
काठमाडौं : पार्टी एकता अभियानका संयोजक बामदेव गौतमले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिँदै निर्णय तहमा समान अधिकारसहित विभेद अन्त्यको कामना गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘श्रमिक महिला आफ्ना हक अधिकार प्राप्तिको आन्दोलनमा संघर्षरत छन्।
अहिले पनि पुरातन अवस्थाको समान कामको समान ज्याला कायम गर्न र विभेदरहित सामाजिक संरचना निर्माण गर्ने कार्यभार बाँकी छ।’
सन् १८८९ मार्च ८ मा अमेरिकाको सिकागो शहरमा भएको मजदुर विद्रोह आज १११ औं वर्षमा प्रवेश गरेको छ।
पूँजीवादी व्यवस्थामा शोषण उत्पीडनका स्वरुपमा धेरै परिवर्तन भए पनि शोषण, दमन, उत्पीडन र विभेदसंगै महिला हिंसा बाँकी नै रहेकाले त्यसको अन्त्य आवश्यक रहेको नेता गौतमले बताएका छन्।
‘विश्वभरका महिलाले मनाइरहेको १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा ऐक्यवद्धता प्रकट गर्दै स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु” नेता गौतमले विज्ञप्तीमा उल्लेख गरेका छन्।