाई प्राथमिकतामा राखियो, न शीर्ष भूमिकामा नै दिइयो ।

कति सफल/कति असफल ?

पछिल्लो समय नेपाली चलचित्रमा महिला निर्देशकको संख्या कम भएपनि बजारमा पकड भने बलियो बन्दै गएको छ ।

व्यवसायिक हिसाबले सफल मानिएका ‘छक्का पञ्जा’, ‘ए मेरो हजुर’, ‘हिम्मतवाली’, ‘इन्टि मिन्टु लण्डनमा’ चलचित्रका कप्तानी महिलाले नै सम्हालेका थिए ।

तर, अधिकांश महिला निर्देशक एकाध चलचित्रभन्दा अगाडि बढ्न सकेका छैनन् । पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ नै एउटै चलचित्रमा सीमित बनिन् ।

त्यसपछि आएका धेरैजसो महिला निर्देशकको नियति पनि उस्तै छ । निर्देशकको रुपमा रक्षा सिंह राणाले चलचित्र ‘दि गेम’बाट डेब्यू गरिन् । यो चलचित्रले बक्स अफिसमा सफलता पाउन सकेन ।

रक्षा हाल चलचित्र निर्देशक समाजको अध्यक्ष बनिसकेकी छिन् । उनलाई पनि चलचित्र निर्देशनमा अगाडि बढ्न धौ–धौ नै पर्‍यो ।

निर्देशककै रुपमा सञ्चारकर्मी सम्झना उप्रेती रौनियार पनि देखापरिन् । उनले नायिका नम्रता श्रेष्ठलाई मुख्य भूमिकामा लिएर ‘मेघा’ निर्देशन गरिन् । यस्तै, उनकै निर्देशनमा चलचित्र ‘फागू’ पनि बन्यो ।

दुबै चलचित्रले आशातीत व्यापार गर्न सकेनन् । सम्झनाले यसपछि चलचित्र निर्देशनलाई निरन्तरता दिएकी छैनन् । बरु, उनी सञ्चारकर्ममै सक्रिय छिन् ।

चलचित्र क्षेत्रमा सम्भावना देखाउँदै दीपा बस्नेतले पनि निर्देशनमा हात हालिन् । उनले निर्देशन गरेको ‘अन्तराल’ चलचित्रले राम्रो समीक्षा पायो ।

तर, चलचित्रले व्यापारिक रुपमा सफलता हात पारेन । यस्तै, दीपाले चलचित्र ‘श्री ५ अम्बरे’ पनि निर्देशन गरिन् । दुबै चलचित्रबाट व्यवसायिक सफलता हात नपारेपछि दीपाले नयाँ चलचित्र निर्देशन गरेकी छैनन् ।

नायिका रेखा थापाको निर्देशनमा चलचित्र ‘हिम्मतवाली’ बनेको थियो । यो चलचित्रलाई सुरुवातमा रेखाले निर्देशन गर्ने योजना थिएन ।

चलचित्रलाई श्याम भट्टराईले निर्देशन गरिरहेका थिए । तर, श्याम र रेखाबीच छायांकनको क्रममै विवाद भयो र चलचित्रबाट श्याम निकालिए । यसपछि, रेखाले नै चलचित्र निर्देशनको जिम्मेवारी लिइन् ।

यो चलचित्रले समीक्षामा कमजोर रेटिङ पाएपनि व्यवसायिक रुपमा भने सफलता हात पार्‍यो । ‘मालिका’ निर्देशन गरिन् ।

यो चलचित्र बक्स अफिसमा पनि चलेन । रेखाले यसपछि केही चलचित्र निर्देशन गर्ने चर्चा नचलेका होइनन् । तर, उनले निर्देशनलाई नै अगाडि बढाउने तयारी तत्काल गरेकी छैनन् ।

महिला निर्देशनमा सम्भावना

महिला निर्देशकको रुपमा पछिल्लो समयमा सर्वाधिक सक्रिय तीन निर्देशक हुन्, दीपाश्री निरौला, झरना थापा र रेनशा वान्तवा राई ।

यी तिनै निर्देशकले असफलता व्यहोरेका छैनन् । कलाकारबाट निर्देशक बनेकी दीपाश्रीले ‘छक्का पन्जा, छक्का पन्जा २ र छक्का पन्जा ३’ निर्देशन गरिसकेकी छिन् ।

यी तीन चलचित्रले सर्वाधिक कमाइको रेकर्ड नै राखेका छन् । यसैले, दीपाश्री निरौलालाई ब्लकबस्टर निर्देशक पनि भनिन्छ ।

तर, ३ चलचित्र ब्लकबस्टर दिएपनि धेरै मानिसहरु दीपाले चलचित्रको निर्देशन नगरेको तर उनको नाम मात्र राखिएको आरोप अझै लगाइरहेका छन् ।

दीपाले दीपकराज गिरीको समूह भन्दा बाहिरको चलचित्र निर्देशन गरेकी छैनन् ।

नायिकाबाट निर्देशक बनेकी झरना थापाले ‘ए मेरो हजुर २’बाट निर्देशन यात्रा सुरुवात गरिन् । यो चलचित्रले राम्रो कमाइ गर्‍यो ।

उनै, झरनाले होम प्रोडक्सनबाटै चलचित्र ‘ए मेरो हजुर ३’ पनि बनाइन् । यो चलचित्र पनि ब्लकबस्टर सावित भयो । उनै, झरना यतिबेला चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनमा व्यस्त छिन् ।

कोरियोग्राफर हुँदै निर्देशनमा पाइला चालेकी निर्देशक हुन्, रेनशा वान्तवा राई । रेनशाले चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट निर्देशन यात्रा सुरु गरिन् । यो चलचित्रले दर्शकको मन जित्यो ।

रेनशाको कामको पनि प्रशंसा भयो । यो चलचित्रको सक्सेस पार्टीमै चलचित्र ‘आई एम ट्वान्टी वान’ निर्देशनको घोषणा गर्दै रेनशाले निर्देशनलाई निरन्तरता दिइन् ।रेनशा हाल चलचित्रको पोष्ट प्रोडक्शनको काममा व्यस्त छिन् ।

निर्देशक समुन्द्र भट्टले चलचित्र ‘आधा पेज’ निर्देशन गरिन् । यो चलचित्र बक्स अफिसमा चलेन ।

यसपछि उनले नायिका नीता ढुंगानासँग मिलेर चलचित्र ‘माया’ बनाउने चर्चा चलेको थियो । तर, चलचित्रको छायांकन सुरु भएको छैन ।

निर्देशकको रुपमा लक्षु गौतमले पनि पाइला चालिन् । उनले निर्देशन गरेको ‘त म र उ, कालो बर्ष’ रिलिज भए । दुबै चलचित्र बक्स अफिसमा असफल भए ।

निर्देशकको रुपमा सवनम मुखिया पनि अगाडि सरिन् । उनले चलचित्र ‘लखपति माग्ने’ निर्देशन गरिन् ।

अनवरत रुपमा लाग्नुपर्छ : दीपाश्री निरौला

निर्देशक दीपाश्री निरौलाले चलचित्र निर्देशनमा अनवरत रुपमा नलाग्ने हो भने अगाडि बढ्न गाह्रो रहेको टिप्पणी गरिन् ।

उनी भन्छिन्–‘पहिलेको तुलानामा अहिले महिला निर्देशकको संख्या बढेको छ । अहिले त झन्, चलचित्रको बिषय पढाउने विभिन्न कलेजका कारण पनि अब महिला निर्देशक बढ्छन् भन्ने मलाई लाग्छ ।’

चलचित्र निर्देशनमा सुरुवात गर्दा दीपाश्रीलाई धेरैले पत्याएनन् । उनको नाम मात्र राखेर अरुले नै निर्देशन गरेको आरोप उनीमाथि लाग्यो ।

तर, दीपा भन्छिन्–‘निरन्तर रुपमा काममा लागेर आफूलाई पुष्टी गर्न सक्ने हो भने आरोप विस्तारै कमजोर हुँदै जान्छ ।

अर्कोतिर, ३० बर्षदेखि म यही क्षेत्रमा लागेको भएर पनि हुनसक्छ, मलाई धेरैले स्वीकार पनि गर्नुभयो ।’

दीपाश्रीले चलचित्र निर्देशनमा आउनु अगाडि आफ्नो लक्ष्य र सोचमा स्पष्ट भएर आउन सुझाव दिइन् ।

के दीपाले दिपकराज गिरी भन्दा अरुको टिमसँग काम नपाएकी हुन् त, यसमा उनी भन्छिन्–‘त्यस्तो होइन ।

मलाई अरु ब्यानरले पनि अफर गर्नुभएको छ । तर, काम गर्दागर्दै बीचमै टिमवर्क नभएर छाड्नु भन्दा सुरुवात नै नगरेको राम्रो । मलाई दीपकको स्क्रिप्टको लोभ पनि निकै लाग्छ ।’

समय दिन नसक्दा गाह्रो : रेनशा वान्तवा

दुईवटा चलचित्र निर्देशन गरिसकेकी निर्देशक रेनशा वान्तवा राई महिलाले समय दिन नसक्दा निर्देशनमा निरन्तरता दिन गाह्रो भएको तर्क गर्छिन् ।

उनी भन्छिन्–‘मैले त दुबै चलचित्र घरबाटै बनाएकी छु । फेरि, मेरो परिवार नै चलचित्र क्षेत्रमा भएकाले गाह्रो भएन ।

तर, धेरै महिला निर्देशक बनिसक्दा बिहे भइसके वा बिहे गर्ने उमेर भइसकेको हुन्छ । यस्तो अवस्थामा एउटा चलचित्रका लागि ६ महिना भन्दा बढी समय दिन गाह्रो परेको हुनसक्छ ।’

चलचित्र निर्देशन गर्नु सगरमाथा चढेको जस्तै गाह्रो भएको भन्दै उनले भनिन्–‘धेरै कमले मात्र यो क्षेत्रका लागि १ बर्षको वाचा दिन सक्छ । मैले आफै नै ५५ दिनसम्म ‘आई एम ट्वान्टी वान’ खिचेँ । यो समयमा त म घरको लागि पाहुना मात्र भए नी त ।’

रेनशा महिलामा क्षमता कम भएर निर्देशनमा आउन नसकेको कुरा स्वीकार गर्दिनन् । उनले भनिन्–‘अहिलेका महिलाहरुमा कुनै पनि कोणबाट क्षमतामा कमी छैन । तर, चलचित्र निर्देशन गर्नु भनेको सगरमाथा चढे जस्तै हो ।

अब, सगरमाथाको टुप्पोमा पुग्ने वा आधार शिविरमै बस्ने भन्ने मुख्य कुरा हो ।’

रेनशाले महिला वा पुरुष जो भएपनि निर्देशकमा कमान्डिङ क्षमता भयो भने काम गर्न सहज हुने बताइन् ।

रुची कम भएर हुनसक्छ : झरना थापा

दुई चलचित्र सुपरहिट दिएर तेस्रो चलचित्रको तयारीमा रहेकी निर्देशक झरना थापाले चलचित्र निर्देशनमा महिला वा पुरुष भनेर गाह्रो वा सजिलो नहुने बताइन् ।

उनले भनिन्–‘पहिले पहिले महिला निर्देशक, महिला कलाकारलाई गाह्रो थियो । तर, अहिले यस्तो अवस्था छदै छैन भन्दा पनि हुन्छ । अहिले महिलाहरु आत्मनिर्भर भएर आएका छन् ।’

उनले पुरुष निर्देशकको तुलनामा महिला निर्देशक नेपालमा मात्र नभएर विश्वमै कम भएको बताइन् । उनले भनिन्–‘महिलाहरुमा निर्देशनको आँट नभएर भन्दा पनि रुची नभएको पनि हुनसक्छ ।’

के तपाईंले आफ्नै घरको ब्यानर भन्दा बाहिरको प्रोडक्शनमा काम गरेको भए सहज तरिकाले निर्देशन गर्न सक्नुहुन्थ्यो त भन्ने प्रश्नमा उनले भनिन्–‘पक्कै पनि सक्थेँ । मेरो २० बर्षदेखि यही क्षेत्रमा अनुभव छ ।

म यो क्षेत्रमा निरन्तर लागिरहेँ । यही अनुभवले पनि मलाई परिपक्व बनाएको थियो । मलाई आफू निर्देशनमा सफल हुन्छु र राम्रो काम गर्न सक्छु भन्ने विश्वास थियो ।’

नेपाली चलचित्र क्षेत्रमा महिला निर्देशकको उपस्थिति कम छ । यसमध्ये अहिलेका केही सक्रिय निर्देशकहरु आफ्नै होम प्रोडक्शनको चलचित्रमा बढी व्यस्त छन् ।

तर, पहिलेको तुलनामा अहिले महिलालाई चलचित्र निर्देशन गर्न सहज वातावरण छ । तर, अझै पनि चलचित्र निर्देशनमा महिलाहरु खुलेर अगाडि बढ्न भने सकेका छैनन् ।

अनलाइनखबर बाट 

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?