
१११ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा सोमबार आयोजित प्रथम व्यास नगर महिला खुला हाफ म्याराथनको उपाधि धादिङकी रसिलाले जितेकी छन्।
वेदव्यास अवतरण भूमि व्यास नगरपालिका–३ स्थित व्यास गुफाबाट व्यास–११ स्थित ऐतिहासिक स्थल तनहुँसुर दरबारसम्मको २१ किलोमिटर दुरी १ घण्टा ४९ मिनेटमा पार गर्दै रसिलाले उपाधि जितेकी हुन् ।
उनले उपाधिसँगै ४१ हजार ७७ रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन्। त्यस्तै १ घण्टा ४९ मिनेट १ सेकेन्डमा सोही दुरी पार गर्दै खोटाङको ऐँसेलु गाउँपालिका–२ की प्रिया राई द्वितीय भएकी छन् ।
राईले द्वितीय हुँदै ३१ हजार ७७ रुपैयाँ, मेडल र प्रमाणपत्र पाएकी हुन् । १ घण्टा ५५ मिनेट २२ सेकेन्डमा दुरी पार गर्दै पोखराकी अनिता राई तृतीय भएकी छन् । अनिताले २१ हजार ७७ रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन् ।
त्यसैगरी प्रतियोगितामा कालिकोटकी विशेषता ऐरी, तनहुँको व्यास नगरपालिका–१० की नम्रता गुरुङ, ऋषिङकी सीता रानाभाट, भक्तपुरकी आयुषा श्रेष्ठ र ओखलढुङ्गाकी पदम कुमारी सुनुवार सान्त्वना भएका छन् । उनीहरूलाई ११ हजार ७७ रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको व्यास नगरपालिकाका अधिकृत विमल गिरीले जानकारी दिए।
प्रतियोगितामा विजेतालाई गण्डकी प्रदेश सभा सदस्य सरीता गुरुङ र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले संयुक्त रुपमा पुरस्कार प्रदान गरेको थिए।
प्रतियोगितामा तनहुँ लगायत कास्की, पर्वत, मकवानपुर, धादिङ, काठमाडौं, भक्तपुर, ओखलढुङ्गा, कालीकोट गरी १२ जिल्लाबाट धावकले सहभागिता जनाएका थिए।
विगतका वर्षहरूमा नारा जुलुस, सभा, सम्मेलन गरी दिवस मनाउने गरिएको भएपनि यस वर्षबाट अर्थपूर्ण बनाउने उद्देश्यले म्याराथन प्रतियोगिता गरिएको व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशीले बताइन् ।
व्यास गुफादेखि सफासडक हँुदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, बाराही रानी मार्ग हुँदै दरैपधेँरा, पराशर मार्गको पराजुली चोक, बेलटारी रातमाटा, खड्गकाली मार्गको चिसापानी, अर्चल चौर, धरमपानी, गंगलथोक, पत्यारथोक, चण्डीथान, गद्दीचौतारो हुँदै व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा पुगेर रुट टुङ्गिएको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले खेल क्षेत्रले नै खेलाडीलाई जीवनयापन गर्न सक्ने बनाएको बताइन् । उनले खेल क्षेत्रले मानिसलाई स्वस्थ बनाउनुका साथै विश्वभर परिचित गराउन टेवा पुर्याउने बताइन् ।