२०८० जेष्ठ २७ गते शनिवार

सुन्दरीजलमा ओली सवारी : धुलो र खाल्डाखुल्डी छल्न पक्की बाटो रोजे

प्रधानमन्त्रीले समस्या देख्ने स्थानीयकाे आशा टुट्यो


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको उद्‌घाटन गर्न शनिबार सुन्दरीजल पुगे ।

तर, उनले सुन्दरीजलसम्म यात्रा गर्दा मुख्य सडक जोरपाटी-मेडिकल कलेजतर्फको सडक प्रयोग गरेनन् ‌। उनी चुच्चेपाटी-रामहिटी-आरुबारी हुँदै गोकर्ण निस्किएर सुन्दरीजल पुगे।

रामहिटी-तीनचुली चोक सडक खण्डमा ओलीका सुरक्षाकर्मी तैनाथ देखिन्थे। उनका सुरक्षामा खटिएका एक प्रहरीका अनुसार जोरपाटी सडक हुँदै जाँदा धुलो र खाल्डाखुल्डीले ओलीलाई समस्या हुने भएकाले घुमाउरो भएपनि पक्की सडक प्रयोग गरिएको थियो।

‘सुन्दरीजल जाँदा पनि चुच्चेपाटी-रामहिटी-आरुबारीबाटो जानुभएको थियो, फर्किंदा पनि यही बाटो फर्कनुभयो,’ ती सुरक्षाकर्मीले सुनाए।

प्रधानमन्त्री आरुबारी सडक हुँदै सुन्दरीजल पुग्ने भएकाले गोकर्ण ओरालोस्थित सडकमा भएका खाल्डा हतारहतार पिच गरेर पुरिएको थियो। तर, पुरिएको पिच सुक्न पाएन।

त्यस्तै, गोकर्ण नाम्गेल बसपार्क उकालोमा छरपस्ट थुपारिएका माटोलाई हतारहतार सम्याएर धुलो नदेखियोस्‌ भनी पानी हालियो।

‘प्रधानमन्त्रीले हाम्रो समस्या देख्लान्‌ भन्ने आशा टुट्यो’

जोरपाटी, छहारी क्लब र बेँसी गाउँका स्थानीयले प्रधानमन्त्री ओली वर्षौंदेखि बन्न नसकेको सडक हुँदै सुन्दरीजल पुगे समस्या समाधान हुन्छ कि भन्ने आशा लिएका थिए। तर, ती आशा पूरा हुन सकेन।

मेडिकल कलेजका स्थानीय सुमन अधिकारीले  गुनासो पोखे, ‘हिजो प्रधानमन्त्रीज्यु यही सडक हुँदै जानुहुन्छ होला भनेर सोचेका थियौँ।

यदि उहाँ यही सडक हुँदै गएको भए हामीले भोगेका समस्याहरू उहाँले देख्नुहुन्थ्यो। तर, पिच सडक नै खोजेर चुच्चेपाटीबाट मोडिएर आरुबारी हुँदै जानुभएछ।’

उनले वास्तविक पीडितहरूको समस्या प्रधानमन्त्री ओलीले बुझ्न नचाहेको पनि तर्क गरे। ‘हाम्रा प्रधानमन्त्रीज्यु गफमात्रै धेरै दिनुहुन्छ।

समस्या कहाँ छ भनेर कहिलै हेर्नुहुन्न,’ उनले भने, ‘हिजो यताबाट आउनुभयो भने हाम्रो समस्यालाई देखेर केही न केही गरिदिनुहुन्छ कि भन्ने आशा बोकेका थियौँ, तर भएन।’

जोरपाटी–सुन्दरीजल सडकको ७ किमि निर्माणका लागि आशिष सिएमजेभीसँग २०७३ सालमै २०७५ साल असोज महिनामा काम सक्ने गरी करिब ५४ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो।

तर, ठेक्काको म्यादको समय सकिँदापनि सडक पिच हुन सकेको छैन। सर्वसाधारणले हिलो र धुलोको सास्ती खेप्दै आइरहेका छन्।

यता, काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले जोरपाटी–सुन्दरीजल सडक विस्तारका लागि तीव्र गतिमा काम भैरहेको बताउँदै आगामी वैशाखसम्ममा कालोपत्रे गरिने दाबी गरेका छन्।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?