२०८० चैत्र १६ गते शुक्रवार

नयाँ पुस्तासामु साख गुमाउदै नेपाली राजनीति !



आजकलका साना केटा केटीलाई “तिमि ठुलो भएर के बन्छौ” भनी प्रश्न गर्न कति उपयुक्त छ त्यो बाल-बिज्ञहरुले विश्लेषण गर्नेछन् । तर आज भन्दा दुइ-तिन दशक अगाडी यो प्रश्नका उत्तरहरु प्राय डाक्टर, इञ्जिनियर, पाइलट, लोकसेवा पास गर्ने आदि इत्यादी हुने गर्थे। यस्ता उत्तरहरुका पछाडी केहि कारणहरु थिए, मुख्यतया समाजमा प्रतिष्ठा, सहज र सुलभ जीवन प्राप्ति तथा सेवाको भावना । धेरैले आफु भन्दा अग्रजले गरेको भूमिका देखेर प्रेरित भएको तर्क देखिन्थ्यो। यि सबै लक्ष्य र चाहाना पुरा गर्न शिक्षाको ठुलो भूमिका हुन्छ नै ।
अधिक व्यवसायिक क्षेत्रहरुमा नोकरी गर्न वा ति कार्यहरुमा सफलता प्राप्तिका लागि न्युनतम शिक्षा हासिल गरेको हुनु पर्ने हुन्छ ।प्राय ठाउँमा शिक्षा अनिवार्य हुन्छ। त्यस्ता क्षेत्रहरुमा काम गर्दा कौशल र पदको माप-दण्डका लागि व्यक्तिको शैक्षिक योग्यताले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। विकासोन्मुख तथा विकासशील राष्ट्रहरुमा एक सुरक्षित रोजगार प्राप्ति गर्न शिक्षा अझै धेरै आवश्यक देखिन्छ। साधारणतया स्नातक तहको पढाई पुरा गर्न एक व्यक्तिले स्कूल तथा कलेजगरि करिव १६ बर्ष समय अध्ययन बिताउनु पर्छ। नोकरीको लागि योग्य उम्मेदवार बनाउन ति १६ वर्षमा अरु थप केहि समय अनुभव बटुल्न र तयारी गर्न लाग्छ। नेपाल जस्तो देशमा जहाँ सिमित रोजगारीका सिमित अवसरहरु हुन्छन त्यहाँ सरकारी नोकरीलाइ एक सुरक्षित र भरपर्दो अवसर मानिन्छ। निजि क्षेत्रहरुमा सुरक्षित रोजगारीकालागि नीतिहरुको कमि, सरकारी नोकरीमा ठाउँ सुरक्षित गर्न कठिनाइ, जसको परिणाम ठुलो सङ्ख्यामा देशका युवाहरु बिदेशिएका छन्।
तर, केहि समय यता नेपालमा अन्य व्यवसायिक क्षेत्रहरु भन्दा राजनीति निकै लाभदायी र भरपर्दो पेशाको रुपमा देखिन थालेको छ। एउटा नोकरी पक्का गर्न अन्य क्षेत्रमा निकै पापड बेल्नु पर्ने देखिन्छ । एउटा साधारण नागरिकले स्कूल जिवनमा किताबका भारी, गृहकार्य तथा परिक्षाको तनाब, कलेजमा झनै गहन अध्ययनबाट बेहोर्नु परेको तनाब, जागिर खोज्नुको तनाब, अन्तरवार्ता तथा विभिन्न किसिमका तालिम तयारी, नोकरीको पक्का भएपछि पनि अन्य धेरै अनुसाशनका घेरा भित्र रहेको हुन्छ, उदाहरणको लागि जिम्मेवारीका साथ काम गर्नुपर्ने, जवाफदेही हुनुपर्ने, समयको पालना गर्नुपर्ने आदि- इत्यादी । झट्ट हेर्दा नेपालमा यी सबै तनाबहरुलाई एकमुष्ट आफ्नै काखीमुनि च्यापी आफु अगाडी अगाडी र सबै दुनियादारी आफ्नो पछाडी लगाउन सक्ने एकमात्र पेशा राजनीति देखिन्छ। कमाई पनि तुलनात्मक रुपमा अन्य पेशा भन्दा राम्रो देखिन्छ। अन्य पेशामा लाभ, बोनस सायद १-२ पटक वर्षमा मिल्न सक्छ तर राजनीतिमा चाहिँ हरेक साना-ठुला परियोजनामा लाभांश र भागबण्डा मौकामा पाइने अधिक सम्भावना रहेको देखिन्छ। उदाहरणका लागि एकजना वडा अध्यक्षको मातहतमा कम्तिमा २० जना दक्ष जनशक्ति हुन्छन, तिनीहरुले शिक्षा र अन्य शिपहरु आर्जन गर्नलाई स्कूल र कलेज गरि झन्डै १२ देखि १८ बर्ष बिताएका हुन्छन। वडा अध्यक्षलाइ राज्यको अन्य स्रोत र साधनको उपभोग गर्न पाउने अधिकार ती २० जना भन्दा अधिक हुन्छ। स्मरण रहोस सबै राजनितिज्ञहरुले शिक्षा आर्जन गर्नु भएको छैन भनेर यस लेखले भन्न खोजिएको होइन र छैन् पनि, तर बिडम्बना के छ भने राजनीति गर्नलाई कति शिक्षित हुनु पर्छ भनेर चाही कहिँ पनि उल्लेख गरिएको छैन।

केहिदिन अगाडी राजनीतिक नेताहरुले बाटोमा, टिभीमा, जताततै एकले अर्कोलाई तथानाम गाली गरेको हाम्रो मानस पटलमा अहिले पनि ताजानै छ। अन्य पेशामा रहेका व्यक्तिले त्यसै गरि तथानाम गाली-गलोच आफ्ना समकक्षीलाई गरेको भए नोकरीबाट मात्र हात धुनुपर्ने अवस्था मात्र नभई उक्त व्यक्तिलाई फेरी कसैले नोकरीनै दिदैन थियो। त्यस व्यक्तिको चरित्रमा धब्बा लाग्नुका साथै, व्यक्तिगत तथा पेशागत जिवनमा ठुलो घाटा बेहोर्नुपर्ने हुनसक्छ। तर नेपालि राजनीतिमा भने यस्ता किसिमका गतिबिधि गर्नेले श्रेष्ठता गरेको देखिन्छ। यस अघिका अनुच्छेदहरुमा शिक्षा आर्जन गर्न लाग्ने समयको मात्र उल्लेख गरिएको छ, तर नेपाल जस्तो देशमा शिक्षा आर्जन गर्न खर्च पनि त्यतिकै लाग्छ। नेपाली राजनीतिमा सफलता हासिल गर्न लाग्ने समय अन्य ब्यबसायिक क्षेत्रहरुमा लाग्ने समय र खर्च सम्भवत कम होला। धेरै चोटी सुन्नमै आएको जेलमा होस् या वनवासमा बिताएका समयहरु पनि राजनीतिमा निवेशको रुपमा लाभ लिन सकिने उल्लेख भएको पाइन्छ, जुन अरु पेशाहरुमा घातक हुन सक्छ।

बिगतमा विभिन्न नेपाली राजनीतिक आन्दोलनमा शिक्षा प्रणालीलाई सुधार गर्नेभनि अनेक नारा लगाइयो । कहिले के भने, कहिले बुर्जुवा भने तर हालै मात्र एकजना क्याबिनेट मन्त्रीले सफल र बलियो राजनीतिको पहिचाहन गराउंदै बिधार्थीहरुको एक दीक्षान्त समारोहमा दिएको भाषण निकै चाख लाग्दो रहयो। जसलाई सामाजिक संजाल र विभिन्न अनलाइन सञ्चार माध्यामहरुले व्यापक शेयर गरेको देखिन्थ्यो । एक हिसाबले उहाँको अभिव्यक्ति भर्खरै ग्रेजुएट हुँदै गरेका भाई- बहिनिलाइ धेरै उपयोगी हुनसक्छन यदि ति मध्ये कोहि भाई- बहिनीहरुले राजनीतिलाई आफ्नो जीविका बनाउने इच्छा राखेका रहेछन् भने, किन अरु समय र धनराशीको बर्बाद गर्ने, उहाँको भाषण नै एक उदाहरण थियो कि एक सफल र बलियो राजनितिज्ञ हुनलाई के कस्ता प्रतिभा र खुबीहरुको जरुरी हुन्छ भनेर। लगत्तै एक अर्का क्याबिनेट मन्त्रीले पनि प्रकाश संश्लेषण को एक प्रक्रिया बारे विश्लेषण गर्दै रुख-बिरुवाको महत्व दर्शाउनु भयो, उहाँको त्यो अभिव्यक्तिले नेपाली राजनीतिमा खाली राय दिनु र खास जानकारी राख्नु बिचको फरक केहि छैन भन्ने पाठ सिकाउछ।

राजनीतिशास्त्र, इतिहास, नैतिक शिक्षा, अर्थशास्त्र, बिज्ञान, सामाजिक शिक्षा आदि इत्यादि बिषयको अध्ययन वा शिक्षा हासिल गर्नु केवल नोकरी गर्नलाई वा अन्य कुनै व्यवसाय गर्नलाइ मात्र आबश्यक हो या नेपालमा राजनीति गर्नलाई पनि आवस्यक छ? वास्तवमा प्रश्न निक्कै गम्भीर तथा विचारणीय देखिन आएको छ । सायद यस्ता विषयहरु माथि संसदले छलफल गरी टुंगो लाउनुपर्ने हुन्छ होला। भाबी पिढीलाई राजनीति सिकाउन राजनीतिको पाठ पढनु पर्ने हुन्छ, ति पाठहरुमा सफल राजनीतिज्ञहरुको जीवनी र प्रेरणाको स्रोत प्रदानका लागि सफल राजनीतिज्ञहरुको आन्दोलनका कथा, भाषणमा गरिएका कथनहरु, सफलताका सुत्रहरु पढाउनु पर्ने हुन सक्छ। स्कूल र कलेजहरुले त खाली कसरी अध्ययन गर्ने भन्ने मार्गदर्शन मात्र गराउछ, देशका विद्यार्थीहरुले पढ्ने पाठ्यक्रमहरुको नीति राजनीतिले नै हो तय गर्ने। यी सबै कुरा नियाल्दा लाग्दछ ‘नीति’हरु मार्फत सम्मुन्नत समाज निर्माण गर्दै समाजिक समभाव कायम गर्ने महान दर्शन बोकेको ‘राजनीति’ पनि स्वार्थी केही राजनितिज्ञका कारण साख गुमाउनु परेकोमा नयाँ पींढी सामुन्ने लज्जित बनेको छ।
      नरेश शाही,डाेल्पा   https://twitter.com/nraxz

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?