२०८१ बैशाख ७ गते शुक्रवार

‘एसिड हान्ने श्रीमानलाई नेलले बाँधेर बजार घुमाउन मन छ’



गत दीपावलीको दिन आरती साह जनकपुरधाम उपमहानगरपालिका– ४ स्थित आफ्नो डेरा सरसफाइ गरिरहेकी थिइन् ।

साँझ तीन बर्षीया छोरीसँगै दीप जलाउने र मिठा परिकार खाने योजना थियो उनको । तर सफाइ गरिरहेकै बेला उनको त्यो सपना मात्र उडेन, जीवनभरकै लागि तनाव नै थपियो ।

आफ्नै श्रीमानले छ्यापेको एसिडले उनको अनुहार, छाती, घाँटी र शरीरका विभिन्न भाग जलेको छ । एउटा आँखा पनि नदेख्ने भएकी छन् ।

२१ बर्षीया आरतीलाई उनकै पति २४ बर्षीय सञ्जीवले २९ कात्तिकको बिहान साढे ८ बजे एसिड आक्रमण गरेका थिए । ‘म भाइ र बहिनीको बीचमा थिएँ र उनी एक्कासी गिलास लिएर आए ।

मैले पानी होला भन्ने ठानें । उनले मेरो जीऊमा खन्याएर भागे’ आरतीले त्यो दिन सम्झिइन् । उनी हातले खाना खान अझै सक्दिनन् । ‘मुख भारी लागिरहन्छ । आँखा असाध्यै दुख्छ’ आरती भन्छिन् ।

जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जानकीनगर माइती भएकी आरतीको ४ बर्षअघि रुपैठाका सञ्जीवसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।

विवाहको केही समयपछि नै सञ्जीवले रक्सी पिउने र आरतीलाई कुट्न थालेका थिए । बारम्बार यातना दिँदा पनि सहेर बसेकी उनी ससुराले पनि गलत नजरले हेरेको भन्दै घर छाडेर डेरामा बस्न थालेको बताउँछिन् ।

आरती माइती नजिकै डेरा लिएर बसिन् । तरकारी बेचेर छोरी र आफ्नो जीविका चलाइरहेकी थिइन् । बेला बेलामा डेरामा आएर पनि श्रीमानले कुटपिट गर्ने गरेको आरती बताउँछिन् ।

कोठामा आएर सञ्जीवले एक दिन करेन्ट लगाएको र अर्काे दिन मट्टितेल खन्याएर आगो लगाउने प्रयास गरेको आरतीको भनाइ छ । झण्डै ५ महिना उपचार गराएर उनी गत श्रीपञ्चमीका दिन घर फर्किएकी छन् । उपचार जारी नै छ । एसिडले जलेको शरीरको उपचार गराउनुका साथै आँखाको समेत उपचार गराउनुपरेको छ उनलाई ।

जलेको शरीरको कीर्तिपुर अस्पतालमा र आँखाको तिलगंगा अस्पतालमा उपचार गराउँदैछिन् उनी । ‘डाक्टरले तीन महिनापछि पुनः आउन भनेपछि घर आएको हुँ’ आरती भन्छिन् ।

आरतीका श्रीमान अहिले एसिड आक्रमणकै आरोपमा पुर्पक्षका लागि सिन्धुली कारागारमा थुनामा छन् । कानुनले सजाय दिएपनि आफूले पनि एउटा सजाय दिने अभिलाषा बोकेकी छन् ।

भन्छिन्, ‘श्रीमानको हात, खुट्टा र घाँटीमा सिक्री (नेल) लगाएर पुरै जनकपुर घुमाउन चाहन्छु । यसपछि कुनै केटाले कुनै केटीलाई यस्तो गर्न हिम्मत नगरोस् ।’

उनी एसिड फ्याँक्नेभन्दा बेच्नेलाई बढी सजाय हुनुपर्ने बताउँछिन् । एसिड बेच्ने अनुमति नपाएका व्यक्तिले बेचेका रहेछन्’ उनले भनिन्, ‘यस्ता बेच्नेलाई कडा कारवाही गर्नुपर्छ ।’

आफू एसिड आक्रमणमा परे पनि छोरीलाई धेरै पढाएर ठूलो मान्छे बनाउने आरतीको चाहना छ । ‘मलाई केही पनि चाहिएको छैन । आफ्नी छोरीलाई पढाउन चाहन्छ् । सरकारले पढाइदिओस् । मेरो जिन्दगी त चलिहाल्छ’ उनी भन्छिन् ।

चौपट भयो व्यवसाय, थपियो ऋण

आरतीका आमाबुबा पनि जनकपुरधाममा डेरामा नै बस्छन् । आरतीको विवाह डेराबाटै भएको हो । उनका बुवा सुबोध र आमा सुनीता देवी फुटपाथमा तरकारी बेचेर गुजारा चलाउँदै आएकी छन् ।

तरकारी बेचेरै छोरीको विवाह गरेका यी आमा बुवाले छोरीको विवाह गर्दा तनावमुक्त भएको महसुस गरेका थिए ।

तर, छोरी घरमा टिक्न नसकेर जनकपुरमै आएर भाडामा बस्न थालेदेखि नै चिन्तित बन्न थाले । ‘यो बेलासम्म त ठीकै थियो ।

हामीले पनि तरकारी बेचिरह्यौं, छोरीले पनि तरकारी बेचेर गुजारा चलाइरहेकी थिइन् । तर, एसिड फ्यालेदेखि हामी सबैको व्यवसाय चौपट भएको छ’ उनीहरु भन्छन् ।

एसिड प्रहारबाट घाइते भएकी आरतीको उपचार काठमाडौंमा भइरहँदा उनकी आमा नै साथमा थिइन् । बुबाले पनि निकै दौडधुप गर्नुप¥यो ।

यही कारण उनीहरुले तरकारी बेच्ने काम पनि बन्द गरे । व्यवसाय नै नचलेपछि आर्थिक भार पर्नु स्वाभाविकै थियो ।

जनकपुरधामदेखि काठमाडौंसम्म उपचार गराउँदा अढाई लाख ऋण बोक्नुपरेको आमा सुनीतादेवीले बताउँछिन् ।

कीर्तिपुर अस्पताल र तिलगंगामा पनि सरकारले नै उपचार गरिदिएपनि केही औषधि, उपचारका लागि काठमाडौंको बसाइ, खानादेखि फलफूल खरीद गर्दा ऋण लिनुपरेको उनले सुनाइन् ।

आरतीलाई एसिड आक्रमण भएपछि माइती पक्षले नै सुरुमा जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचारका लागि लगे ।

तर डाक्टरले पैसा नदिएसम्म उपचार सुरु नगर्ने भनेकामा आरतीका आमाबाबु दुखी भएका छन् । यो अस्पतालमा १८ हजार तिर्नुपरेको उनले बताइन् ।

‘अब बिग्रेको एउटा आँखाको अपरेसन ३ महिनापछि हुन्छ । त्यसका निम्ति अढाइ लाख लाग्छ भन्ने सुनेको छु’ आरती भन्छिन्, ‘त्यो रकम कहाँबाट ल्याउने भन्ने कुरा थाहा छैन ।’

राजेन्द्र महतोले भेट्नै मानेनन्

आफ्नी छोरी एसिडपीडित भएपछि धेरैसँग सहयोग मागे पनि कसैले नगरेको आरतीका बुबा सुबोधले बताए ।

उनीहरु सहयोगको आशासहित मधेसका नेता तथा धनुषाबाटै निर्वाचित सांसद राजेन्द्र महतोको सम्पर्कमा पनि पुगे ।

आफू गरिब भएका कारण नेताहरुले पनि बेवास्ता गरेको सुवोधको भनाइ छ । ‘समय परेपछि सहयोग गर्छ भन्ने सोंचेरै मैले पनि उहाँलाई भोट दिएको थिएँ’ उनले भने, ‘ढोगेरै समय मागे । दुई पटक समय दिनुभयो । तर एक पटक पनि भेट्नुभएन ।’

अनलाइनखबर

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?